ई–आर्थिक, काठमाडौं । मालदार विकासे मन्त्रालयको रुपमा चिनिने गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव केशब कुमार शर्माले कर्मचारीवृतमा गर्ने गरेको ‘काखा पाखा’ प्रवृतिको यतिवेला चर्चाको शिखरमा पुगेको छ । विशेषगरी मन्त्रालय मातहातका कर्मचारीहरुमा ‘राम्रा’ भन्दा पनि ‘हाम्रा’ ले प्राथमिकता पाउने प्रबृतिका कारण मन्त्रालय मातहतका कर्मचारीहरुमा असन्तुष्टि बढेको हो । सचिव शर्माको यस्तो प्रवृतिले आफूहरुमा ‘धैर्यताको बाँध’ टुट्न लागेको भन्दै यातायात व्यवस्था विभागका एक उच्च अधिकृतले ई–आर्थिक डटकमसँग असन्तुष्टि व्यक्त गरे । मन्त्रालय मातहतमा सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग, सडक बोर्ड, पानी जहाज कार्यालयलगायतका मूख्य विभाग र कार्यालयहरु रहेका छन् । अधिकांश सबै विभागमा सचिव शर्माको भूमिका सन्तोषजनक नरेहको सडक बोर्ड सम्बद्ध एक उच्च अधिकृतले जानकारी दिए ।
त्यसो त सडक विभागमा कार्यरत केही कर्मचारीहरुलाई गरेको पुरस्कृतको विषयमा ‘काखा पाखा’ ले सीमा नाघेको मन्त्रालय सम्बद्ध एक कर्मचारी बताउँछन् । उक्त विषयलाई लिएर विभागका केही कर्मचारीले आफूलाई गुनासो गरेको पनि मन्त्रालयका ती कर्मचारीले जानकारी दिए ।
पुरस्कृत गर्दा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई नगरी हाकिमहरुले राम्रा भन्दा पनि हाम्रा कर्मचारीलाई पुरस्कृत गरेको विभागका अर्का कर्मचारीले दाबी गरे । आफ्नो वरीपरी घुम्ने कर्मचारीलाई मात्र पुरस्कृत गरिएको भन्दै यतिवेला मन्त्रालयका सचिव शर्मालगायतको चर्काे आलोचना भइरहेको छ । गत २१ र २२ गते आयोजित एक कार्यक्रममा विभिन्न ११ विधामा प्रशंसापत्र र पुरस्कार बाडिँदा कार्यसम्पादनका आधारमा भन्दा पनि उच्च प्रशासकहरुको आँखामा परेका कर्मचारीलाई मात्र पुरस्कृत गरिएको भन्दै व्यापक असन्तुष्टि व्यक्त गरिएको हो ।
त्यसो त यो प्रसंग सेलाउन नपाउँदै निजामती सेवा पुरस्कार सिफारिस समितिमा समेत उस्तै गरी जालझेलपूर्वक ढङ्गबाट सिफारिस भएको भेटिएको भन्दै विभागका कर्मचारीले असन्तुष्टि व्यक्त गरेका हुन् ।
मुख्यसचिवको संयोजकत्वमा गठित उक्त सिफारिस समितिमा कानुन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयका सचिवसँगै पूर्व मुख्यसचिव सदस्य रहेका छन् । सोही सिफारिस समितिमा भौतिक पूर्वाधार मन्त्रालयले केही नाम पठाइसकिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
आगामी २२ भदौंमा मनाइन लागेको निजामती सेवा दिवसको अवसमा भौतिक पूर्वाधार मन्त्रालयले उत्कृष्ट कर्मचारीको रुपमा सिफारिस गरेको सडक विभागबाट एक महिला कर्मचारीको नाम सिफारिस गरेको छ । निजामती ऐन विपरित चार बर्षदेखि एउटै कार्यालयको प्रमुखको जिम्मेवारीमा रहेको ती महिला कर्मचारीको नाम कल्पना अधिकारी रहेको मन्त्रालय स्रोतले दाबी गरेको छ । इन्जिनियर हुँदैदेखि नै कालीगण्डकी करिडोरको निमित्त प्रमुखको जिम्मेवारी पाउन सफल अधिकारीले निमित्त र कार्यालय प्रमुखका रुपमा तीन–तीन कार्यकाल एउटै कार्यालय हाक्ने अवसर पाएकी पनि समाचार स्रोतले ई–आर्थिकलाई जानकारी दियो ।
कर्मचारीवृतमा ‘व्यापक आलोचित’ र निजामति सेवा सम्बन्धि नियम पालना नगर्दै पदीय भूमिकामा रहेकी ती महिला कर्मचारी अधिकारीकै नाम निजामती सेवा पुरस्कारका लागि पनि सिफारिसमा परेको मन्त्रालय स्रोतले बतायो । यो कुरा थाहा पाएपछि उनले पाउने अवसरलाई सुनेर मन्त्रालय र विभागका कर्मचारीहरुले आश्चर्य मान्दै ‘जिब्रो टोक्न’ थालेका छन् ।
निजामती सेवा ऐनले कुनै पनि कर्मचारीलाई बढीमा २ बर्षमात्र एउटै कार्यालयमा राख्न र बस्न मिल्ने प्रावधान छ । तर, उक्त प्रावधानलाई लत्याउँदै तीन–तीन पटक एउटै कार्यालयको नेतृत्व गर्ने अवसर पाउन उनी सफल भएकी छिन् । सुरुदेखि नै उनलाई अवसरमा कुनै कन्जुस्याई नभएको जानकारहरु बताउँछन् । यसअघि अमेरिका, अष्ट्रेलिया लगायतका मुलुक भ्रमणको अवसर समेत उनले प्राप्त गरिसकेकी छन् । सबैतिर अवसर प्राप्त गर्ने मौका मिल्ने ती अधिकारीले अवसर दिलाउने मन्त्रालय र निकायका प्रमुखलाई कसरी प्रभावमा पारिन भन्ने चर्चा मन्त्रालय र सडक विभाग बृतमा लामो समयदेखि चल्दै आएको छ ।
उनले पाएको अवसर नियमसंगत, योग्यता र क्षमता भन्दा पर रहेको आम कर्मचारीहरुले बताउने गर्छन् । ती महिला कर्मचारीले कसरी अवसर प्राप्त गर्न सफल भइरहेकी छन् भन्ने विषयमा विभागका धेरैजसो कर्मचारीहरू अन्यौलमा छन् ।
चाकडी बजाउन नसक्ने र प्रभावमा पार्न नसक्नेको लागि मन्त्रालय मातहातमा कुनै पनि विभागमा योग्यता र क्षमताको कदर नहुने पनि विभागमा कर्मचारीहरु बताउँछन् । स्रोतका अनुसार होनाहार र प्रतिभावान थुप्रै कर्मचारीहरुलाई आफ्नो प्रतिभा सदुपयोग गर्नबाट बञ्चित गराइएको छ । अब्बल मानिएका युवा सह–सचिवद्वय ललितजंग खनाल र कुवेर नेपाल यसका उदाहरण भएको स्रोतको भनाई छ । मन्त्रालयले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई काममा कहिल्यै ‘प्रोत्साहित’ नगरेको गुनासो गर्छन् ।
तर एकआध कर्मचारीको हकमा भने यो विषय लागू भएको छैन । एउटै कर्मचारीले वैदेशिक भ्रमण, पुरस्कार, तक्मादेखि ठूलो आयोजनाको जिम्मेवारी पाउँदा योग्यता र क्षमताले भरिपूर्ण अन्य प्रतिभावान कर्मचारीहरु भने ओझेलमा परिरहेका छन् । सडक विभागका अन्य अब्बल कर्मचारीहरु शिवलाल दाहाल, रमेश पौडेल, सुजन अधिकारी, प्रदीप भण्डारी, विजय महतो, मन्द पन्त, सजना अधिकारी, त्रिलोक घिमिरे, बद्री शर्मा, राकेश महर्जन र नातीबाबु खड्का लगायतका यसका थप उदाहरण हुन् । उनीहरुले आजसम्म कुनै आयोजनाको नेतृत्व गर्ने अवसर पाएका छैनन् । कर्मचारीहरुले यसको सम्पूर्ण दोष सचिव शर्मालाई नै लगाएका छन् ।
सचिव शर्माको विवादास्पद कार्य सडक विभागकी अधिकारीलगायतमा मात्रै सिमित छैन् । यिनै सचिव शर्माले अघिल्लो बर्ष शोभा गिरीलाई उत्कृष्ट निजामती पुरस्कार दिलाएका थिए । यो विषयले पनि मन्त्रालयको कर्मचारी बृतमा निक्कै खैलाबैला मच्चाएको थियो । गिरी भौतिक मन्त्रालयको त्यस्तो अपवाद कर्मचारी हुन, जो १६ बर्षदेखि एउटै आयोजनाको हर्ताकर्ता रहिरहेको स्रोतले दाबी गरेको छ । उनले १६ बर्षदेखि एडिबी आयोजना छोडेर दायाँ बायाँ हुनु नपरेको मन्त्रालयका पुराना कर्मचारी बताउँछन् ।
जेष्ठदेखि आर्थिक बर्षको अन्त्यसम्म ‘हराभरा’ !
चैतमा अवकास पाउने शर्माले यसपटक ‘आफ्नो लागि’ राम्रै ‘कसरत’ गरेको समाचार स्रोतले जानकारी दिएको छ । कर्मचारीहरुका अनुसार सचिव शर्माको लागि जेष्ठ देखि असार मसान्तसम्म ‘हराभरा’ भएको छ । विशेषगरी मन्त्रालय मातहतका विभाग र कार्यालयका कर्मचारीलाई सरुवा बढुवा गर्ने कार्यले सचिव शर्मालाई ‘हराभरा’ बनाइरहेको समाचार स्रोतको दाबी छ । सचिव शर्माले जेष्ठ ११ गते सडक विभागका महानिर्देशक रामहरी पोखरेललाई हटाएर विजय जैशीलाई ल्याए । ‘एस मेन’ महानिर्देशक जैशीलाई ल्याएपछि सडक विभागमा जिम्मेवारी हेरफेर, ‘पराई’ कर्मचारीलाई पेल्ने, कामको उचित मूल्यांकन नहुनेलगायत राम्रा कर्मचारीको मनोवल गिर्ने गरी थुप्रै गतिविधि भइरहेको स्रोत बताउँछ । अझ असार मसान्तको हाराहारीमा त डिभिजनल इन्जिनियरहरु सचिव शर्मादेखि ‘आतंकित’ नै भएको बताइन्छ । नाम गोप्य राख्ने शर्तमा समाचार स्रोतले भन्यो– ‘सचिव शर्माले ‘गोप्य’ कोठामा लगेर प्रमुखहरुसँग आ.ब. ‘क्लोजिङ्ग’ को हिसाव र ‘सरुवाको भाग’ मागे ।’ उनका अनुसार मन्त्री देवेन्द्र दाहालको सोझोपनको फाइदा सचिव शर्माले लिइरहेका छन् ।
रिक्त पदमा जिम्मेवारी दिन ढिलाई किन ?
मन्त्रालय र मन्त्रालय मातहतका रिक्त केही मूख्य पद खाली भएपनि लामो समयदेखि नियुक्तीमा ढिलाई भइरहेको छ । स्रोतका अनुसार मन्त्रालय मातहतमा अब्बल र क्षमतावान प्रसस्तै कर्मचारी रहेपनि तीनवटा सहसचिव दरबन्दी लामो समयदेखि रिक्त रहेको छ । दुईवटा सह–सहसचिवलाई थप एक–एक वटा रिक्त जिम्मेवारी दिएर अहिले दुईवटा सहसचिवको पदमा काम चलाउँदै आइएको छ । एउटा सहसचिवको पद भने पुरै रिक्त नै रहेको मन्त्रालयका एक कर्मचारीको भनाई छ । यसरी जिम्मेवारी दिइनु पर्ने समयमा जिम्मेवारी नदिइदा मन्त्रालयको काम समेत प्रभावित भइरहेको कर्मचारहरु बताउँछन् । रिक्त पदमा समयमा नियुक्ती दिने नसकेको विषयलाई कर्मचारीबृतमा अनेक ‘शंका’को दृष्टिले हेर्न थालेका छन् । के कुरा नमिलेको हो ? नियुक्ती दिन किन ढिलाई भइरहेको छ ? भन्ने प्रश्नले कर्मचारीहरुलाई झस्काई रहेको बताउँछन् ।
त्यसैगरी असारदेखि रिक्त रहेको मध्य पहाडी राजमार्ग निर्देशनालयमा पनि प्रमुखको पद पूर्ति हुन सकेको छैन । उक्त आयोजनाको निर्देशक पद खाली भएपछि परामर्शदाता कम्पनीहरुले आफ्नो भुक्तानी लिन सकिरहेको छैनन् । अव पनि भुक्तानी नहुने हो भने मध्य पहाडी राजमार्गका कर्मचारीहरुको साउन महिनाको तलब खुवाउन मुस्किल हुने कर्मचारीहरु बताउछन् ।