२०८३ भाद्र २९ सोमबार

नवनिर्वाचित सीएनआई पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल, देशलाई औद्योगीकरणमा लैजानुपर्नेमा जोड

ई आर्थिक    मंगलबार, साउन ६ २०८२
6.6K
Shares
नवनिर्वाचित सीएनआई पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल, देशलाई औद्योगीकरणमा लैजानुपर्नेमा जोड

ई-आर्थिक, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघ (सीएनआई) बीच छलफल भएको छ। परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाइ औद्योगीकरणमा लैजान आवश्यक रहेको बताए।

भेटमा प्रधानमन्त्री ओलीले सामान आयात गरी नाफा आर्जन गर्नेतर्फ भन्दा देशमै उत्पादन बढाइ निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने बताए। सरकारले कानूनी एवं नीतिगत सुधार गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजिरहेको उनले उल्लेख गरे। भान्सामा प्रयोग हुने वस्तुदेखि अन्य वस्तुहरु नेपाली होस् भन्ने आफ्नो चाहना रहेको उनले बताए। स्वदेशी वस्तु उत्पादन र प्रयोगले मात्रै आयात प्रतिस्थापन गर्न सक्ने प्रधानमन्त्रीले बताए।

परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले परिसंघले सरकारसँगको सहकार्यमा आयात प्रतिस्थापन गर्ने उद्देश्यले मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गरिरहेको बताए। उनले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक वृद्धि गराउने लक्ष्य राखेको र यसका लागि ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको बताए। यसका लागि सरकारले कानूनी एवं नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राख्ने विश्वास उनले राखे।

यसैगरी परिसंघको नवनिर्वाचित पदाधिकारीले सभामुख देवराज घिमिरेसँग भेट गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने गरी कानूनहरु ल्याउन आग्रह गरेको छ।

परिसंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलसँग छुट्टाछुट्टै भेट गरी अर्थतन्त्रको वर्तमान अवस्था, कानूनी एवं नीतिगत सुधार, बजेटको प्रभावकारी कार्यान्वयनलगायतका विषयमा छलफल गरेको छ।

छलफलमा उद्योगमन्त्री भण्डारीले सरकारलाई परिसंघले अध्ययन गरेर स्पष्टरुपमा सुझाव दिने गरेको भन्दै आगामी दिनमा पनि त्यसरी नै सुझाव प्राप्त हुने विश्वास व्यक्त गरे। उनले निजी क्षेत्रको मनोबल बढाउन अझै धेरै काम गर्नुपर्ने भन्दै सरकारले कानूनी तथा नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै आएको बताए। मन्त्री भण्डारीले औद्योगिक पूर्वाधार निजी क्षेत्रले बनाउनुपर्नेमा समेत जोड दिए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले मन्त्रालयले गत आर्थिक वर्षमा पुँजीगत खर्च बढाउन सफल भएको भन्दै समग्र आर्थिक विकासका लागि आवश्यक नीति निर्माणका लागि मन्त्रालय सहकार्य गर्न तयार रहेको बताए।

ऊर्जामन्त्री खड्काले ऊर्जा विकासका लागि नीतिगत सुधार गर्न चाहिरहेको बताए। उनले विद्युत व्यापारका लागि निजी क्षेत्रलाई समेत खुला गर्ने तयारी सरकारले गरिरहेको बताए।

छलफलमा उपाध्यक्षहरु राजबहादुर शाह, हेमराज ढकाल, अमित मोर, भीम घिमिरे, गोकुल भण्डारी, पदाधिकारी सदस्य सन्दीप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij