२०८३ साउन १० आइतबार

वीरगञ्जमा ९ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलन

ई आर्थिक    आइतबार, साउन ४ २०८२
2.8K
Shares
वीरगञ्जमा ९ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलन

ई-आर्थिक, पर्सा। आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा ९ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व संकलन गरेको छ। कार्यालयले आव २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा दुई अर्ब ५८ करोड रुपैयाा बढी राजस्व संकलन गरेको हो।

कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा राजस्व संकलनको वृद्धिदर भने ३५ दशमलव ५७ प्रतिशत रहेको बताए।

आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयलाई आठ अर्ब ७१ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।

‘कार्यालयले गत आवभरिमा वार्षिक लक्ष्यको एक सय ९ प्रतिशत लक्ष्य हासिल गरेको छ। कार्यालयले विभागबाट निर्धारित कार्यात्मक सूचकका आधारमा ‘एक प्लस’ स्तर प्राप्त गर्न सकेका छौँ’ उनले भने। विभागले आव २०८०/८१ का लागि भने ९ अर्ब ४१ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।

तर, सो अवधिमा कार्यालयले वार्षिक लक्ष्यको ७२ दशमलव ९३ अर्थात् रु ६ अर्ब ८७ करोड रुपैयाा राजस्व संकलन गरेको थियो। प्रमुख कर अधिकृत चौलागाईँले कार्यालयले बक्यौता रकम असुलीमा कडाइ गरेकाले पनि लक्ष्यभन्दा धेरै राजस्व संकलन गर्न सफल भएको बताए।

‘चैत महिनामै राजस्व नबुझाउने करदाताको बैंक खाता, घरजग्गा, आयात-निर्यात रोक्का गरियो। जसबाट राजस्व संकलनको लक्ष्य पुग्नमा धेरै मद्दत पुग्यो’ उनले भने, ‘कार्यालयले सघन बजार अनुगमनको दायरा विस्तार र करदाता शिक्षालगायत चेतनामूलक कार्यक्रमले पनि राजस्व बढ्न सकेको हो।’

कार्यालयले गत आवमा अन्तःशुल्क करतर्फ तीन अर्ब ९ करोड ५७ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा चार अर्ब १३ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। त्यस्तै कार्यालयले गत आवभरिमा आयकरतर्फ दुई अर्ब ८९ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकाे थियाे।

सो शीर्षकमा तीन अर्ब १० करोड १५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले गत आवमा मूल्य अभिवृद्धि करतर्फ भने दुई अर्ब ५८ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा दुई अर्ब १२ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

प्रमुख कर अधिकृत चौलागाईँले मूल्य अभिवृद्धि कर लक्ष्यअनुसार संकलन नहुनुमा यहाँका १५ वटा करदाताको कारोबारको सीमा नाघेर ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा गएकाले पनि सो लक्ष्य प्राप्त हुन नसकेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij