२०८३ साउन ११ सोमबार

अरनिको राजमार्गको बैकल्पिक सडकमा १० एमएमको डन्डी र ८ इन्चको ढलान !, कति समय टिक्ला ?

ई आर्थिक    बिहिबार, जेष्ठ २९ २०८२
15.2K
Shares
अरनिको राजमार्गको बैकल्पिक सडकमा १० एमएमको डन्डी र ८ इन्चको ढलान !, कति समय टिक्ला ?

ई–आर्थिक, भक्तपुर । अरनिको राजमार्गको बैकल्पिक मार्गको रुपमा प्रयोग भइरहेको ताथली–नाला सडक हिड्नु भएको छ भने राम–सीता मन्दिरसँगै जोडिएको ‘कचडा बाटो’को अनुभवसँगै ‘प्रसस्तै’ धुलो खाएको हुनुपर्छ । हो, त्यही ‘कचडा बाटो’मा अहिले ढलान गरिदैछ । अगाडि–पछाडी पीच, बीचमा कच्ची रहेको उक्त सडक यतिवेला स्तरोन्नती हुन थालेको छ ।

लामो समय कच्ची रहेको उक्त बाटो हिड्ने सर्वसाधारण देखि स्थानीयहरु लामो समयदेखि हैरान थिए ।

सुरुमा बाटो स्तरोन्नती हुने खबरसँगै उक्त बाटो ढलान गर्न प्रक्रिया थालेपछि स्थानीहरुसँगै उक्त बाटो उपभोग गर्नेहरु उत्साहित थिए । तर जब ढलान गर्न एकतर्फी पीच गर्न थालियो । त्यसपछि स्थानीयबासीले नाक खुम्च्याउन थाले । नाक खुम्च्याउनु पर्ने कारण थियो, ‘कमजोर तबरको निर्माण’ ।

साँगातिर बनिरहेको बाटोको कारण जाम हुन थालेपछि अरनिको राजमार्ग हिड्ने सवारीसाधान समेत उक्त बाटोलाई विकल्पको रुपमा प्रयोग गरिरहेको सन्दर्भमा उक्त सडक बलियो बन्नु पर्छ भन्ने मान्यतामा थिए स्थानीयहरु । तर १० एमएमको डण्डी, ८ इन्चको ढलानबाटो बन्ने तयारीमा निर्माणकर्ता जुटे । त्यसपछि स्थानीयहरुमा निराशा छाउन थाल्यो । स्थानीय गोठालेचौरका एक युवाले प्रश्न उठाए ‘यस्तो कमजोर तबरबाट बनाइएको संरचना कति दिन टिक्ला ?’

यस्तो प्रश्न उठाउने स्थानीय अनगिन्ती भेटिन्छन् ।

त्यसोत अरनिको राजमार्गबाट गुड्ने सवारी साधन त्यही बैकल्पिक बाटो हुँदै गुड्न थालेपछि उक्त सडकको भारवहन क्षमता अलिक बलियो हुनुपर्ने प्राविधिकहरुको पनि मत छ । उक्त सडक हुँदै अहिले दैनिक लोड गरिएको सयौं ट्रकहरु गुड्ने गर्दछन् । त्यस्तो परिस्थितिमा अलिक बलियो संरचना बन्नु पर्ने सबैको मत हुन स्वाभाविक पनि थियो ।

उक्त सडक खण्डको एकतर्फी ढलान भइसकेको छ । भने अर्कोतर्फ ढलान गर्ने तयारी गरिदैछ ।

करिव ६५ मिटरको उक्त सडक दुबैतर्फ ढलान गर्न २० लाख बजेट छुट्याइएर निर्माण भइरहेको छ । तर उक्त सडक निर्माण सम्पन्न गर्न थप १२÷१३ लाख जति नपुग हुने चाँगुनारायण नगरपालिका वडा नम्बर ९ का ओभरसियर सुमन धिमालले जानकारी दिए ।

ढलान निर्माण प्रयोग भएको डन्डी सानो भयो भन्ने स्थानीयहरुले गुनासो बारेमा प्रश्न गर्दा ओभरसियर धिमालले भन्छन्– ‘नगरपालिकाबाट आएका इन्जिनियरको इस्टिमेट १० एमएम भएको छ ।’ पहिला–पहिला पनि सोही आकारको डण्डी प्रयोग गर्ने गरेको ई–आर्थिकलाई उनले जानकारी दिए । त्यहाँ तीनचार वर्ष अगाडी बनाएको कल्भर्टकोमा पनि १० एमएमकै रड प्रयोग गरेर बनाएको ओभरसियर धिमालको भनाई छ । बाटोको ढलान डिजाइन पनि नगरपालिकाबाट इन्जिनियरले डिजाइन गरे अनुसारनै बनाएको हो र यतिको मात्राले बाटो बलियो तथा गुणस्तरीय हुने उनको तर्क छ ।

चाँगुनारायण नगरपालिका वडा ९ का वडा अध्यक्ष गणेश त्यात रामसीता मन्दिरको बाटो ढलान इस्टमेटमा १० एमएमको रड भएकाले त्यही अनुसारको फलो गरिएको बताउछन् । उक्त ढलानमा गुणस्तरीय काम भएको छ कि छैन् हेर्न वडाबाट प्राविधिक पठाएका वडा अध्यक्ष त्यातले जानकारी दिए । गुणस्तरीयता कायम गर्न प्राविधिकले नियमन गरिरहेको उनको भनाई छ । ‘इन्जिनियर सा’बले गरेको कामलाई गुणस्तरीय छैन् भन्न म सक्दिन’ अध्यक्ष त्यातले भने– ‘त्यसमा पनि बिल पास गर्नाका लागि सडक ढलानको गुणस्तरीय चेक जाँच कोर कटिङ गरेर मात्रै बिलको प्रक्रिया अगाडी बढ्ने हो ।’ गुणस्तरीय काम गराउन आफू प्रतिबद्ध रहेको र आफू स्वयम् फिल्डमा उपस्थित भएर निर्देशन दिएको उनले बताए ।

‘गत साल कल्भर्ट बन्यो तर प्रविधिक रुपमा कल्भर्ट निर्माणसंगै तत्काल पिच वा ढलान गर्ने नमिल्ने अवस्था रहेछ ।’ उनले थपे– ‘कारण पिच वा ढलान दविने समस्या हुँदोरहेछ ।’ पछि कार्यपालिकाबाट ढिलामात्रै बजेट आयो । धेरै प्रयासपछि मात्र बल्लतल्ल बजेट आएको कारणले निर्माण समय केही ढिला भएको उनले बताए । उक्त सडक निर्माण गर्न वडा समिति गठन गरिएको छ । निर्माण व्यवसायीले ढलानमा घाटा लाग्ने बताउँदै आलटाल गरेसंगै केहीसमय ढिला भएता पनि निर्माण व्यवसायीले गरिरहेको काम प्रति सन्तुष्ठ रहेको उनले जानकारी दिए ।

ताथली नाला सडक मार्ग अरनिको राजमार्गको वैकल्पिक मार्ग हुदाँ धेरै सवारीसाधनहरु चल्ने हुदाँ सवारीको चाप बढ्दो छ । सवारीको चापसंगै सडकमा व्यापक खल्डाखुल्डी रहेका छन् । खाल्डाखुल्डीको समस्या भने वडाले नभई संघीय सरकारको सडक विभागले हेर्नुपर्ने उनको भनाई छ ।

उक्त मार्गमा साह्र्रै अप्ठारो परेको हुनाँले वडाले नगरपालिकामार्फत बजेट मागेर समन्वय गर्दै बाटो निर्माण गरेको हो । यो सहायक राजमार्ग भएकाले केन्द्रीय सरकारले बजेट राख्नुपर्ने हो तर केन्द्रिय सरकारले नगरेपछि आफूले बाध्य भएर काम गरेका उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij