२०८३ साउन ११ सोमबार

ललितपुरमा आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला : १४४ वटा बिक्री स्टल, ७२ जिल्लाका महिला उद्यमीको सहभागिता

ई आर्थिक    बिहिबार, चैत्र १४ २०८१
9K
Shares
ललितपुरमा आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला : १४४ वटा बिक्री स्टल, ७२ जिल्लाका महिला उद्यमीको सहभागिता

ई–आर्थिक, काठमाडौं । महिला उद्यमी महासंघद्वारा आयोजित ८ औँ अन्तर्राष्ट्रिय महिला व्यापार मेला ललितपुरमा सुरु भएको छ । महासंघकी अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा ललितपुरमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त मेलाको उद्घाटन गरेका छन् । उक्त मेलामा उद्योग सचिव कृष्णबहादुर राउतको पनि उपस्थिती रहेको थियो ।

पाँच दिनसम्म सञ्चालन हुने मेला आगामी १८ गतेसम्म चल्नेछ । मेला अवधिमा महिला उद्यमी महासंघ नेपालको ७२ वटा जिल्ला संघबाट महिला उद्यमीको सहभागिता रहेको छ।

महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रवर्द्धन तथा बजारीकरण गर्ने कार्यलाई सहयोग पुर्याउन विगत एक दशकदेखि निरन्तर रुपमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आयोजना गर्दै आइरहेको छ।

महासंघले नियमित रुपमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्नुको प्रमुख उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीका उत्पादनहरूको प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पुर्‍याई महिला उद्यमशीलताको विकासबाट आन्तरिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनमा सहयोगमार्फत नेपालको अर्थतन्त्र सुधारमा सहयोग पुर्‍याउनु रहेको महासंघकी अध्यक्ष शोभा ज्ञवालीले बताइन्।

व्यापार मेलाको माध्यमबाट महासंघमा आबद्ध नेपालका ७२ वटा जिल्लाका महिला उद्यमी जिल्ला संघमा आबद्ध पाँच हजार ५ सयभन्दा बढी महिला उद्यमी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने महासंघले जनाएको छ।

मेलामा १४४ वटा बिक्री स्टल राखिएको छ। जसमा २ वटा प्याभिलियन, ५८ वटा महिला उद्यमी जिल्ला संघबाट सहभागी भएका महिला उद्यमी र बाँकी ८२ वटा स्टलमा स्वदेशी तथा विदेशी महिला उद्यमीले आफ्ना उत्पादन प्रदर्शनमा राखेका छन्।

मेला अवधिमा नेपालभरि छरिएर रहेका महिला उद्यमीले उत्पादन गरेका कृषि जन्य वस्तु, हस्तकलाका सामाग्री, खाद्य सामाग्री, अन्तर्राष्ट्रिय वस्तु, सेवामूलक वस्तु तथा सेवाको प्रवर्द्धन तथा बिक्री वितरणका लागि राखिएको छ।

मेला अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रका महिला उद्यमी र उनीका उत्पादनसहितको सहभागिता हुने भएकाले नेपालका महिला उद्यमीले उपयोग गरेका प्रविधि, बजारीकरणका लागि अवलम्बन गरेका उपाय (वस्तुको लेवलिङ्ग, प्याकेजिङ्ग, ब्राण्डिङ) लगायतका विषयमा जानकारी लिन पाउने छन्।

नेपालमा उत्पादित नेपाली वस्तुको अन्तर्राष्ट्रिय क्षेत्रमा बजार विस्तार गर्नका लागि समेत यो मेला सहयोगी हुने अध्यक्ष ज्ञवालीले बताइन् । मेलामा साढे २ करोडको कारोबार हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij