ई–आर्थिक, काठमाडौं । महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले महिलाहरु उद्यममा अगाडी बढ्दै सम्मानित उद्यमी बन्नुपर्नेमा जोड दिएकी छन् ।
महासंघकी अध्यक्ष ज्ञवालीले आइटिसी ब्यूटी पार्लर ट्रेनिङ सेन्टरले तीज पर्वको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेकी हुन् ।
कार्यक्रममा उनले अब महिलाहरु उद्यमशीलतामा अघि बढ्नुको विकल्प नरहेको समेत जिकिर गरिन् ।
‘अहिले महिला दिदीबहिनीहरूलाई उद्यमशीलतामा अघि बढाउनुको विकल्प छैन। हाम्रो समाजमा प्रायः छोरा विदेश पठाउने प्रचलन छ, र घरमा छोरी बुहारी मात्र बाँकी देखिन्छन्। यसकारण, घरमा रहने महिला दिदीबहिनीले व्यवसायिक रूपमा सक्षम बन्नु जरुरी छ।’ उनले भनिन् ।
अध्यक्ष ज्ञवालीले महिलाहरूलाई सम्मानित पेसामा स्थापित गर्नु मात्र नभई, समाजमा शोषित र पीडित महिलाहरूका अधिकारका पक्षमा आवाज उठाउनुपर्नेमा जोड दिइन् । ‘यो समय महिलाहरूको सशक्तीकरणको हो, र यसका लागि उद्यमशीलता एक महत्त्वपूर्ण माध्यम बन्न सक्छ ।’ उनले भनिन्।
कार्यक्रममा विभिन्न उत्पीडित महिला तथा बालबालिकाको हकहितका लागि आवाज उठाउँदै आएकी सामाजिक अभियन्ता चन्द्रा ओझालाई सम्मान गरिएको थियो। त्यस्तै, आइटिसीमा २० वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएका अन्य ११ जना पनि सम्मानित भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) र विशिष्ट अतिथि शोभा ज्ञवालीले महिला उद्यमी कृषक र महिलाहरूले बजाएको नौमती बाजालाई समेत पुरस्कृत गरेका थिए। साथै, सोही कार्यक्रममा अध्यक्ष शोभा ज्ञवालीले ‘म उद्यमी’ नामक म्युजिक भिडिओको समेत विमोचन गरेकी थिइन् ।
कार्यक्रमका लायन्स क्लबले सहभागी महिला दीबहिनीहरूलाई स्वास्थ्य सामग्री पनि वितरण गरेको थियो ।
कार्यक्रममा विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष जोत्सना साउद, विश्व हिन्दु महासंघका राजेन्द्र तिवारी, एभिन्युज खबरका पत्रकार राजेशचन्द्र राजभण्डारी, मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख कृष्ण थापा, र छाला रोग विशेषज्ञ डा. सुयोग मैनाली लगायतका वक्ताहरूले तीज पर्वको महत्त्व र यसको मौलिकता जोगाउनुपर्ने धारणा राखेका थिए ।
आइटिसीका प्रमुख शोभा अर्यालको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा चर्चित कलाकार राजेश वर्देवाले सञ्चालन गरेका थिए। आइटिसी ब्यूटी पार्लर ट्रेनिङ सेन्टरले तीज पर्वलाई मौलिक ढंगले दर खुवाएर मनाउँदै आफ्नो संस्कृतिको संरक्षणमा योगदान दिएको छ। तमाम विकृति विसंगति मौलाउँदै गएका बेला आइटिसीले मौलिक ढंगले दर खुवाउँदै तीज मनाएको हो।