ई–आर्थिक, काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्नो १३ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले भाद्र १९ गते देखि भाद्र २४ गते सम्म सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गरी आफ्नो वार्षिकेत्सव मनाएको हो ।
बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले ट्राफिक जनचेतना कार्यक्रम, स्कुल कलेजहरुमा वित्तिय साक्षरता कार्यक्रम, बैकिङ्ग कसुर तथा साईवर क्राईम बिषयमा सचेतना मुलक कार्यक्रमहरु गरेको छ ।
सोही अवसरमा विभिन्न बिद्यालयहरुमा शैक्षिक सामाग्रीहरु बितरण गर्नुका साथै बैंकले चितवन, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रपलाञ्चोक र दोलखा जिल्लामा रहेका बिभिन्न प्रतिष्ठित मठ मन्दिरहरुको सरसफाई तथा डस्टपिनहरु वितरण गरी भाद्र २४ गते बैंकको कर्पोरेट कार्यालयको प्राङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा बनेपा बजार लगायत आसपास क्षेत्रका स्थानिय वासिन्दा तथा विभिन्न बैक वित्तीय संस्था एवं अन्य संघ संस्थाका प्रतिनीधिहरु समेत गरी ७५ जनाले रक्तदान गरेका थिए ।
सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकको प्रधान कार्यालय सिन्धुपाल्चोकको बाह्रविसेमा रहेको छ भने कर्पोरेट कार्यालय काभ्रेको बनेपामा रहेको छ ।
बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जानकारी दिएको छ ।

बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ्ग, एससीटी डेबिट कार्ड, एसएमएस बैंकिङ, क्युआर कोड, सी–आस्वा, कनेक्ट आईपीएस, आरटीजीएस लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको जानकारी दिएको छ ।