२०८३ साउन ९ शनिबार

कृषि कर्ममा रमाउँदै पूर्वएआइजी राई

ई आर्थिक    शनिबार, बैशाख ४ २०७८
4.9K
Shares
कृषि कर्ममा रमाउँदै पूर्वएआइजी राई

चियाको बिरुवा राप्दै पूर्वएआइजी गणेश राई । तस्बिर : नागरिक

उनले सुरु गरेको चियाखेतीले खोटाङ र भोजपुरमा व्यापकता पाएको छ

दिलीप पौडेल, काठमाडौँ : सेवानिवृत्त भएपछि अधिकांश उच्चपदस्थ सरकारी अधिकारी राजनीतिक नियुक्तिका लागि नेताको दैलो चहार्छन्। कपितय राजनीतिमा पनि होमिएछन्। तर नेपाल प्रहरीका एक पूर्वएआइजी सेवानिवृत्त जीवनलाई कृषि कर्ममा तल्लीन छन्। पूर्वी नेपालको भोजपुरमा जन्मिएका गणेश राई नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बाट सेवानिवृत्त हुन्। सेवानिवृत्त भएपछि केही समय नयाँ शक्ति पार्टीमा लागेर उनले राजनीतिसँगै कृषि अभियानलाई अघि बढाए। राजनीतिमा निष्ठा र अनुशासन नभएपछि राई अहिले पूर्णरुपमा कृषि कर्ममा तल्लीन छन्।

किसान परिवारमा जन्मिएका राईले सेवानिवृत भएपछि खोटाङ र भोजपुरमा चियाखेती अघि बढाएका छन्। उनले सुरु गरेको चियाखेतीले व्यापकता पाएको छ।

राई कृषि सहकारी संस्था स्थापना गरी चियाखेती, जडिबुटीसहित कृषिलाई व्यावसायिक बनाउन लागिपरेका छन्। उनको नेतृत्वमा स्थापना भएको थामडाँडा–टेम्के–सिलिचुंग कृषि सहकारी संस्थाले अभियानका रुपमा चियाखेती बिस्तार गरेको छ। राई उक्त सहकारीका अध्यक्ष हुन्। राई अधिकांश समय पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ पुग्छन्। ‘सेवानिवृत्त भएपछि मुलुकका लागि केही गरौं भन्ने हुटहुटी थियो,’ राईले भने, ‘आफ्नै जन्मभूमिमा योगदान पुर्‍याउन चियाखेती अघि बढाएको हुँ।’

उनले बाँझो सरकारी र निजी जमिन उपयोग गरी भोजपुर र खोटाङमा चियाखेती सुरु गरेका हुन्। उक्त सहकारीमार्फत दुई जिल्लामा १५ सय रोपनी क्षेत्रफलमा चियाका बिरुवा लगाइएको छ। अहिलेसम्म २० वटा बगानमा करिब १६ लाख बिरुवा रोपिएको छ। ‘यो वर्ष थप चार लाख बिरुवा रोप्ने लक्ष्य छ,’ राईले भने।

चिया उत्पादन र निर्यातबाट मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वासले यो काममा लागेको राई बताउँछन्। ‘व्यक्तिगत रुपमा काठमाडौंमै बसेर आरामदायी जीवन बिताउन सक्थें,’ उनले भने, ‘सेवानिवृत्त जीवनमा पनि मुलुकका लागि केही गरौं भनेर कृषि कर्ममा लागेको हुँ।’ व्यक्तिगत लाभभन्दा समाजका लागि योगदान पुर्‍याउन यो अभियानमा लागेको उनले बताए।

सम्भाव्यता अध्ययनपछि चियाखेती सफल हुने देखेर उनी यसमा लागेका हुन्। राईले व्यक्तिगतभन्दा सामूहिक खेतीलाई प्राथमिकता दिएका छन्। ‘व्यक्तिगतभन्दा सामूहिक फाइदालाई ध्यानमा राखेका छौं,’ उनले भने, ‘यसले सामाजिक तथा आर्थिक रुपान्तरणमा टेवा पुर्‍याउँछ।’

सहकारीले निजी तथा सरकारी जमिन करिब ५० वर्षलाई लिजमा लिएर चियाका बिरुवा लगाएको छ। करिब तीन सयजनाको जमिन लिजमा लिइएको छ। १० हजार रोपनी क्षेत्रफलमा चियाखेती बिस्तार गर्ने लक्ष्य लिएको उनले बताए।

अहिले भोजपुरको भोजपुर नगरपालिका, रामप्रसाद राई गाउँपालिका, आम्चोक गाउँपालिका, हतुवागढी गाउँपालिका, खोटाङको साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिक्तेल रूपाकोट नगरपालिका लगायतमा स्थानीय तहमा चियाखेती गरिएको छ।

हरेक स्थानीय तहमा नर्सरी स्थापना गरिएको छ। उत्पादित चिया विदेश निर्यात गर्ने योजना उनको छ। राईले २०७० सालमा कृषि सहकारी संस्था दर्ता गरी यो कामको सुरु गरेका थिए। बगानमा लगाएका चियाका बोटले उत्पादन दिन थालेका छन्। वार्षिक रूपमा चिया बगानमा प्रत्यक्षअप्रत्यक्ष करिब चार हजारजनाले रोजगारी पाउने राई बताउँछन्। स्थानीयले रोजगारीसँगै बाँझो जमिन लिजमा दिएर पैसा पाएका छन्। स्थानीय सहकारीका सेयर सदस्य छन्। चिया प्रशोधन गर्न रामप्रसाद गाउँपालिकाको बतासेमा चिया उद्योग पनि निर्माण गरिएको छ। करिब एक करोड रूपैयाँको लगानीमा स्थापना भएको उद्योगमा उन्नति परियोजनाले पनि सघाएको छ। यो उद्योगबाट करिब साढे पाँच सय घरधुरी लाभान्वित हुनेछन्।

राईको नेतृत्वमा सुरु भएको चियाखेती बिस्तार अभियानले स्थानीय जनप्रतिनिधि पनि उत्साहित छन्। उनले स्थानीयलाई चियाखेती गर्न प्रोत्साहित गरेको खोटाङको खोटेहाङ गाउँपालिका– २ का अध्यक्ष दीपेन्द्र राईले बताए। ‘उहाँ (राई सर) ले सुरु नगरेको भए जमिन त्यसै बाँझो रहन्थ्यो,’ दीपेन्द्रले भने, ‘वडाका खाली जमिनमा चियाका बोट लगाएका छौं।’ खोटेहाङ गाउँपालिका–२, कपासे भन्ज्याङमा चियाखेती बिस्तार भएको उनले बताए। १२ हजार चियाका बिरुवा लगाएकोमा फेरि १२ हजार रोप्ने तयारी भएको वडाध्यक्ष राईले बताए। वडाध्यक्ष राईका अनुसार वडा २ को ५० रोपनी क्षेत्रफलमा चियाका बिरुवा लगाइएको छ।

‘सहकारीको सहयोगमा विभिन्न ब्लक बनाएर तीनवटा बगान बनाएका छौं,’ उनले भने, ‘चियाखेतीको सम्भावना देखेर बिरुवा रोपिरहेका छौं।’ सरकारी जमिनलाई उपयोगमा ल्याउन प्रेरित गर्ने देन पूर्वएआईजी राईको भएको वडाध्यक्ष राईले बताए। ‘राई सरले नेतृत्व गरेपछि खाली रहेको जमिन सदुपयोग गरेका छौं,’ उनले भने, ‘उपभोक्तामार्फत काम भैरहेको छ।’ चियाखेतीले रोजगारी सिर्जना गर्नुका साथै आयस्तरमा सुधार ल्याउन सघाउ पुग्ने विश्वास उनको छ।

खोटाङसहित भोजपुरमा पनि यो अभियानले व्यापकता पाएको छ। चियाखेती गर्न खाली जमिन उपयोगमा ल्याएको भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले बताए। पूर्वएआइजी राईले गृह जिल्लामा आएर चियाखेती गर्न प्रोत्साहित गरेपछि स्थानीय उत्साहित भएको आले बताउँछन्। ‘सहकारीमार्फत खाली ठाउँमा चियाका बिरुवा लगाएका छौं,’ उनले भने, ‘एक लाख विरुवाको नर्सरी बनाएका छौं।’ नागरिकबाट 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij