ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रीचन्द्र भट्ट नियुक्त हुनुभएको छ । बैंक सञ्चालक समितिले भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले राजीनामा दिएको करिव ३ महिनापछि भट्टलाई नियुक्त गरिएको हो ।
भट्ट यसअघि आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । त्यहाँ प्रमुख कार्यकारी अधिकृत रहेकै समयमा उहाँ ज्योती विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर आउनु भएको हो ।
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएपछि उहाँले आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिनुभएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गर्नुभएका भट्टसँग विभिन्न बैंक वित्तीय संस्थामा धेरै लामो समय काम गरेको अनुभव छ । बैंकका अतिरिक्त उहाँले बीमा र रेमिटान्स कम्पनीहरुमा समेत काम गरेको अनुभव बटुल्नु सफल हुनुभएको छ । वित्तीय क्षेत्रका प्रखर र जानकार अनुभवि भएकाले उहाँलाई यसअघि दुईवटा बाणिज्य बैंकमा सीईओ बनाउने विषयमा छलफल समेत चलेको थियो ।
ज्योति विकास बैंक सञ्चालक समितिले उहाँको कार्यकालमा बैंकले उल्लेख्य प्रगति गर्ने विश्वास लिएको छ ।
नवनियुक्त सीईओ भट्टले आफूसँग भएको विगतको अनुभवलाई उपयोग गरेर बैंकको साखलाई अझ उचाईमा प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘कोरोना भाइरस (कोभिड–१९) का कारण गरिएको लामो लकडाउनले बर्तमान समय वित्तीय क्षेत्रको लागि चुनौतिपूर्ण रहेको छ ।’ उहाँले भन्नुभयो– ‘तर हालको चुनौतिलाई अवसरमा बदल्न हरतरहले प्रयत्न गर्नेछु ।’ आफ्नो सम्बन्ध, सम्पर्क र अनुभवलाई बैंकको हितमा प्रयोग गरेर ज्योति विकास बैंकलाई उत्कृष्ट वित्तीय संस्था बनाउने पनि उहाँले बताउनुभयो ।