ई–आर्थिक, काठमाडौं : बिदेशमा अलपत्र परेका ९६० नेपालीको उद्दार गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि अलपत्र परेकाको एकैदिन सो संख्यामा नेपालीको उद्धार भएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले जानकारी दिएको छ । सेन्टरका अनुसार विभिन्न मुलुकबाट शनिबार मात्र ९५९ नेपालीलाई काठमाडौं ल्याइएको हो ।
शनिबार नेपाल ल्याइएकामा हङकङ, यूएई, साउदी अरेबिया, यूकेका रहेका छन् ।
यूएई र साउदी अरेवियाबाट दुई उडान, यूके र हङकङबाट एक उडान गरेर अलपत्र नेपालीको उद्धार गरिएको सेन्टरले जानकारी दिएको छ । यूएईबाट भएको दुई उडानमा तीन सय ८७ र साउदी रेवियाबाट भएको दुई उडानबाट चार सय ४० जनाको उद्धार गरिएको छ । त्यसैगरी यूकेबाट ८३ र हङकङबाट ८२ जनाको उद्धार भएको सेन्टरले उल्लेख गरेको छ ।
नेपालीसँगै एकजना भारतीय नागरिक समेतलाई उद्दार गरिएको छ । भारतीय नागरिकसहित उद्धार भएकाको कुला संख्या ९६० रहेको छ । ल्याइएको एकजना बाहेक सबैलाई होल्डिङ सेन्टरमा राखेर व्यक्तिगत विवरण संकलन गरेपछि मात्र प्रदेशको समन्वयमा स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा पठाइने भएको छ ।
साउदी अरेबियाबाट ल्याइएका मध्ये एक जनालाई भने टेकु अस्पताल लगिएको हो । यसैबीच विदेशमा लाखौं नेपाली उद्दारको पर्खाइमा रहेका छन् । सरकारी समन्वयमा ठिलासुस्ती भइरहेको उनीहरुले गुनासो गरिरहेको छन् । कोरोना भाइरसका कारण लामो समय गरिएको लकडाउनका कारण हजारौं नेपाली कामविहिन भएर खाना समेत खान नपाउने अवस्थामा रहेका छन् ।