ई आर्थिक, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्साशास्त्रमा अमेरिका गएर एमडी गरी बिशेषज्ञता हासिल गर्न रोक लगाएको छ । चिकित्सा क्षेत्रका माफियाहरुको प्रभाबका कारण मन्त्रालयले यस्तो कदम चालेको पीडितहरुले जानकारी दिएका छन् ।
मन्त्रालयले अहिले एमडी गर्नका लागि अमेरिकाको बिश्वबिद्यालयमा अनिबार्य बुझाउनुपर्ने कागजात कबुलियतनामा पत्रमा केही दिनअघिबाट रोक लगाएको छ ।
उक्त कबुलियतनामालाई ‘स्टेटमेन्ट अफ निड’ भनेर सम्बोधन गरिन्छ । अमेरिकी सरकारले बिदेशी चिकित्सकहरुले आफ्नो देशमा आएर चिकित्साशास्त्रमा बिशेषज्ञता हासिल गर्न यो पत्र अनिबार्य गरेको छ । ‘स्टेटमेन्ट अफ निड’ नदिनुको पछाडि माफिया स्वार्थबाहेक केही नभएको जानकारहरु बताउँछन् । यो क्षेत्रका माफियाहरुले मुलुकमा बिशेषज्ञ चिकित्सकहरुको अभाब बनाउन बिगत लामो समयदेखि प्रयास गर्दै आइरहेका थिए ।
बर्तमान सरकारदेखि उनीहरुको चलखेल चरम हुदै आएको थियो । अहिले आएर भने माफियाहरु सफल देखिएका छन् । यसमा दुई स्वार्थ एकैसाथ देखिएको जानकारहरुको दाबी छ । एउटा नेपालभित्रैका निजी क्षेत्रका अस्पतालहरुको नाफा उच्च दरमा बृद्धि गर्नु हो भने अर्को चिकित्साशास्त्रको उच्च शिक्षाका लागि छिमेकी मुलुक भारत, बंगलादेश, चीनलगायतका मुलुकमा बिद्यार्थी पठाउनु ।
मुलुकमा बिशेषज्ञ चिकित्सकहरुको अत्यन्त ठूलो माग छ । आम नागरिकमा आएको चेतनाको कारण हरेकले बिशेषज्ञलाई नै जाँच गराउन चाहन्छन् । तर यहाँ उत्पादन भएको न्यून संख्याले त्यो माग धान्न सक्दैन । अहिले देशमा एमबिबिएस पढ्नको लागि करिब २ हजारको सिट छ । एमडी÷एमएसको भने ४४० सिट मात्र छ । यो सिटमध्ये इन्टरनेशनल मेडिसिनको लागि भने ४७ सिट मात्र छ । अझ फेलोसिपको सिट संख्या त १० देखि २० ओटा मात्र छ । यही कारण नेपालमा बिशेषज्ञ चिकित्सकहरुको एकदमै अभाब देखिन्छ ।
नेपाल मेडिकल काउन्सिलका अनुसार अहिलेसम्म इन्टरनल मेडिसिनका बिशेषज्ञ ८०४, बाल बिशेषज्ञ ६२९, मुटु बिशेषज्ञ १२१ जना, ग्याँष्ट्रिकका ४३ जना र पल्मोनरीका ३० जना मात्र बिशेषज्ञ रहेका छन् । यो तथ्यले नेपालमा बिशेषज्ञ चिकित्सकको निकै ठूलो अभाब रहेको देखाउँछ । जहाँ बिशेषज्ञ चिकित्सक हुन्छन् त्यही गएर स्वास्थ्य जाँच गराउने मानिसहरुको संख्या दिनानुदिन बढिरहेको छ । सीमित बिशेषज्ञहरुलाई निजी अस्पतालहरुले आकर्षक तलब र सुबिधा दिएर राख्ने गरेका छन् । त्यसैले आम सर्बसाधारणहरुले बिशेषज्ञ चिकित्सकहरुलाई देखाउनु परेमा निजी अस्पतालहरुमा जान बाध्य छन् । बिशेषज्ञकै अभाबमा सरकारी अस्पतालहरुको गुणस्तर खस्कँदो छ ।
सरकारी अस्पतालहरुमा प्रायः एमबीबीएस र ट्रेनी चिकित्सकहरु मात्र देखिन्छन् । यसले गर्दा आम नागरिक धान्नै नसक्ने महंगा निजी अस्पताल गइरहेका छन् । यो अबस्थाले निजी अस्पतालहरु मलामाल बनेका छन् भने सर्बसाधारणहरु औषधि उपचारले घरबारबिहीन हुदै छन् । यो सबै स्वास्थ्य क्षेत्रका माफियाको कारणले उत्पन्न भएको अबस्था हो । माफियाहरु कम बिशेषज्ञ उत्पादन होस भन्ने चाहन्छन् । पर्याप्त मात्रामा बिशेषज्ञ उत्पादन भएमा सरकारी
अस्पतालहरुमा पनि बिशेषज्ञ चिकित्सक उपलब्ध हुने हुदा आम मानिस सरकारी अस्पतालतिर आकर्षित हुन्छन् । यसले निजी क्षेत्रको नाफामा धक्का पुग्ने हुदा माफियाहरु नीतिगत तहमा प्रभाबित पारेर बिशेषज्ञ उत्पादनमै रोक लगाउँछन् । अर्कोतिर भारत, बंगलादेश तथा चीनमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययन गर्न पठाउने यहाँ माफियाहरुले कन्सल्टेन्सी नै चलाएका छन् । ती देशका दलाल र यहाँका माफियाको मिलेमतोमा महंगो शुल्क लिएर बिद्यार्थीहरु पठाउने गरिन्छ । यि देशहरुमा बिशेषज्ञ हासिल गरेका चिकित्सकहरुको गुणस्तर भने निकै कम भए पनि पैसाको लागि दलाल र माफियाहरु चिकित्सकहरुलाई राम्रा देशहरुमा प्रतिश्पर्धा गरेर पढ्न नजाउन भन्ने चाहन्छन् ।
अमेरिकामा जाने चिकित्सकहरु यस्ता दलाल तथा माफियामार्फत होइन, प्रतिश्पर्धामा उतीर्ण भएर जाने गरेका छन् । त्यसैले माफियाहरुले मन्त्रालयलाई प्रभाबित गरेर त्यो बाटो नै बन्द गरिदिएको पीडितहरु बताउँछन् ।
चिकित्साशास्त्रका बिभिन्न बिषयमा बिशेषज्ञको आवश्यक हुने मुलुकमा मात्र यस्ता जनशक्ति उत्पादनमा सहयोग गर्ने अमेरिकी सरकारको नीति छ । त्यसैले बिशेषज्ञता हासिल गर्न चाहने बिद्यार्थीले आफ्नो देशको तालुकदार मन्त्रालयबाट यस प्रकारको जनशक्ति आवश्यक रहेको छ भन्ने सिफारिस पेश गर्नुपर्ने हुन्छ । बिगतमा एमडी र फेलोशिपमा अमेरिका जान छनोट भएका बिद्यार्थीहरुलाई यो ब्यहोराको सिफारिस दिने गरिएको थियो । एमबीबीएस गरेका प्रतिभावान र तीक्ष्ण क्षमता भएका चिकित्सकहरुले सीमित कोटामा अन्तर्राष्टिय स्तरको प्रतिस्पर्धा गरेर मात्र एमडीको लागि छनोट हुने ब्यबस्था गरेको छ ।
मुलुकमा चिकित्साशास्त्रमा बिशेषज्ञ सेवाका लागि अत्यन्त न्युन कोटा रहेकाले प्रतिभाबान चिकित्सकहरु यसका लागि अमेरिका लगायतका मुलुकमा जाने गर्छन । डा. भगबान कोइराला, डा. अर्जुन कार्की, डा. अनुप सुबेदी लगायतका मुलुकका ख्यातिप्राप्त चिकित्सकहरु यही कोटामा गएर बिशेषज्ञता हासिल गरी मुलुकमा फर्केर सेवा गरिरहेका चिकित्सक हुन । यस्ता बिद्यार्थीहरु आफ्नै खर्चमा जे वान भिसामा गएर अध्ययन पुरा गरी नेपाल फर्कने गर्छन । जे वान भिसामा एमडी तथा फेलोसिप गर्नुको मूल उद्देश्य बिशेषज्ञता हासिल गरिसकेपछि सम्बन्धित मुलुकमा गएर सेवा गर्नु हो ।
मन्त्रालयले स्टेटमेन्ट अफ निड नदिनुको कारण ऐन तथा नियमावलीको अभाबलाई देखाएको छ । जब कि यो बिगतदेखि नै कानुनी प्रक्रिया अनुसार नै दिने गरेको ब्यबस्था हो । नेपालमा मात्र होइन, बिश्वभर नै तालुकदार मन्त्रालयले यसरी अध्ययन गर्न चाहने आफ्ना नागरिकलाई यस्तो पत्र दिने प्रचलन छ । यस्तो पत्र नदिदा सम्बन्धित मुलुकमा उल्लेखित बिषयमा बिशेषज्ञको आवश्यक छैन भन्ने अर्थमा लिइन्छ ।
स्टेटमेन्ट अफ निड के हो ?
स्टेटमेन्ट अफ निड भनेको कुनै बिषयमा अध्ययन गरेको जनशक्तिको आवश्यकता रहेको छ भनेर बिशेषज्ञ हासिल गर्न चाहने बिद्यार्थीको सम्बन्धित मुलुकले गर्ने सिफारिस पत्र हो । त्यस पत्रमा पढ्न जान चाहने बिद्यार्थीले अध्ययन पुरा भएपछि आफ्नो देश फर्केर सेवा गर्ने लिखित प्रतिबद्धता पनि जनाएका हुन्छन् । अमेरिकाको कानुन अनुसार जे वान भिसामा अरु देशका चिकित्सकहरुलाई भिसा दिनुको उद्देश्य सम्बन्धित देशका चिकित्सकहरुलाई प्रशिक्षण दिई त्यस देशको स्वास्थय स्थिति सुधार गर्नु हो । यो भिसामा २ सयभन्दा बढी मुलुकका चिकित्सकहरुले अमेरिकामा गएर अध्ययन गरी बिशेषज्ञता हासिल गर्ने गर्छन ।
सन २०१८ मा मात्र जे वान भिसा प्राप्त गरी अमेरिकामा उच्च शिक्षा हासिल गर्ने बिदेशी चिकित्सकहरुको संख्या ११ हजार ३८५ थियो । सबभन्दा बढी छिमेकी मुलक भारतबाट जाने गरेको तथ्याङ्क छ । सन २०१९ मा भारतबाट मात्र २३४१ चिकित्सक जे वान भिसामा अमेरिका अध्ययन गर्न गएका थिए । त्यस्तै पाकिस्तानबाट १०७० जना अमेरिका पुगेर अध्ययन गरिररहेका छन् । सबै मुलुकहरुले आफ्नो स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित बिद्यार्थीहरुलाई स्टेटमेन्ट अफ निड दिएर सहजीकरण गर्ने गरेका छन् । स्वास्थ्य मन्त्रालयले यो पत्र नदिएमा भने अमेरिकाले बिदेशी चिकित्सकहरुलाई यो अबसर दिदैन । उसले सम्बन्धित मुलुकलाई यस्तो प्रकारको जनशक्ति आवश्यकता छैन भन्ने अर्थमा लिन्छ ।
एमडीका लागि छनोट तरिका
नेपालमा अत्यन्त सीमित संख्यामा एमडीको सिट भएकाले चिकित्साशास्त्रमा उच्च शिक्षा हासिल गर्न बिदेश जान बाध्य हुनुपर्छ । यसकै लागि मुलुकबाट बर्षेनी अबौं रकम बाहिरिन्छ । अमेरिकामा एमडी÷एमएसमा अध्ययन गर्न ईच्छुक चिकित्सकले छनोटका लागि ठूलो मेहनत, परिश्रम र लगानी समेत गर्नुपर्छ । यसका लागि सम्बन्धित चिकित्सकबाट पहिलो र दोस्रो चरणको परीक्षा दिनुपर्छ ।
सरकारको स्वीकृतिमा यो परीक्षा लिने केन्द्र नेपालमै छ । पहिलो र दोस्रो चरण पार गरेपछि तेस्रो र चौथो चरणको परीक्षा लिइन्छ । यसको लागि भने अमेरिका नै जानुपर्छ । यि चारै चरणका परीक्षाले बिश्वभर मान्यता प्राप्त गर्छन भने निकै कठिन पनि मानिन्छ । यि परीक्षामा सफलता हासिल गर्न एकदेखि दुई बर्ष कडा मेहनत र परिश्रम गर्नुपर्छ भने परीक्षा शुल्क मात्र करिब ६ लाख रुपैया खर्च गर्नुपर्छ । बिशेषज्ञता हासिल गरिसक्दा अरु २५ लाखजति खर्च हुन्छ । पढाई शुल्क भने सम्बन्धित बिश्वबिद्यालयले ब्यहोर्छ ।
सबै परीक्षा उतीर्ण गरेपछि निश्चित कोटाका लागि चिकित्सकबिच प्रतिश्पर्धा गराइन्छ । यो प्रतिश्पर्धा अन्तर्राष्ट्रिय स्तरको हुन्छ । हजारौं प्रतिभावा चिकित्सकहरुले यसमा प्रतिश्पर्धा गर्छन । सन २०१९ मा २० हजार ७१३ चिकित्सकहरुले प्रतिश्पर्धाका लागि निबेदन गरेका थिए ।
पहिलो चरणमा अन्तरबार्ताका लागि प्रतिश्पर्धा हुन्छ । अन्तरबार्ताका लागि छनोट छनोट हुनु पनि निकै राम्रो सफलता मानिन्छ । अन्तरबार्ताबाट उतीर्ण हुन अझ कठिन हुन्छ । जस्तो कि सन २०१९ का लागि अमेरिकाबाहेकका देशबाट अन्तरबार्ताका लागि ७ हजार ३६६ छनोट भएका थिए । तर तीमध्ये ३ जार ६४१ मत्र अध्ययनका लागि योग्य ठहरिए ।
त्यसैले अमेरिकामा एमडी÷एमएस गर्न पाउनु गौरबको बिषय मानिन्छ । यहाँ अन्तरर्राष्ट्रिय स्तरका अब्बल चिकित्सकहरुसँग प्रतिश्पर्धा हुन्छ, जसले बिशेषज्ञता हासिलमा प्रोत्साहन मिल्छ । यसमा कुन देशबाट कति भनेर कोटा हुदैन । प्रतिश्पर्धामा अब्बल ठहरिने जुनसुकै मुलुकबाट जति पनि चिकित्सकले पढ्ने अबसर पाउँछन् । यस्तो अबसरमा हाम्रो तालुकदार मन्त्रालयले पनि प्रोत्साहन गर्नुपर्नेमा अबसरको बाटो बन्द गरेर निरुत्साहित गरिदिएको छ ।