टेकप्रसाद चौलागाई
अध्यक्ष
जिल्ला सहकारी संघ लि. काठमाडौं
टेकप्रसाद चौलागाई जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंका अध्यक्ष हुनुहुन्छ । संघमा आफ्नो कार्यकाल नदोहो¥याई यो चुनाबी साधारणसभावाट संघको नेतृत्व जिम्मेवार र भरपर्दो वर्तमान उपाध्यक्ष ज्ञानबहादुर तामाङलाई सुम्पने बताउनुहुन्छ । त्यसका लागि सर्वसम्मत पनि भइसकेको उहाँले बताउनु भयो । आफ्नो विगत दुई दशक देखिको सहकारी क्षेत्रको अनुभवलाई भने अन्य कुनै सहकारीका छाता संस्थामा रहेर सदुपयोग गर्ने सोच उहाँले बनाउनु भएको छ । काठमाडौं जिल्ला संघको नेतृत्वमा आएपछि भए गरेका काम र भावि योजनाको बारेमा उहाँसँग गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ :
जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंको बर्तमान अवस्था कस्तो छ ? संघको विगतलाई वर्तमानसँग कसरी तुलना गर्नुहुन्छ ?
काठमाडौं जिल्ला देशमै सबैभन्दा बढी सहकारी भएको जिल्ला हो । बढी सहकारी भएका कारणले यो संघ जिम्मेवारी बढी भएको अविभावक संघ पनि हो । यस जिल्लामा सहकारी बढी भएपनि विगतमा यो संघ सिमित सदस्य संस्थाहरुको आबद्धतामा चलिरहेको थियो । त्यस्तै संघले खासै गतिविधि पनि गर्न सकिरहेको थिएन । तर अहिलेको अवस्था त्यस्तो छैन । सदस्यको संख्या बृद्धिसँगै गतिविधिमा समेत व्यापकता छाएको छ । एक करोड सेयर पूँजी रहेको संघ सन्तोषजनक ढंगबाट अगाडी बढिरहेको छ ।
संघमा हाल कति सदस्य संस्था पुगे ? सदस्य विस्तार सम्बन्धि संघले कसरी पहल गरिरहेको छ ?
संघमा हाल सदस्य संख्या १९२३ पुगेका छ । सेवासँगै सदस्यता विस्तारमा संघले आवश्यक सबै किसिमका पहल गरिरहेको छ ।
तपाईको कार्यकालमा संघमा के कस्ता कामहरु भए ? तपाईको कार्यकालको भएका मूख्य–मूख्य कामहरु के–के हुन ?
देशकै ठूलो सहकारी भएको जिल्लाको संघ भए पनि यो संघ विगत केही सुस्त गतिमा अगाडि बढिरहेको थियो । मेरो नेतृत्वमा बनेको नयाँ कार्यसमितिको सक्रियतासँगै संघले धेरै गतिविधिहरु गर्न थालेको छ । सदस्य संख्या बृद्धि, सदस्य संस्थालाई टेवा पु¥याउन विभिन्न किसिमका तालिम, गोष्ठि लगायत सदस्य संस्थालाई आवश्यक पर्ने सेवा र अभियानलाई टेवा पु¥याउने अन्य किसिमका गतिविधि समेत संघले गर्दै आएको छ । जुन विगतमा हुदैनथ्यो भन्दा पनि हुन्छ । त्यस्तै सदस्य संस्थाका समस्या समाधानमा समेत संघले अहिले विशेष पहल गर्दै आएको छ ।
सहकारी अभियानलाई टेवा पु¥याउने काठमाडौं जिल्लाका सहकारीको भूमिका र योगदानलाई कसरी व्याख्या गर्नुहुन्छ ?
बढि सहकारी भएको जिल्ला भएकाले पनि सहकारी अभियानलाई उचित गन्तव्यतिर लैजाने कार्यमा काठमाडौं जिल्लाका सहकारीमा ठूलो जिम्मेवारी र दायित्व रहेको छ । यस जिल्लाका संस्थाहरुले सहकारी अभियानलाई टेवा पुग्ने गतिविधि गरिरहेका पनि छन् । यस्ता गतिविधिमा संघले पनि अभिभावकत्व निर्वाह गरिरहेको छ । सहकारी अभियानमा काठमाडौंका सहकारीको महत्वपूर्ण योगदान रहेको छ । अभियानलाई टेवा पुग्ने गतिविधि अझै गर्न म जिल्लाका सबै सहकारी संस्था र सहकारीकर्मीलाई आव्हान गर्दछु ।
काठमाडौं जिल्लाका सहकारी संस्थाहरुको समग्र अवस्था कस्तो रहेको छ ?
काठमाडौंका सहकारीले आर्थिक गतिविधि बढाउन, रोजगारी सिर्जना गर्न र राज्यलाई राजश्वमा समेत राम्रो योगदान पु¥याइरहेका छन् । अन्य जिल्लाको तुलनामा संख्याको हिसावमा यो जिल्ला सहकारीको महासागर भएको जिल्ला हो । महासागरमा एकआध माछा (सहकारी) तलमाथि हुनु स्वभाविक मान्नु पर्छ । यद्यपी सकेसम्म त्यस्ता तलमाथि हुने गतिविधिलाई सून्यमा झार्नुपर्छ । त्यस वाहेक यहाँका सहकारीले बैंक वित्तीय संस्थाको सेवालाई माथ गर्ने गरी सेवा प्रदान गरिरहेका छन् । त्यस्तै आफ्नो हैसियत र साखलाई समेत सानदारका साथ उचाईमा राखी सदस्यहरुको मन जित्ने सेवा प्रदान गर्न सफल भएका छन् । सहकारी क्षेत्र संवेदनशील क्षेत्र भएकाले पनि उत्तेजित नभई भद्र भएर सदस्यलाई मन जित्ने प्रभावकारी सेवा दिइरहन सकुन भन्ने मेरो चाहाना हो । समग्रमा भन्नुपर्दा यस जिल्लाका सहकारीको अवस्था सन्तोषजनक रहेका छन् ।
काठमाडौंका सहकारीका समस्याहरु के कस्ता छन ? ती समस्या समाधान गर्न अविभावक संस्थाको हैसियतले संघले के कस्तो पहल गर्दै आएको छ ?
काठमाडौं र बाहिरका सहकारीका समस्या लगभग उस्तै हुन् । नीतिगत समस्या सबैका साझा समस्या भइहाल्यो । नीतिगत कारणले काठमाडौंका बहुउद्देश्यीय सहकारी केही अफ्ठ्यारो महशुस गरिरहेका छन् । त्यस्तै ब्याजदरको सीमा जस्ता समस्या सबैका साझा समस्या हुन । अर्को संस्थामा हुने व्यवस्थापकीय ज्ञानको अभाव एक आध संस्थाका समस्या हुन । जुन हामीले तालिम तथा परापर्शमार्फत विस्तारै व्यवस्थापनमा सहयोग गर्दै आइरहेका छौं । त्यसबाहेक काठमाडौंका सहकारीको समस्या भनेको अलिक बाक्लो रुपमा स्थापना हुनु हो । एउटै प्रकृतिका सेवा दिने संस्था एकै ठाउँबाट सेवा दिएर अस्वस्थ प्रतिस्पर्धा गर्नुभन्दा पनि ‘मर्ज’ भएर अझ बलियो संस्थाको परिचयबाट सेवा दिनुपर्छ भन्ने संघ र मेरो मान्यता रहेको छ । त्यसतर्फ पनि हामीले आवश्यक ‘मोटिभेसन’को काम पनि गरिरहेका छौं । संघकै आग्रह, अनुरोध र प्रोत्साहनमा समेत केही सहकारीहरु मर्ज भएर थप प्रभावकारी सेवा दिइरहेका छन् । यो उदाहरणलाई अन्य संस्थाहरुले समेत अनुसरण गरी मर्ज भएर बलियो संस्था बन्दै दीर्घकालिन सेवा पु¥याउने हिसावबाट अघि बढ्न म आग्रह गर्दछु । साथै काठमाडौंका सहकारीका सबै किसिमका समस्या समाधान गर्न समेत हामीले आवश्यक पहल गरिरहेका छौं ।
अध्यक्ष चौलागाई भन्नुहुन्छ– ‘सहकारीको दुई दशकको अनुभव अन्य छाता संस्थामा बसेर उपयोग गर्छु’
काठमाडौंमा कस्ता प्रकृतिका सहकारीको संभावना बढी रहेको छ ? काठमाडौंमा स्थापना भएका सहकारीको संभावना तथा भविष्य कस्तो देख्नुहुन्छ ?
काठमाडौं जिल्ला बढी शहरी क्षेत्र भएको जिल्ला हो । त्यसैले आर्थिक गतिविधि गर्ने वित्तीय सहकारी संस्थाको नै यस जिल्लामा बढी संभावना रहेको छ । काठमाडौंमा स्थापना भएको सहकारीको संभावना र भविष्य अत्यन्तै सुन्दर देख्छु । बढी जनसंख्या भएको जिल्ला भएका कारणले पनि यहाँ सेवा दिन सदस्यको कुनै खाचो छैन । तर आफ्नो भविष्य सुनिश्चित गर्न सदस्यहरुलाई मन जित्ने विश्वासिलो, भरपर्दो र प्रभावकारी सेवा दिइरहन सक्नु पर्दछ ।
काठमाडौंका सहकारीमार्फत कति पू“जी परिचालन भएको छ ? यस जिल्लाका सहकारीको जम्मा सेयर पू“जी, निक्षेप संकलन र कर्जा लगानी कति रहेको छ ?
काठमाडौंका सहकारी मार्फत अर्बौ पूँजी परिचालन भएको छ भने त्यस्तो यस जिल्लाका सहकारीकोे सेयर पुँजी १५ अर्ब ४ करोड ४४ लाख ७९ हजार ५ सय रहेको छ । त्यस्तै अर्बौ निक्षेप संकलन गरी त्यतिकै संख्यामा कर्जा लगानी गरेको छ । यो तथ्यांक देशका अन्य जिल्लाको तुलनामा अब्बल तथ्यांक हो । यो तथ्यांकले पनि काठमाडौंमा भएका सहकारीको अवस्थाको चित्रण गर्दछ ।
काठमाडौं जिल्लाका सहकारीमा कति सर्वसाधारण आबद्ध रहेका छन ? यस जिल्लाका सर्वसाधारण सहकारीमा आवद्ध हुने क्रम कस्तो छ ?
काठमाडौंमा सञ्चालित ३८३९ सहकारी मध्ये ६ वटा विषयगत संघसहित १९२३ सहकारी संस्था यस संघमा सदस्य रहेका छन् । त्यस्तै जिल्लामा ४ लाख ६ हजार ३ सय ४२ सर्वसाधरण सदस्य बनि काठमाडौंका सहकारीबाट सेवा लिइरहेका छन् ।
सर्वसाधारणहरु सदस्य बनि सेवा लिइरहका छन् । यस जिल्लाका अधिकांश जनसंख्या कुनै न कुनै सहकारी संस्थाको सेयर सदस्य रहेका छन् । सदस्य नभएका बाँकी सर्वसाधारण समेत सदस्य बन्ने क्रम उत्साहजनक पाएको छु ।
संघको यो २० औं साधारणसभा चुनावी साधारणसभा पनि हो । तर नेतृत्व चयन विषयलाई सर्वसम्मतबाट टुंग्याउन सफल हुनु भयो नि ! तपाई राष्ट्रिय सहकारी महासंघमा जाने चर्चा पनि चलेको छ नि ?
मेरो कार्यकालमा भएका राम्रा गतिविधिहरुलाई निरन्तरता दिन, सुरू भएका कामहरुलाई संस्थागत गर्न र संघमा हामीले बनाएको भावि योजनाका बाँकी कामलाई हामीले विश्वासिलो र काम गर्ने सक्ने सक्षम साथिहरुको टिम बनाएर जिम्मेवारी सुम्पने सोच अनुसारको टिम सर्वसम्मत भएको छ । जहाँसम्म राष्ट्रिय सहकारी महासंघमा जाने मेरो चर्चा छ, त्यो सहकारीकर्मी र शुभचिन्तकहरुको साथ सहयोग भए म त्यहाँ जान पनि सक्छु । सहकारी महासंघमा नभए पनि विगत दुई दशकदेखि सहकारी क्षेत्रमा भएको मेरो अनुभवलाई कुनै न कुनै सहकारीको छाता संस्थामा रहेर सदुपयोग गर्नुपर्छ भन्ने मनस्थितिमा म रहेको छु ।
संघको बर्तमान उपाध्यक्ष ज्ञानबहादुर तामाङको अध्यक्षतामा सर्वसम्मत भएको हो ?
मैले कार्यकाल दोहो¥याउने भन्दा पनि साथीहरुले पनि अवसर दिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । यही सोच अनुसार वर्तमान उपाध्यक्ष ज्ञानबहादुर तामाङकै नेतृत्वमा संघको कार्यसमिति बनाउने योजना सफल भएको छ । उहाँको अध्यक्षतालाई सर्वसम्मतले स्वीकारिसकेको छ । उहाँ जिल्ला संघमा उपाध्यक्षको भूमिकाबाट पनि जिल्लाका सबै सहकारी संस्था र सहकारीकर्मीमझ परिचित हुनुहुन्छ । युवा जोश र जाँगर बोक्नु भएका उपाध्यक्ष ज्ञानबहादुर तामाङ सहकारी अभियानमा अगुवाको भूमिकामा लामो समयदेखि सक्रिय हुनुहुन्छ । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समेत भइसक्नुभएको तामाङसँग नेतृत्व गर्न सक्ने क्षमता र गुण पनि रहेको छ । संघलाई अझ सशक्त ढंगबाट अगाडि बढाउने कार्यमा उहाँको नतृत्वमा सहमतिय कार्यसमिति सर्वसम्मत गरिसकेका छौं । कार्यसमितिमा रहेर सेवा गर्ने आकांक्षी धेरै भएपनि सहमति र सर्वसम्मतबाटै हामीले कार्यसमिति चयन गर्ने प्रयास सफल भएको छौं ।