ई–आर्थिक, काठमाडौं । पुस १ गतेबाट बिदेशी श्रम बजारमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचत पत्र २०८१ जारी गर्ने भएको छ । २० करोड रुपैयाँको उक्त बचत पत्र पुको २१ गतेसम्म खुला हुने छ । सो बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुले आवेदन भर्न पाउने छन् ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई मध्यनजर गर्दै विगतमा जारी गरिएको रोजगार बचतपत्रमा उत्साहजनक सहभागी हुने गरेको छैन ।
वैदेशिक रोजगारीमा गएर ४ महिना विदेशीमा बसेर फर्किएका श्रमिकले पनि यो बचत पत्र खरिद गर्न पाउने ब्यबस्था गरिएको छ । यस्तै विदेशमा रहेका श्रमिकका परिवारका सदस्यहरु बुव, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सकिने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगार बचतपत्र किन्ने व्यक्तिले १० प्रतिशत ब्याजदरसँगै हरेक ६ महिनामा भुक्तानी र ५ वर्षभित्र सावाँ पनि फिर्ता पाउने छन् । बचतपत्र किन्ने व्यक्तिले उक्त बचत पत्र बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने सुविधा पनि छ ।
बचतपत्रका लागि काठमाडौं उपत्यका भित्र प्रभु बैंक अनामनगर, नबिल बैंक तीनधारा दरबारमार्ग, सिटिजन्स बैंक कमलादी, माछापुच्छ्रे बैंक लाजिम्पाट, सनराइज बैंक गैह्रीधारा, सिद्धार्थ बैंक हात्तीसार, सानिमा बैंक नक्साल, सेञ्चुरी बैंक पुतलीसडक, प्रभु मनि ट्रान्सफर लैनचौर र सेवा रेमिट कुलेश्वरमा आवेदनका लागि छुटाइएको छ ।