‘नेपालमा कम्तीमा ६०.९ प्रतिशत जनसंख्यामा बैंकिङ पहुँच पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसमा लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारीबाट सेवा प्राप्त गर्ने जनसंख्यालाई समावेश गर्ने हो भने यो हिस्सा अझै बढ्छ ।’
गत एक वर्षमा बैंक तथा वित्तीय संस्थाका २ हजारभन्दा बढी शाखा थपिएका छन् । कुल ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३९ तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् । पछिल्ला दिनमा प्रतिबैंक शाखा जनसंख्या उल्लेख्य रूपले घट्दै गएको छ भने कुल जनसंख्याको हाराहारीमा बैंक तथा वित्तीय संस्थाको निक्षेप खाता संख्या पुग्ने अवस्थामा छ । यस पृष्ठभूमिलाई आधार मानेर राष्ट्र बैंकले वित्तीय पहुँचको स्थिति मापन गरेको जनाएको छ ।
वित्तीय पहुँच मापन गर्ने विभिन्न आधार हुन्छन । तीमध्ये बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता भएको जनसंख्यालाई वित्तीय पहुँचको एउटा मानकका रूपमा लिएको राष्ट्र बैंकले प्रस्ट्याएको छ । यसका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा रहेका नेपालीको तीनपुस्ते विवरणलाई विश्लेषण गरी एक व्यक्तिको एकभन्दा बढी रहेका खाता हटाएर एक व्यक्ति एक खाता मात्र अध्ययनमा समावेश गरिएको छ । ‘यसरी हेर्दा करिब १ करोड ८० लाख निक्षेप खाता संख्या देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो संख्या नेपालको कुल जनसंख्याको ६०.९ प्रतिशत हुन आउँछ ।’
नेपालमा वित्तीय पहुँच तीव्र रूपमा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धिसँगै एकातिर शाखा विस्तार र अर्कोतर्फ वित्तीय प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएकाले वित्तीय पहुँच विस्तार हुँदै गएको अध्ययनको निष्कर्ष छ । ‘बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३ हजार ३ सय पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘निक्षेप खाता संख्या उल्लेख्य वृद्धि भई २ करोड ७८ लाख र कर्जा खाताको संख्या १४ लाख ४० हजार पुगेको छ ।’ मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेबिट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको बताइएको छ ।
कान्तिपुरबाट