२०८३ साउन १० आइतबार

राष्ट्रिय बीमा संस्थानको जीवन बीमा अब मोबाइलबाटै

ई आर्थिक    बुधबार, असोज ८ २०७६
11.4K
Shares
राष्ट्रिय बीमा संस्थानको जीवन बीमा अब मोबाइलबाटै

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सेवा पनि प्रविधिमैत्री बन्दै गइरहेको छ । यसैक्रममा  संस्थाले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै प्राप्त हुन् भएको छ । पूर्णसरकारी स्वामित्वको नेपालकै पुरानो सो जीवन बीमा कम्पनीले बीमक र बीमितहरुका लागि उपयोगी हुने मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो ।

संस्थानले संविधान दिवसको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘राष्ट्रिय बीमा संस्थान’ नामक मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो ।

मोबाइल एप्सको सार्वजनिक गर्दै संस्थानका अध्यक्ष धनीराम शर्माले मोबाइल एप्लिकेशन सुरुवात मात्र रहेको बताउँदै भने– ‘यो एप सुरुवात मात्र हो । यसमा प्रयोगकर्ता, बीमित तथा बीमकको आवश्यकता र माग अनुसार नयाँ नयाँ सुविधाहरू पनि थप्दै लैजाने छौ ।’ मोबाइल एप्समा डिजिटल पेमेन्ट थप्नुका साथै उपभोक्ताले खोजेअनुरुपका अनलाइन सुविधा पनि सकेसम्म चाँडो ल्याउने प्रयास गर्ने उनको भनाई छ ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले नेपालकै अग्रणी तर सुस्त गतिमा चलिरहेको राष्ट्रिय बीमा संस्थानले अब आफ्नो गति तीब्र बनाएको बताए । जीवन बीमा व्यवसाय अघि बढाउने सन्दर्भमा संस्थानको गति तीब्र बनाइसकेका भन्दै उनले यो कार्यको थालनीसँग सँगै नागरिक लगानी कोष मार्फत आएको राष्ट्रिय सेवक कर्मचारीहरूको तीन लाख १८ हजार पोलीसीहरु एप्समा समावेश गरिसकेको जानकारी दिए ।

संस्थानका अभिकर्ता हरिशरण शिवाकोटीले संस्थानको मोबाइल एप्स संस्थान, अभिकर्ता र बीमितहरुबीचको कडीको रुपमा आएको भन्दै बीमाका योजना छान्नेदेखि बीमा गर्नेसम्मको प्रक्रियालाई छोटो बनाइदिएको बताए ।

बीमितलाई बीमा योजनाका बारेमा जानकारी दिने क्रममा क्याल्कुलेटर र किताब पल्टाउनुपर्ने झन्झटबाट पनि मोबाइल एप्सले मुक्त गरिदिएको उहाँले बताए ।

मोबाइल एप्समार्फत बीमा संस्थान र संस्थानका बीमा योजना बारेमा जानकारी लिन, बीमा गराउनका लागि संस्थानको कार्यालय धाउन नपर्ने भएको छ । नयाँ बीमा गराउन चाहने सर्वसाधारणले बैंक मार्फत भुक्तानी गरेर सोही एप्समार्फत नै प्रक्रिया अघि बढाउन सक्ने छन् ।

मोबाइल एप्सको प्रयोगबाट नयाँ ग्राहाकहरु (साउन एक गतेदेखि संस्थानमा संलग्न रहेका ग्राहकहरु) ले सेवा लिन सक्ने छन् भने पुराना ग्राहकहरुको विवरण यही आर्थिक वर्ष भित्रमा एप्समा अपलोड गरी सक्ने संस्थानको भनाई छ । एप्समा विवरण अपलोड गर्ने काम सकिए पश्चात् पुराना ग्राहकहरुलाई समेत युजर पासवर्ड उपलब्ध गराउने संस्थानको योजना रहेको छ ।

तत्कालका लागि एप्समा डिजिटल पेमेन्ट सिस्टम नरहेको र चाँडै नै प्रयोगमा ल्याउने र सोही मार्फत प्रिमियम भुक्तानी गर्न सकिने संस्थानले जनाएको छ । तत्काललाई भने रकम भुक्तानी गर्न बैंकमा रकम जम्मा गरेर भौचरको प्रयोग गरी भुक्तानी पुरा गर्न सकिने छ ।

केही समयका लागि एन्ड्रोइडका प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्ने गरी ल्याइएको मोबाइल एप्स पछि एप्पलका लागि पनि बनाइने संस्थानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij