काठमाडौँ । काठमाडौंको बत्तिसपुतलीमा मूख्य कार्यालय रहेको नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा हरिप्रसाद पाण्डे नियुक्त हुनुभएको छ । कार्तिक १४ गते बसेको सञ्चालक समितिले उहाँलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । पाण्डे यसअघि सोही संस्थाको मूख्य शाखा प्रबन्धककोको जिम्मेवारीमा सम्हाल्दै आउनुभएको थियो ।
सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव उहाँसँग रहेको छ । कामुको जिम्मेवारी पाएपछि पाण्डेले सेयरधनी र संस्थाको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘सहकारी संस्था व्यवस्थापन तथा सञ्चालनमा आफूसँग भएको विगतको अनुभवलाई अझ् जिम्मेवार र प्रभावकारी ढंगले सदुपयोग गर्छु’ उहाँले भन्नुभयो– ‘यस क्षेत्रमा आफूसँग भएको दुई दशकको अनुभव प्रयोगले पक्कै पनि संस्थाको उद्देश्य र लक्ष्यलाई पुरा गर्न सहयोगी हुनेछ ।’
संस्थाको सञ्चालक समितिले आफूलाई कामुको उक्त जिम्मेवारी दिएपछि उहाँले सञ्चालक समितिलाई धन्यवादका साथै आभार समेत व्यक्त गर्नुभएको छ ।
संस्थाको असोज ७ गते सम्पन्न २१औं बार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति गठन गरेको थियो । उक्त सभाले संस्थाका तत्कालिन कार्यकारी प्रमुखको जिम्मेवारी पाउनु भएका प्रबन्ध निर्देशक शिवप्रसाद सिटौलालाई अध्यक्षमा निर्वाचित गरेपछि संस्थामा कामुको जिम्मेवारी खाली रहेको थियो । सोही खाली रहेको पदमा संस्थाकै मूख्य शाखाका प्रबन्धक हरिप्रसाद पाण्डेलाई कामुको जिम्मेवारी दिइएको थियो ।
सहकारी क्षेत्रमा प्रतिष्ठित र परिचित रहेको यो संस्थाले गएको असोज ७ गते साधारणसभाकै दिन २१औं वार्षिकोत्सव मनाएको थियो ।