२०८३ भाद्र २९ सोमबार

रित्तिँदै हिमाल

ई आर्थिक    शनिबार, जेष्ठ ५ २०७५
7.6K
Shares
रित्तिँदै हिमाल
तापक्रम वृद्धिले खुम्बु ग्लेसियर बर्सेनि भत्कन थालेको छ, ग्लेसियर जति भत्किँदै गएको छ, आधार शिविर त्यति नै बढी जोखिममा पर्न थालेको छ

कुम्भराज राई, जेष्ठ ५, २०७५, ओखलढुंगा — सगरमाथा आधारशिविरमा बस्नेको कानमा रातभरि गडयाङगुडुङ आवाज गुन्जिने गर्छ । त्यो आवाज ‘खुम्बु ग्लेसिएर’ (हिम खाडल) भत्कँदाको हो ।

खुम्बु ग्लेसियर भत्किएर अहिले खोलाको रूप लिइसकेको छ । ‘ग्लेसियरमाथि जम्ने आइस चार वर्षअघिसम्म आरोहण सिजन सकिएर फर्किने बेला पग्लिन्थ्यो ।’ आधारशिविरमा बर्सेनि पुग्ने हिमालयन उद्धार संघका प्रबन्धक लाक्पानुर्बु शेर्पाले पुरानो अनुभव सुनाए, ‘केही वर्षदेखि आरोहण सिजन सुरु हुनुअगावै सबै हिउँ पग्लिएर बहने गरेको छ ।’सगरमाथाको फेदीमा रहेको खुम्बु आइसफल र नुप्त्सेको हयाङगिङ आइसबाट भत्केर आउने हिउँका ठूलठूला पहाड खुम्बु ग्लेसियरमा आएर ठोक्किन्छन् ।

हिमालमा तापक्रम वृद्धि भएकै कारण खुम्बु ग्लेसियर बर्सेनि भत्किएको अनुमान छ । ग्लेसियर जति भत्किने गर्छ, त्यति आधारशिविर जोखिममा पर्ने गरेको छ । गोरक्सेपदेखि आधारशिविरको बीचको दूरी डरलाग्दो बनेको छ । तलतिर खाडल भत्किने र माथिबाट ढुंगा झर्ने समस्या छ ।

‘पहिले हामी आधारशिविरकै छेउछाउ हुने हिउँका साना टाकुरा चढेर आरोहण अभ्यास गथ्र्यौं,’ सगरमाथा आरोही पेम्बा शेर्पाले भने, ‘अहिले सिजनका बेला त्यस्तो टाकुरा भेट्नै मुस्किल छ ।’ ठूलठूला हिउँका डल्ला हिमालबाट झरेर खुम्बु ग्लेसियरमा पसेपछि डरलाग्दो खाल्डो र खोला बन्न थालेको छ । तीन वर्षअघिको भूकम्पमा थुप्रै पर्यटकले टेन्टसँगै ग्लेसियरमा खसेर ज्यान गुमाएका थिए ।

आधारशिविरदेखि क्याम्प १ को बीचमा पर्ने ‘खुम्बु आइसफल’ पार गर्न आरोहीहरू प्राय: बिहान ४ बजेतिरै हिँड्ने गर्छन् । दुई दशकअघिसम्म दिउँसै हिँड्न सकिने यहाँ अहिले उज्यालो हुनेबित्तिकै हिउँ पग्लिने र चिप्लिने डरले सखारै पार गर्नुपर्ने बाध्यता छ । तिब्बत र सोलुखुम्बुको सिमानामा पर्ने ‘नाङपाला’ नजिकै एक दशकअघिसम्म ग्लेसियर देखिन्थे । केही वर्षयता ती ग्लेसियरले हिमतालको रूप लिएको छ । ‘ग्लेसियर वर्कस्’ नामक संस्थाले खाडलबाट बनेको हिमतालको तस्बिर र भिडियोसमेत सार्वजनिक गरिसकेको छ ।

उकालो सर्दै ‘हिमरेखा’
इसिमोडले सन् २००३ देखि २०१२ सम्म ‘हिन्द कुश हिमालय’ क्षेत्रअन्तर्गत चीन, भारत, पाकिस्तान, नेपाल र भुटानको चारवटा आधारक्षेत्र (बेसिन) मानेर हिमरेखाबारे अध्ययन गरेको थियो । चीन र नेपालको हिमाली क्षेत्रलाई ‘गण्डकी–कोसी बेसिन’ मानेर गरिएको अध्ययनमा यस क्षेत्रको हिमरेखा जाडोमा ५ हजार मिटरसम्म झरे पनि गर्मीमा ६ हजारभन्दा तल नरहेको जनाइएको छ । जुन हिमरेखा बिस्तारै उकालो सर्दै गएको हो ।

सगरमाथा फेद आसपास वा खुम्बु ग्लेसियर छेउछाउ बर्सेनि यसबारे अध्ययन हुने गरेको छ । गएको ५० वर्षमा १ सय ८० मिटर (५ सय ९० फिट) ले हिमरेखा घटेको छ । मिलान विश्वविद्यालय इटलीका लागि पीएचडी गर्ने क्रममा सुदीप ठकुरीले गरेको अध्ययनलाई लिएर बेलायतको डेलीमेलले सन् २०१३ मा प्रकाशित गरेको लेखमा यो तथ्यांक उल्लेख छ ।

७ हजार ६ सय मिटर लामो खुम्बु ग्लेसियर पग्लियो भने कत्रो हिमताल बन्ला, अनुमान निकै गाह्रो छ । पुराना तस्बिरहरू हेर्दा हिमखाडलहरू गहिरिने क्रम निरन्तर चलिरहेको छ । कुनै दिन खुम्बु ग्लेसियर हिमतालका रूपमा परिणत नहोला भन्न सकिन्न ।

गोक्योमा होटल व्यवसाय गर्दै आएका पासाङछिरिङ शेर्पा आफैंले सानोमा खेल्ने गरेका चौर अहिले ग्लेसियर बनिसकेको बताउँछन् । ‘हेर्दाहेर्दै यति ठूलो ग्लेसियर बनिसक्यो कि हामीलाई समेत डर लाग्न थालिसक्यो,’ उनले भने, ‘मेरै पुस्ताले सेताम्मे देखेका साना हिमाल अहिले ढुंगाको पहाडमा सीमित भइसकेका छन् ।’

खुम्जुङ गाउँलाई काखैमा राखेर उभिएको ‘खुम्बिहयुला’ मा अहिले हिउँदमा समेत हिउँ देख्न कठिन छ । स्थानीय बूढापाकाका अनुसार ५० वर्षअघिसम्म ‘खुम्बिहयुला’ मा सेताम्मे हिउँ हुने गथ्र्यो । हिउँ शुद्ध पानीको स्रोतसमेत हो । विज्ञहरूका अनुसार हिउँ पग्लिने क्रम जति बढ्छ, त्यति तापक्रममा घटबढ हुने गर्छ । यो घटबढीकै कारण वर्षा अनियमित हुन्छ । हिमालदेखि पहाड हुँदै तराईसम्मको भिरालो भूभाग भएकाले नेपालमा बढी वर्षा भएर पहिरो जाने वा खडेरी परेर पानीको काकाकुल हुने अवस्था बढदै गएको अनुमान गर्न सकिन्छ ।

जोखिम तराईसम्मै
हिउँ पग्लिने क्रम बढेकै कारण हिमतालहरू जोखिममा छन् । च्छो रोल्पा र इम्जा त्यसैका उदाहरण हुन् । बिस्तारै अन्य हिमतालको जोखिमसमेत बढदै गएको छ । पर्यटन मन्त्रालयका अनुसार नेपालमा ६ हजार मिटरभन्दा अग्ला १ हजार ३ सय १० भन्दा बढी हिमाल छन् । जुन नेपालको उत्तरतर्फ पूर्वदेखि पश्चिमसम्म फैलिएको छ ।

नेपालको चौडाइ करिब २ सय किलोमिटरले मात्र फैलिएको छ । कुनै पनि हिमताल फुट्यो भने हिमतालबाट बगेर जाने नदी आसपासको बस्ती हिमालदेखि तराईसम्मै बगाउने जोखिम हुन्छ । हिमतालमा जमेको पानी कति छ भन्ने यकिन गर्न गाह्रो हुन्छ । हिमालमा हिउँ पग्लिने समस्याले तराईसम्मको जनजीवनमा असर पार्ने डब्लूडब्लू एफ नेपालका वरिष्ठ निर्देशक सन्तोष नेपालले बताए ।

‘हाम्रो जमिन भिरालो छ । हिमताल फुट्यो भने त्यसले हिमालदेखि तराईसम्मै क्षति पुर्‍याउँछ,’ उनले भने, ‘त्यसैले सकेसम्म हामीले प्राकृतिक स्रोतहरूको संरक्षण गरी जलवायु अनुकूलनका लागि काम गर्नुको विकल्प छैन ।’ तुलनात्मक हिसाबले हिमाली क्षेत्रमा हिउँ पर्नेक्रम घटेपछि आलु खेतीमा समेत असर पर्ने गरेको स्थानीयको भनाइ छ । पर्यटनका दृष्टिले हिमालहरूमा हिउँ रित्तिँदै जाने हो भने पर्यटकसमेत घट्ने अवस्था आउँछ ।

विश्वमा बढ्दै गएको तापक्रमले सबैभन्दा पहिलो असर हिमालमा पर्ने गरेको छ । यस्तो असरले नेपालजस्तो भूगोल भएको देशलाई ठूलो असर पर्ने विज्ञहरूको भनाइ छ । विकसित देशको तुलनामा कार्बन उत्सर्जन कम गरे पनि जलवायु परिवर्तनको बढी मार नेपालले व्यहोर्नुपरेको छ ।

पानी नपर्ने र हिउँ मात्र पर्ने मनाङ, मुस्ताङजस्ता ठाउँमा पानी पर्न थाल्नु त्यसैको उदाहरण हो । सुक्खा र भिरालो जमिन भएका भूगोलहरूमा जति पानी पर्न थाल्छ, भूक्षयको खतरा बढ्छ । जसले बस्तीहरू विस्थापित हुने खतरा हुन्छ । यसरी हिउँ पग्लिने क्रम जारी रहने हो भने अबको एक शताब्दीपछि हाम्रा हिमाल कालो पहाडका रूपमा मात्र परिणत नहोलान् भन्न सकिन्न ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij