२०८३ साउन ९ शनिबार

नयाँ सहकारी ऐन चाँडै ल्याइने: मन्त्री बस्नेत

ई आर्थिक    आइतबार, भाद्र ४ २०७४
7.2K
Shares
नयाँ सहकारी ऐन चाँडै ल्याइने: मन्त्री बस्नेत

४ भदौ, काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले नयाँ सहकारी ऐन छिटै आउने बताएकी छिन् ।

शनिबार पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारणसभाको प्रमुख अतिथिको रुपमा बोल्दै उनले सहकारी ऐन २०४८ ले सहकारीका वर्तमान समस्या समाधान नहुने भन्दै उनले चाँडै नयाँ ऐन ल्याइने उल्लेख गरिन् । नयाँ ऐनले सहकारीमा देखिएका वर्तमान समस्यालाई समाधान गर्न सहयोग पुग्ने उनको विश्वास थियो । गरिबीका रेखामुनि रहेका मानिसको आर्थिक सुधारको माध्यम सहकारी भएको र सोही अनुसार राज्यले नीति निर्माण गरेको भन्दै उनले सबैपक्ष जिम्मेवार भएर गरिबी निवारण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाको काममा लाग्न जोड दिइन् ।

कार्यक्रममा विशिष्ट अतिथि एवं नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले ६२ लाख मानिस सहकारीमा आवद्ध रहेको, ७५ वटै जिल्लामा सहकारीको पहुँच पुगेको र ३४ हजार सहकारी संस्थाको कुरा गरेपनि वास्तविक रुपमा म सहकारीको सदस्य हुँ भन्ने बातावरण सिर्जना नहुँदासम्म यसले कुनै अर्थ नराख्ने बताए । सहकारीप्रति सदस्यहरु सुनिश्चित हुनसके मात्र अभियान सफल हुनेमा उनको जोड थियो । सदस्यहरु सहकारीप्रति सुनिश्चित नहुँदा मुलुकभरको १५ प्रतिशत पूँजी मात्र सहकारीमार्फत परिचालन हुन सकेको भन्दै सहकारीप्रति सदस्यको विश्वास बढाउन सके पूँजी परिचालन स्वतः बढ्ने उनले उल्लेख गरे ।

कार्यक्रमका विशिष्ट अतिथि एवं पूर्व रजिष्ट्रार सुदर्शन प्रसाद ढकालले अब आउने ऐनले वित्तीय सेवा विविधिकरणमा ध्यान दिनुपर्ने, सहकारीलाई सरकारी हस्तक्षेपबाहिर राख्नुपर्ने, सहकारीको वृद्धिलाई बाधा पु¥याउन नहुने, कारोबारको सुरक्षा गर्नुपर्ने, बचतऋणको नियमन राष्ट्र बैंक र अन्य सहकारीको नियमन सरोकारवाला निकायले गर्नुपर्ने बताए । मुलुक संघीयतामा गइसकेकाले स्थानीय तह, प्रदेश र केन्द्रलाई मध्यनजर गरेर ऐन बनाउनुपर्ने समेत उनले सझाए ।

काठमाडौं बचत तथा ऋण सहकारी संघका अध्यक्ष केशवप्रसाद दंगालले संख्यात्मक रुपमा सहकारीको वृद्धि भएपनि गुणस्तरमा वृद्धि हुन नसकेको र दिगो विकास लक्ष्यप्राप्तिका लागि सहकारीले धेरै काम गर्न बाँकी रहेको बताए । सहकारी ऐन समयसापेक्ष आउनुपर्नेमा जोड दिँदै उनले नयाँ ऐनले सहकारीका लागि सबै ढोका खोल्नुपर्ने उल्लेख गरे ।

जिल्ला सहकारी संघ काठमाडौं क्षेत्र नं २ का संयोजक नेत्रप्रसाद धितालले दुई नम्बर क्षेत्रमा पाँचतारा दोश्रो ठूलो संस्था रहेको बताउँदै सामाजिक उत्तरदायित्वबहन र करमा समेत ठूलो योगदान पु¥याएको चर्चा गरे । संस्था प्रगतिको पथमा अगाडि बढेकाले यसलाई कायम राख्न सञ्चालकहरु चनाखो भएर लागिपर्न उनले सुझाव दिए ।

संस्थाका अध्यक्ष एवं कार्यक्रममा सभापति भोलानाथ पाठकले पाँचतारा साकोस समुदायको हरेक क्रियाकलापमा संलग्न हुँदै आएको बताए । विश्व आज प्रविधिमा अगाडि बढेकाले प्रविधिको उपयोग गर्दै साधारणसभाको मोडालिटीमा पनि परिवर्तन गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । सहकारीलाई सधैं ठग्ने र ठगी गर्ने संस्थाको रुपमा चित्रण गर्नुभन्दा पनि सहकारीमार्फत भएका उपलब्धीलाई बिर्सन नहुनेमा उनको जोड थिए । स्वायत्तता र स्वनियमनमा चल्ने संस्थाको रुपमा सहकारीलाई परिभाषित गरेपनि सहकारीमाथि हस्तक्षेप हुने गरेको, सामाजिक कार्यक्रमा खर्च गरेको रकममा समेत कर छुट नदिएको र अन्य कोषहरु खडा गर्न नपाउने व्यवस्थाले सहकारीहरु अप्ठेरोमा परेको भन्दै यी सबै कुराको सम्बोधन अब आउने ऐनले गर्नुपर्ने उनले बताए ।

सभाले सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । संस्थाले गत आव २०७३÷७४ को असार मसान्तसम्म ५ करोड १३ लाख ५३ हजार शेयरपूँजी, ३४ करोड ५७ लाख बचत संकलन र ४० करोड २९ लाख कर्जा लगानी रहेको छ । संस्थाले ४८ लाख ८१ हजार आयकर वापत सरकारलाई बुझाएको छ भने १ करोड ९५ लाख २७ हजार खुद नाफा आर्जन गर्न संस्था सफल भएको छ ।

संस्थाका सचिव लोचनहरि प्रसाईंले सञ्चालन गरेको सभामा संस्थाका प्रथम उपाध्यक्ष किरणप्रसाद पौडेलले स्वागत मन्तब्य दिएका थिए । संस्थामा २ हजार ४ सय भन्दा बढी सदस्य आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij