२१ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले काकडभिट्टा झापाबाट सञ्चालनमा रहेको नेपाल बहुदेश्यीय सहकारी संस्थालाई यसअघि दिइएको सिमित बैंकिङ कारोबार गर्ने इजाजत रद्द गरेको छ । संस्थागत सुशासन विपरितका गतिविधि सञ्चालन गरेको पाइएपछि इजाजत रद्द गरेको राष्ट्र बैंकले जनाएको छ ।
सहकारीले ओभरड्राफ्ट कर्जा दिएको, नियम विपरित एकाघर परिवारका सदस्यहरुलाई कर्जा लगानी गरेको, संस्थाको प्रबन्ध निर्देशकले आफ्नो अचल सम्पत्तिको धितोमा कर्जा दिइएको भन्दै राष्ट्र बैंकले इजाजत रद्द गरेको हो ।
संस्थाले राष्ट्र बैंकको स्वीकृति विना शाखा खोली संचालन गर्ने, अन्य सहकारी संस्थालाई आफुमा गाभ्ने, संस्थागत निक्षेप पनि लिने गरेर संस्थागत सुशासन विरद्धको काम गरेको, बिना कुनै नीति तथा योजना अन्य व्यवसाय संचालन गर्ने जस्ता सुशासन विपरितका गतिविधि संचालन गरको राष्ट्र बैंकको ठहर छ ।
साथै राष्ट्र बैंकले सोधेको स्पष्टिकरणको चित्त बुझ्दो जबाफ नपाईएपछि राष्ट्र बैंक ऐन अनुसार उक्त संस्थाको सीमति बैकिङ कारोबार इजाजत खारेज गरेको जनाएको छ ।
२०५० साल फागुनमा सहकारी ऐन २०४८ बमोजिम जिल्ला सहकारी कार्यालय झापामा दर्ता भएको संस्थाले २०५२ मंसिरमा राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने इजाजत पाएको थियो ।