७ चैत, काठमाडौं । कुमारी बैंकले ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले चैत ६ गते (आइतबार)देखि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत (अर्थात २ बराबर १ को अनुपातमा) एक करोड ३४ लाख ९५ हजार ८३२ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो ।
बैंकले फागुन २० गतेदेखि बुक क्लोज गरी चैत ९ गतेका लागि साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।
बैंकको हकप्रदमा लगानीकर्ताले बैशाख १० गतेसम्ममा आवेदन दिन सक्ने बैंकले जनाएको छ । फागुन १९ गतेसम्म कायम बैंकका सेयरधनीले मात्रै हकप्रदमा आवेदन गर्न पाउनेछन् ।
हाल कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ३२४ रुपैयाँमा कारोबार भएको थियो ।
पचास प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पूँजी तीन अर्ब २६ करोड ५९ लाख रुपैंया पुग्ने छ ।
कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्नेछ ।