शालीन, हँसिली एवं धैर्यशील सुष्मा श्रेष्ठ दिनहँु नयाँ–नयाँ डिजाईनका गरगहना बनाउन व्यस्त हुन्छिन् । उनले बनाएको गरगहना हामीले दैनिक लगाउने भन्दा धेरै फरक छ । किनभने उनले बनाउने गरगहना सुन या कुनै धातुको नभई कागजको हो । नेपाली कागज ‘लोक्ता’ बाट उनले वाटर प्रुफ गरगहना बनाउँछिन ।
२०६९ सालबाट आफ्नै व्यवसाय खोलेर उद्यमी बनेकी सुष्माले हात्ते कागज सम्बन्धी बिभिन्न सामानहरु उत्पादन गर्दै आएकी छिन् । दोलखाको जिरीमा जन्मेकी, हुर्केकी उनलाई अहिले सुष्मालाई सुष्मा हेन्डीक्राफ्टको नामबाट पनि धेरैले चिन्छन् । नेपाली कागजको उत्पादनमा भविष्य देखेकी उनले यसै पेसामा आँफैले ट्रेनिङ दिई काम सिकाएर १५ जना महिलाहरुलाई समेत रोजगारी दिएकी छिन् । सुष्मा भन्छिन्– ‘अहिले घरेलु उद्यममा महिलाहरुको उल्लेख्य संख्या छ । सरकारले ग्रामीण र सहरी गरिब महिलालाई उद्यमी बनाउने उद्यमशिलमुलक कार्यक्रम ल्याउने हो भने उनीहरू बाध्य भएर वैदेशिक रोजगारमा जानु पर्दैन र दलालबाट ठगिने र शोषणमा पर्ने जोखिम पनि हटेर जान्छ । वैदेशिक रोजगारमा गएर अलपत्र अवस्थामा फर्किन बाध्य महिलाको समाचार धेरै आएको छ । ती महिलाहरुलाई उद्यममा उत्प्रेरित गर्न सके उनीहरूको सामाजिक पुनस्थापन सहज हुन्छ । आर्थिक रूपमा आत्मनिर्भर हुन थालेपछि समाजमा उनीहरू सम्मानित जीवन बाँच्न सक्छन् ।’

नेपालको युवाहरु वैदेशिक रोजगारीमा जानुको प्रमुख कारण बेरोजगारी र शिप नहुनु बताउने उनले सरकारले उद्यमशिलमुलक कार्यक्रम ल्याउने गरेको तर प्रचार-प्रसारको कमीका कारण धेरैलाई त्यस्को बारेमा थाहै नभएको बताउँछिन । सानो लगानीबाट सुष्मा हेन्डीक्राफ्ट नामबाट आफ्नो व्यवसाय सुरु गरेकी सुष्मा अहिले धेरै महिलाहरुको प्रेरणाकी स्रोत बनेकी छिन् ।
अहिले विश्वभर वातावरणमैत्री उत्पादनहरुको प्रबद्र्धनलाई महत्व दिइरहेको अवस्थामा यसरी नयाँ र क्रियाशिल हाते उत्पादन गदै आएकी सुष्मा यस् क्षेत्रमा कसरी लागिन ?, कसरी काम गरिरहेकी छिन ? उनका उत्पादनहरु के–के छन् ? अन्तर्वार्ताको क्रममा यसरी वताईन् ।

नेपाली कागज ‘लोक्ता’को सामाग्रीहरु बनाउने आइडिया कसरी आयो ?
२०६७ सालमा एफएनसीसीआई, मेडअप, स्विस एसियाको प्रोजेक्टद्वारा दोलखाको जिरिमा ट्रेनिङ दिईएको थियो । जसमा मैले पनि भाग लिने मौका पाएको थिए । त्यो २८ दिनको ट्रेनिङबाट मैले धेरै कामहरु सिके । त्यसबेला काम त सिके तर तेस्लाई निरन्तरता दिन सकिन र २०६८ साल त्यतिकै भयो । र, २०६९ मा मैले घरेलुमा सुष्मा हेन्डीक्राफ्ट नाममा कम्पनी दर्ता गरे र अहिले तेसैलाई निरन्तरता दिदै आएको छु ।
सुष्मा हेन्डीक्राफ्टले नेपाली कागजबाट कस्तो–कस्तो समान उत्पादन गर्छ ?
सुष्मा हेन्डीक्राफ्टले वातावरण मैत्री सामान उत्पादन गर्छ । यसले स्वास्थ्यलाई कुनै असार गर्दैन । त्यसमा लोक्ताको कागजबाट बनेका सामानहरु जस्तै, बिशेष त नेपाली कागजबाट बनाईएको वाटरप्रुफ गरगहना छन् । यो वातावरण मैत्री हुनुको साथसाथै हलुका छ । त्यसैले पनि यसलाई सबैले मन पराएका छन् । त्यस बाहेक नेपाली कागजबाट बनेका डाईरी, फाईल, सजावटका सामाग्री, टोपी, ह्याटलगायतका सामानहरु छन् । यी सामानहरुको माग बिशेष गरेर एनजिओ, आएनजिओ, कर्पोरेट हाउसलगायतले अर्डर गर्ने गरेका छन् ।
यी सबै उत्पादनहरुलाई बजारसम्म कसरी पु-याईरहनु भएको छ ?
हामीले यि सामानहरु प्रि–अर्डर लिएर भनेकै समयमा पु-याईरहेका छौ।साथै पर्सनल रिलेसनमा बिदेशतिर पनि गैरहेको छ । त्यस बाहेक साथीभाईहरुले यही अर्डर गरेर पनि आफ्ना पसलहरुमा बेच्नका लागी लग्नुहुन्छ । साथै बिभिन्न एक्स्पोहरुमा भाग लिएर पनि यि प्रोडक्टहरुको प्रबर्धन गरिरहेको छु ।

सुष्मा हेन्डीक्राफ्टले महिलाहरुलाई कसरी रोजगारी कसरी दिरहेको छ ?
यो व्यवसाय अहिले सानै छ । यसलाई बिस्तारै बढ्दैछ । मैले हालसम्म ३० जना भन्दा बढीलाई नै आफंैले ट्रेनिङ दिएर शिप सिकाएको छु । त्यसमध्य १५ जना लाई आँफैले रोजगारी समेत प्रदान गरेको छु । प्रोडक्टको माग अनुसार कामदार बढ्ने हो । अहिले घरेलु उद्यममा महिलाहरुको उल्लेख्य संख्या छ । सरकारले ग्रामीण र सहरी गरिब महिलालाई उद्यमी बनाउने उद्यमशिलमुलक कार्यक्रम ल्याउने हो भने उनीहरू बाध्य भएर वैदेशिक रोजगारमा जानु पर्दैन र दलालबाट ठगिने र शोषणमा पर्ने जोखिम पनि हटेर जान्छ । वैदेशिक रोजगारमा गएर अलपत्र अवस्थामा फर्किन बाध्य महिलाको समाचार धेरै आएको छ । ती महिलाहरुलाई उद्यममा उत्प्रेरित गर्न सके उनीहरूको सामाजिक पुनस्र्थापन सहज हुन्छ । आर्थिक रूपमा आत्मनिर्भर हुन थालेपछि समाजमा उनीहरू सम्मानित जीवन बाँच्न सक्छन् । ती महिलाहरुलाई पनि आत्मनिर्भर बनाउनेमा म हरपल तत्पर छु ।

यस्ता नेपाली उत्पादनमा देखिने समस्याहरु के–के हुन ?
यी प्रोडक्टहरु हातले बनाइने हुँदा समय बडी लाग्छ । एक जनाले एउटा गहना सेट बनाउन कम्तिमा पनि तीन दिन लाग्छ । त्यस्तै डाईरीहरु हामीले प्रतिदिन दुई सय पिस उत्पादन गर्छांै । अर्को समस्या भनेको यसको बजारिकरण हो । सरकारले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने क्रममा अझै चुकेको जस्तो लाग्छ । हामीले यस्ता नेपाली प्रोडक्टहरु बिदेशमा निर्यात राम्रोसँग गर्न अझ सकेका छैनौं ।
भाबी योजना के छ ?
यही ब्यवसायलाई अगाडि लैजानेछु । यसै क्षेत्रमा दिदीबहिनीहरुलाई शिपमुलक तालिम दिदै रोजगारीको अवसर सिर्जना गर्नेछु। नेपालमै ब्यवसाय र रोजगारीको थुप्रै अवसरहरु छन् । त्यसैले सबैलाई आफ्नै देशमा केही गरौ भन्न चाहन्छु ।

