१८ माघ, काठमाडौं । निरन्तर उच्च अंकले झरेको सेयरबजार मंगलबार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन ६५ अंकले बजार घट्दा एकदिनमा ७४ अर्ब बराबरको सम्पत्ति गुमाएका लगानीकर्ताले मंगलबार १६.९ अंकले बजार बढ्दा ४५ अर्ब रुपैयाँले सम्पत्ति बढाएका छन् । सोमबार १४ खर्ब ७३ अर्बमा झरेको बजार पूँजीकरण मंगलबार १४ खर्ब ९२ अर्बमा पुगेको छ ।
मंगलबार कारोबार सुरु भएको एक घण्टासम्म लगातार बढेर १३३५ अंकसम्म पुगेको बजार अन्ततः १३२६.६० अंकमा बन्द भएको हो । बीमा र अन्य समूहबाहेक मंगलबार कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै होटल समूह १०९.७ अंकले बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक क्रमशः २५.४४, ३.३२, १३.१५, ९.२ र १९.८२ अंकले बढेका छन् । बीमा र अन्य समूह भने क्रमशः २८.४२ र ०.२९ अंकले घटेका छन् ।
परिसूचक बढेपनि कारोबार रकम स्थिरजस्तै छ । दिनभरिमा १३७ वटा कम्पनीको १६ लाख ४९ हजार सात सय ९८ कित्ता सेयर चार हजार तीन सय ९५ पटक खरिदविक्री भएका छन् ।
यसरी सेयर बजार बढ्नुले के संकेत गर्छ ?
बजारमा कारोबारमा आएका अधिकांस सूचकहरु सकारात्मक रहेपछि बजार दोहोरो अंकले उकालो लागेको हो । वित्त बजारमा देखिएको तरलताको अभाव लामो समयसम्म नरहने संकेत मिलेपछि बजारको रुप फेरिएको हो ।
बैंक तथा वित्तीय संस्थामा कर्जा योग्य रकमको अभाव तथा बैंक ब्याजदरमा आएको वृद्धि लगायतले ओरालो लगेको बजारमा कर्जा योग्य रकमको अभाव लामो समयसम्म नरहने संकेत मिलेपछि सुधार देखिएको हो ।
नेपाल लाइफको एफपीओमा परेको ५२ अर्ब बराबरको रकम र राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ बजारमा पठाएपछि यसले पनि बजार सुधारउन्मुखक देखिएको हो ।