२०८३ साउन ११ सोमबार

अबको विकासको मोडेल

ई आर्थिक    सोमबार, पौस ११ २०७३
14.3K
Shares
अबको विकासको मोडेल

शिक्षा र स्वास्थ्यमा ठुलो मात्रामा व्यापारीकण भएको छ र त्यहाँबाट  ठुलो मात्रामा लगानी कर्ताले कमिसन प्राप्त गरिरहेका छन् । कृषि, पर्यटन र साना उद्योगहरूले मात्र राष्ट्रिय उत्पादनलाई अगाडि बढाएका छन् । राष्ट्रिय खर्चको मुख्य स्रोत वैदेशिक रोजगारीबाट प्राप्त आम्दानी भएको छ । यी सबै आर्थिक सूचकाङ्कहरूले के देखाउँछन् भने नेपालमा दलाल र नोकरशाही पुँजीवादको बोलावाल छ ।

बामदेब गौतम

२०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २,६४,९४,५०४ रहेको छ । यस जन गणनाले करिव १ करोड १७ लाख जनसङ्ख्या ज्यालादारी श्रममा संलग्न रहेको देखाएको छ । त्यस्तै श्रमशक्ति मध्ये निजामती कर्मचारी, शिक्षक, प्राध्यापक, सेना र प्रहरी आदिमा रहेकाहरूको सङ्ख्या करिब ७ लाख छ भने सङ्गठित निजी क्षेत्रमा करिव १६ लाख र वैदेशिक रोजगारीमा करिब ४० लाख सङ्ख्या रहेको छ । एक तथ्यांक अनुसार ६० प्रतिशत परिवारका सदस्य वैदेशिक रोजगारीमा संलग्न छ । यसका साथै भारतका विभिन्न भागमा आफ्नो श्रमशक्ति बेचेर जीवन निर्वाह गर्ने नेपालीहरूको सङ्ख्या करिव ४० लाख रहेको अनुमान गरिएको छ । यसलाई हेर्दा ज्यालादारी श्रम (शारीरिक तथा मानसिक) मा आधारित भई जीवन निर्वाह गर्नेहरूको सङ्ख्या करिव ८० प्रतिशत रहेको छ । कृषिमा आश्रित हुनेहरूको सङ्ख्या कुल जनसङ्ख्याको २२ प्रतिशतभन्दा बढी देखिदैन । यसले के जाहेर गर्दछ भने नेपाली समाज सामन्ती तथा अर्ध सामन्ती उत्पादन पद्धतिमा होइन, पुँजीवादी उत्पादन पद्धतिमा र सामन्ती उत्पादन सम्बन्धमा होइन, पुँजीवादी उत्पादन सम्बन्धमा बाँधिएको छ र नेपाली समाज पुँजीवादी समाजमा परिणत भएको छ ।

राज्यसत्ताले आम रूपमा पुँजीवादी उत्पादन पद्धतिलाई संरक्षण र विकास गरिरहेको छ । जनताले प्राप्त गरेका राजनीतिक अधिकारहरू पनि पुँजीवादी नै छन् । समाजमा रहेका सबै जाति, भाषा, धर्म, संस्कृति र यस क्षेत्रका बिच रहेका विभेद कानुनतः समाप्त भएका छन् । शिक्षा, स्वास्थ, मनोरञ्जन र रोजगारीका अधिकारहरू सबै पुँजीवादी  छन् । पुँजीवाद सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा हिमाल, पहाड, तराईका सबै गाउँ, ठाउँ र कुना काप्चामा पुगेको छ । नेपालमा पुँजीवाद नपुगेको र पुँजीवादीकरण नभएको कहीँ छैन । अब नेपाली समाजको चरित्र पुँजीवादी भएको छ ।

अहिले कतैकतै पाइने सामुदायिक उत्पादनहरू पूर्व सामन्ती उत्पादन प्रणालीका अवशेष मात्र हुन् । भूदासहरूका श्रममा आधारित कृषि व्यवस्था पूर्ण रूपले समाप्त भएको छ । अवैतनिक श्रमको ठाउँ ज्यालादारी श्रमले लिइसकेको छ । पैसाले खरिद गरिएको श्रमशक्तिलाई प्रयोग गरी अतिरिक्त मूल्य उत्पादन गर्ने प्रणाली पुँजीवाद हो । अहिले स्वतन्त्र किसान, स्वतन्त्र कारिगर तथा व्यवसायी कसैले पनि गरेको उत्पादनले अतिरिक्त मूल्य उत्पादन गर्न बाध्य गरेको छ । वैदेशिक रोजगारीबाट प्राप्त हुने रकम पनि पुँजीवादी उत्पादन अन्तर्गत प्राप्त हुन्छ । मानसिक श्रम गर्नेहरूले त सबभन्दा धेरै अतिरिक्त मूल्य उत्पादन गर्दछन् र सानो हिस्सा मात्र पारिश्रमिकका रूपमा प्राप्त गर्दछन् । ज्यालामा काम गर्ने, आफ्नै स्वतन्त्र व्यवसाय गर्ने तथा मानसिक श्रमशक्ति मालका रूपमा विक्री गरेर बाँच्न पर्नेहरूको सङ्ख्या देशमा करिब ८० प्रतिशत छ । सामन्ती उत्पादन पद्धति नरहेपछि सामन्त वर्ग पनि अस्तित्वमा रहेको छैन तर भूतपूर्व सामन्तका रूपमा कतिपय व्यक्तिहरू देखिन सक्छन् ।

अहिले नेपाली समाजको वर्गीय संरचनामा समेत परिवर्तन भएको छ । यहाँ अहिले पुँजीपति वर्ग र श्रमजीवी वर्ग मात्र छन् । पुँजीपति वर्गमा दलाल, नोकरशाही र राष्ट्रिय पुँजीपति गरी तिन प्रकारका वर्ग रहेका छन् । पुँजीपति वर्गको त्यो हिस्सा जसले कानुन र प्रक्रियाहरूलाई दुरुपयोग गर्दै राष्ट्रिय लगानीलाई अनुत्पादक क्षेत्रमा प्रवाहित गर्दछ र कमिसनका रूपमा आम्दानी प्राप्त गर्दछ, त्यो दलाल पुँजीपति वर्गमा पर्दछ । पुँजीपति वर्गको त्यो हिस्सा जसले तस्करी, कमिसनखोरी, कालोबजारी, कर छली आदिबाट पुँजी आर्जन गर्दछ त्यो वर्ग नोकरशाही पुँजीपति वर्गमा पर्दछ । राष्ट्रिय पुँजीपति वर्ग मात्र राष्ट्रवादी चरित्रको पुँजीपति वर्ग हो । यसले प्रत्यक्ष उत्पादन र पुनरुत्पादनका क्षेत्रमा लगानी गर्छ, कानुनको पालना गर्दछ, राष्ट्रिय हितलाई ध्यानमा राख्दछ र विदेशी पुँजी लगानी भित्र्याउँदा पनि राष्ट्रिय हितको पक्षमा खडा हुन्छ । नेपाली श्रमजीवी वर्ग पनि तिन हिस्सामा विभाजित छ । एउटा शारीरिक श्रम गर्ने हिस्सा जसले आफ्नो श्रमशक्तिको प्रयोग ज्याला वापत पुँजीपतिका निम्ति अतिरिक्त मूल्य उत्पादन गर्न बाध्य छ । दोस्रो मानसिक श्रम गर्ने हिस्सा जसले आफ्नो बौद्धिक क्षमता विभिन्न संस्थाहरूलाई विक्री गर्दछ र संस्थापनका निम्ति अतिरिक्त मूल्य उत्पादन गर्छ । तेस्रो त्यस्तो श्रमशक्ति जुन स्वतन्त्र किसान, स्वतन्त्र कारिगर, लघु उद्यमी तथा व्यवसायीहरू हुन् जसले आफ्नो कारोबार आफै सञ्चालन गरेका हुन्छन्, उत्पादक सहकारीहरू पनि त्यस्तै श्रमजीवीमा नै पर्दछन् । परिवर्तित वर्गीय संरचनाको निष्कर्ष के हो भने नेपाली समाज अब अग्रगामी हुनु अनिवार्य छ । यसको अग्रगमन समाजवाद उन्मुख नै हुने छ, यिनीहरू सबैले बजारसम्म पुग्दा आफ्नो कमाइलाई कमिसनका रूपमा विभिन्न ठाउँमा छाड्दै जानुपर्छ । समाजवाद उन्मुख सामाजिक आर्थिक रूपान्तरणबाट दलाल र नोहरशाही पुँजीवाद समाप्त हुने छ र त्यसपछि श्रमजवीवी वर्ग र राष्ट्रिय पुँजीवाद मात्र देशमा रहने छन् । त्यस्तो अवस्थामा राष्ट्रिय पुँजीवाद नयाँ र नमुना समाजवादको सहयोगी शक्तिका रूपमा नै कायम रहने  छ ।

माथि उल्लेखित पृष्ठभूमिमा अब विकासको कुन नमुना नेपाली समाजको समृद्धिका लागि उपयोगी हुन सक्ला ? अब नेपाली समाजले पक्रने दिशा पुँजीवाद हो कि समाजवाद ? यी अहिलेका मुख्य प्रश्न बनेका छन् । करिब ८० प्रतिशत जनसङ्ख्या श्रमजीवी वर्ग भएको र लगभग ८० वर्ष पहिलेदेखि पुँजीवादी उत्पादन पद्धति आरम्भ भएको नेपाल राष्ट्रले अव पुँजीवाद होइन, नेपाली विशेषताको समाजवादको नमुना नै अवलम्बन गर्नु पर्दछ । यस अन्तर्गत सार्वजनिक, सामूहिक, सहकारी, निजी र सार्वजनिक निजी साझेदारी अर्थतन्त्रलाई दृढतापूर्वक अवलम्बन गर्नु पर्दछ । बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली भएको राज्य व्यवस्था अवलम्बन गर्नु पर्दछ । दलाल र नोकरशाही पुँजीवादलाई उन्मूलन गर्दै राष्ट्रिय पुँजीवादलाई व्यापक रूपमा बढावा दिनु पर्दछ । नेपालको आफ्नो राष्ट्रिय हितलाई प्रोत्साहन हुने गरी विदेशी लगानीलाई भित्र्याउनु पर्दछ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको उत्तरी छिमेकी चिन र विश्वको दसाँैे ठुलो अर्थतन्त्र भएको दक्षिणको छिमेकी भारतका बजारमा पहुँच स्थापित गरी अगाडि बढ्ने कामलाई प्राथमिकतामा राख्नु पर्दछ तर दलाल पुँजीवादको बोलावाल कायम रहिरहने अवस्थामा भने यी दुई अर्थतन्त्रले नेपाललाई नै समाप्त गर्न सक्ने खतरालाई बिर्सन हुन्न । हामीले नेपाली समाजको सामाजिक, आर्थिक अवस्था एसियाका विकसित देशको दाँजोमा पुर्याउने उद्देश्य राख्नु पर्दछ ।

यसका लागि सामाजिक, सांस्कृतिक  रूपले उच्च, आर्थिक रूपले समृद्ध र राजनीतिक रूपले स्वस्थ बहुदलीय प्रतिस्पर्धाले युक्त समाजको निर्माण नै नेपाली नमुनाको समाजवाद सबभन्दा उपयुक्त हुने छ । किनभने नेपाली समाज पूर्ण रूपले पुँजीवादीकरण भए पनि त्यसमा दलाल तथा नोकरशाही पुँजीवादको वोलावाला रहेको देखिन्छ । मुलुकमा ठुलो सङ्ख्यामा खुलेका वाणिज्य बैंक, वित्तीय संस्था तथा बचत तथा ऋण सहकारीहरूले अनुत्पादक क्षेत्रमा गरेको लगानीले दलाल पुँजीवाद फस्टाएको छ । अनुत्पादक क्षेत्रमा निजी क्षेत्रकै लगानी रहेको छ । रियलस्टेट, घरजग्गा खरिद विक्री र उद्योगका नाममा खोलिएका एसम्बलिङ्ग उद्योगहरूबाट ठुलो मात्रामा कमिसन कुम्ल्याउने काम मात्र भएको छ । अदक्ष श्रमशक्तिका रूपमा प्रत्येक दिन हजाराँैंको सङ्ख्यामा नेपाली युवाहरू विदेसिएका छन् । वैदेशिक रोजगार कम्पनीले त्यसबाट ठुलो मात्रामा कमिसन पाउँछन् । तस्करी, कमिसनखोरी, कालोबजारी र घुसखोरी सर्वत्र व्याप्त छ । शिक्षा र स्वास्थ्यमा ठुलो मात्रामा व्यापारीकण भएको छ र त्यहाँबाट  ठुलो मात्रामा लगानी कर्ताले कमिसन प्राप्त गरिरहेका छन् । कृषि, पर्यटन र साना उद्योगहरूले मात्र राष्ट्रिय उत्पादनलाई अगाडि बढाएका छन् । राष्ट्रिय खर्चको मुख्य स्रोत वैदेशिक रोजगारीबाट प्राप्त आम्दानी भएको छ । यी सबै आर्थिक सूचकाङ्कहरूले के देखाउँछन् भने नेपालमा दलाल र नोकरशाही पुँजीवादको बोलावाल छ ।

यसलाई नेपालमा प्रवेश गरेको नवउदारवादले प्रोत्साहन गरिरहेको छ र नेपालको राष्ट्रिय अर्थतन्त्र ध्वस्त भइरहेको छ । यो अबस्थाबाट अर्थतन्त्रलाई मुक्त गर्दै स्वाधीन र स्वतन्त्र अर्थतनत्र निर्माण गर्न नेपाली विशेषताको समाजवादको नमुना अवलम्बन गर्नु अबको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij