१६ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई निर्देशन दिएको छ । हालैको सार्वजनिक निष्काशनमा यस प्रणालीमा सहभागी कतिपय बैंक तथा वित्तीय संस्थाहरुले सहज ढंगले सेवा नदिएको पाइएपछि बोर्डले यस्तो निर्देशन दिएको हो ।
बोर्डबाट हालसम्म ४१ वटा बैंक तथा वित्तीय संस्थाहरुले आस्वा प्रणालीमा सहभागी भई सेवा प्रदान गर्न अनुमति लिएका छन्। तर, हालैको सार्वजनिक निष्काशनमा यस प्रणालीमा सहभागी कतिपय बैंक तथा वित्तीय संस्थाहरुबाट सहज ढंगले सेवा प्रदान गर्न सकेको भन्ने नपाइएको बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
साथै बोर्डले यस प्रणालीलाई प्रभावकारी तथा सहज बनाउन सम्बन्धित आस्वा प्रणालीमा सहभागी संस्थाका कर्मचारीहरुलाई शीघ्र आवश्यक तालिम तथा अन्र्तक्रिया कार्यक्रम संचालन गरी क्षमता अभिवृद्धि गर्न तथा यस प्रणालीको कार्यान्वयन सम्बन्धमा कुनै समस्या देखा परेमा बोर्डलाई जानकारी गराउन समेत निर्देशन दिएको छ ।