२०८३ मंसिर १० बुधबार

विद्युत चुहावट १२.१६ प्रतिशतमा झर्‍यो, सरकारको लक्ष्यभन्दा राम्रो प्रगति

ई आर्थिक    बुधबार, मंसिर १० २०८३
171
Shares
विद्युत चुहावट १२.१६ प्रतिशतमा झर्‍यो, सरकारको लक्ष्यभन्दा राम्रो प्रगति

काठमाडौं । सरकारले विद्युत चुहावट नियन्त्रणमा लक्ष्यभन्दा राम्रो प्रगति हासिल गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा आर्थिक वर्ष २०८२/८३ मा विद्युत चुहावट १२.२६ प्रतिशतबाट घटेर १२.१६ प्रतिशतमा झरेको हो।

सरकारले चालु सुधार अभियानमार्फत विद्युत चुहावट १२.२० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको थियो। तर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको नेतृत्वमा अघि बढाइएको नीतिगत तथा संरचनागत सुधारका कारण चुहावट लक्ष्यभन्दा पनि कम भएको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा मन्त्रालयलाई विद्युत चुहावट १२.२० प्रतिशतमा झार्ने लक्ष्य दिएको थियो। नेपाल विद्युत प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको चुहावट २०८२/८३ मा १२.१६ प्रतिशतमा झरेको हो।

चुहावट नियन्त्रणका लागि मन्त्री श्रेष्ठले दक्ष प्राविधिक जनशक्तिको परिचालन, व्यवस्थापकीय सुधार तथा आवश्यक नीतिगत निर्देशनलाई प्राथमिकता दिएका थिए। विद्युत चुहावट अझै घटाउने उद्देश्यले प्राविधिक पक्ष र व्यवस्थापनलाई थप चुस्त बनाइएको मन्त्री श्रेष्ठले बताएका छन्।

नेपाल विद्युत प्राधिकरणका अनुसार विद्युत चोरी, मर्मतसम्भारमा हुने कमजोरी तथा लोड व्यवस्थापनसम्बन्धी समस्याका कारण विद्युत चुहावट हुने गरेको छ। यस्ता प्राविधिक समस्या देखिनेबित्तिकै तत्काल समाधान गर्ने प्रणाली विकास गरिएकाले पनि चुहावट नियन्त्रणमा सहयोग पुगेको प्राधिकरणको भनाइ छ।

विद्युत प्रसारण तथा वितरण सञ्जालको स्तरोन्नति, नियमित मर्मतसम्भार र प्राविधिक सुधारलाई तीव्रता दिँदै चुहावट न्यूनीकरणको काम अघि बढाइएको ऊर्जा मन्त्रालयले जनाएको छ।
दक्षिण एसियाली मुलुकहरूको विद्युत चुहावटको औसत दर १३.८ प्रतिशत रहेको अन्तर्राष्ट्रिय तथ्यांकले देखाउँछ। नेपालको चुहावट दर १२.१६ प्रतिशतमा झर्नुले क्षेत्रीय औसतभन्दा कम चुहावट कायम भएको देखिन्छ।

मन्त्रालयले आगामी दिनमा पनि विद्युत प्रणालीको प्राविधिक सुधार, प्रभावकारी व्यवस्थापन र चोरी नियन्त्रणलाई निरन्तरता दिँदै चुहावट थप घटाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij