श्रमिकका गुनासो संकलन गर्दै विभाग, गैरकानुनी शुल्क र भर्ना प्रक्रियामा अनियमितता गर्नेमाथि कारबाही गरिने
काठमाडौं । रोमानियामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न सरकारले सक्रियता बढाएको छ। श्रमिकका गुनासा सम्बोधन र उनीहरूको हकहित संरक्षणका लागि सरकारले सम्बन्धित निकायसँग समन्वय गर्दै वैदेशिक रोजगार व्यवसायमा संलग्न संस्थामाथि अनुगमन तथा छानबिनसमेत सुरु गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले रोमानियामा कार्यरत नेपाली श्रमिकका समस्या समाधान गर्न जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावास र वैदेशिक रोजगार विभागसँगको समन्वयमा आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।
रोमानियासमेत हेर्ने जिम्मेवारी पाएको नेपाली राजदूतावाससँग सहकार्य गरी त्यहाँ रहेका नेपाली श्रमिकका गुनासा संकलन गर्ने, समस्याको पहिचान गर्ने र समाधानका उपाय खोज्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।
यसैक्रममा वैदेशिक रोजगार विभागले रोमानियामा समस्यामा परेका नेपाली श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूले भोगिरहेका कठिनाइ तथा गुनासोबारे जानकारी लिन थालेको छ। श्रमिकले ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट उपलब्ध गराएका सूचना र गुनासाका आधारमा विभागले आवश्यक पहल गरिरहेको छ।
श्रमिकका गुनासोपछि विभागले रोमानियामा नेपाली कामदार पठाउने प्रक्रियामा संलग्न इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी तथा अन्य वैदेशिक रोजगार व्यवसायी संस्थाको भर्ना प्रक्रिया र गतिविधिमाथि निगरानी तथा छानबिन अघि बढाएको छ।
छानबिनका क्रममा सम्बन्धित व्यवसायी संस्थाको भूमिका, श्रमिक छनोट तथा भर्ना प्रक्रिया र कामदारसँग लिइने सेवा शुल्कलगायतका विषय अध्ययन भइरहेको छ। प्रारम्भिक रूपमा प्राप्त सूचना र गुनासाका आधारमा अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ।
अनुगमनका क्रममा गैरकानुनी रूपमा सेवा शुल्क असुली, रोजगारीका विषयमा भ्रामक जानकारी दिने, श्रमिकमाथि अनुचित दबाब सिर्जना गर्ने वा रोजगार सम्झौताका सर्तमा अनियमितता गरेको पाइएमा सम्बन्धित संस्था तथा व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिनेछ।
अनुगमनबाट प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक परे थप विस्तृत अनुसन्धानसमेत अघि बढाइने मन्त्रालयको तयारी छ।
रोमानियामा नेपाली श्रमिकको उपस्थिति बढ्दै गएको सन्दर्भमा तत्काल देखिएका समस्या समाधान गर्नुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले वैदेशिक रोजगार प्रक्रियाको नियमन र अनुगमनलाई प्रभावकारी बनाउने नीति लिएको छ।
श्रमिकको अधिकार संरक्षण, वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउने तथा सम्बन्धित सरकारी निकायबीचको समन्वय मजबुत पार्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको जनाएको छ।