२०८३ मंसिर १० बुधबार

निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कांग्रेसले फेरि पायो आधिकारिक मान्यता

ई आर्थिक    बुधबार, मंसिर १० २०८३
171
Shares
निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कांग्रेसले फेरि पायो आधिकारिक मान्यता

१५औँ महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय केन्द्रीय कार्यसमिति र संशोधित विधान आयोगको अभिलेखमा अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति र संशोधित विधानलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ। आयोगको यस निर्णयसँगै गत असोजमा सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले संस्थागत रूपमा पुनः आधिकारिक मान्यता पाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कांग्रेसले अद्यावधिकका लागि पेस गरेका कागजात, महाधिवेशनका निर्णय तथा विधान संशोधनसम्बन्धी विवरणको कानुनी अध्ययनपछि आयोगको मंगलबार बसेको बैठकले अद्यावधिक गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बुधबार पार्टीलाई आधिकारिक पत्र प्रदान गरिएको उनले जानकारी दिए।

आयोगले महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, संशोधित विधान तथा अन्य आवश्यक विवरण आफ्नो अभिलेखमा अद्यावधिक गरिसकेको प्रवक्ता भट्टराईले स्पष्ट पारेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले पनि आयोगबाट कार्यसमिति र विधान अद्यावधिक भएको आधिकारिक पत्र प्राप्त भएको पुष्टि गरेका छन्।
पार्टी सभापति गगन थापाले समेत बुधबार जारी केन्द्रीय समिति बैठकमा निर्वाचन आयोगबाट १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई अद्यावधिक गर्ने निर्णयसहितको पत्र प्राप्त भएको जानकारी गराएका थिए।

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएको थियो। उक्त कार्यसमितिले सम्पन्न गराएको १५औँ नियमित महाधिवेशनबाट थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।

महाधिवेशनपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते विधान संशोधन, राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयसहितका कागजात अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।

आयोगको पछिल्लो निर्णयसँगै कांग्रेसको नयाँ नेतृत्व, केन्द्रीय कार्यसमिति र संशोधित विधानसम्बन्धी विवरणले आयोगको आधिकारिक अभिलेखमा स्थान पाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij