२०८३ कार्तिक २९ शनिबार

झोलुंगे पुल भत्किएपछि दोधारा चाँदनी सुनसान, होटल व्यवसाय संकटमा

ई आर्थिक    शुक्रबार, कार्तिक २८ २०८३
247
Shares
झोलुंगे पुल भत्किएपछि दोधारा चाँदनी सुनसान, होटल व्यवसाय संकटमा

महेन्द्रनगर । महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने झोलुंगे पुल भत्काएपछि त्यस क्षेत्रको आवागमन ठप्प बनेको छ। पुल बन्द हुँदा पर्यटकको आगमन घटेको छ भने पुल आसपासका होटल तथा पर्यटन व्यवसाय संकटमा परेका छन्।

गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले पुलको एउटा पिल्लर भत्काएपछि स्थानीय प्रशासनले पुलको दुवैतर्फ आवागमन बन्द गरेको हो। पुल बन्द भएपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल घट्दा आसपासका व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ।

होटल व्यवसायी मोहनबहादुर सिंहका अनुसार दसैँ–तिहारको समयमा पर्यटकको आवागमन बढी हुने भएकाले व्यवसायीको मुख्य आम्दानी यही अवधिमा हुने गरेको थियो। तर, पुल भत्किएपछि पर्यटकको संख्या घट्दा व्यवसाय ठप्पजस्तै भएको छ।

‘पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो त मुखमै ताला लगाएजस्तो भयो,’ सिंहले भने, ‘पहिले दैनिक आठदेखि १० हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो। अहिले व्यापार व्यवसाय ठप्प भएको छ।’

उनका अनुसार पुल छोटो दूरीको आवागमन मार्गसमेत भएकाले दोधारा चाँदनीका स्थानीय तथा दुईपांग्रे सवारीसाधन प्रयोगकर्ताले समेत यसको उपयोग गर्दै आएका थिए। अहिले पुल बन्द हुँदा स्थानीयलाई आवतजावतमा समेत समस्या भएको छ।

पुल भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन गरी पुनर्निर्माणका लागि करिब २० करोड रुपैयाँ लागत लाग्ने र निर्माण सम्पन्न गर्न एक वर्ष समय लाग्ने अनुमानसहितको प्रतिवेदन पेस गरेको छ।

भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराका अनुसार दसैँ–तिहारको समयमा दैनिक दुईदेखि तीन हजारसम्म पर्यटक झोलुंगे पुल अवलोकनका लागि आउने गरेका थिए। हिउँदमा शैक्षिक भ्रमणका कारण पनि यस क्षेत्रको व्यापार व्यवसाय राम्रो हुने गरेको थियो।

‘चाडपर्वका बेला भरिभराउ हुने झोलुंगे पुल यसपटक सुनसान छ,’ बोहराले भने, ‘पुल बन्द हुँदा होटल व्यवसायीदेखि अन्य स्थानीय व्यवसायमा समेत असर परेको छ।’

उनले पुल पुनर्निर्माणको काम तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। पुल भत्किएपछि जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले स्थलगत अवलोकन गरे पनि पुनर्निर्माणको काम अघि बढ्न नसकेको उनको भनाइ छ।

यसैबीच, पुल पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले पनि पुल पुनर्निर्माणको काम शीघ्र अघि बढाउनुपर्ने बताएका छन्। उनका अनुसार झोलुंगे पुल आवागमनको माध्यम मात्रै नभई कञ्चनपुरको प्रमुख पर्यटकीय आकर्षणसमेत हो।

‘पुल समयमा निर्माण हुन नसके पर्यटकको आवागमन अझै घट्ने अवस्था छ,’ मल्लले भने, ‘पर्यटन प्रवर्द्धन र स्थानीय व्यवसायको संरक्षणका लागि पनि पुल पुनर्निर्माण छिटो हुनु आवश्यक छ।’

पुल पुनर्निर्माणमा ढिलाइ हुँदा स्थानीयको आवागमनसँगै पर्यटन र व्यापार व्यवसाय प्रभावित बनेको छ। त्यसैले पुनर्निर्माणको प्रक्रिया शीघ्र अघि बढाउन स्थानीय व्यवसायी तथा जनप्रतिनिधिले सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij