काठमाडौं । देशका विभिन्न भूभागमा आइतबारदेखि मौसम बदली हुने र वर्षा तथा हिमपातको सम्भावना रहेकाले किसानलाई काट्न बाँकी धानबाली सुरक्षित रूपमा भित्र्याउन मौसमविद्ले सुझाव दिएका छन्। पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै जाँदा विशेषगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।
नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार भने देशभरको मौसम सामान्यतया सफा रहनेछ। यी दुई दिन पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने भए पनि उल्लेख्य मौसमी परिवर्तनको सम्भावना छैन।
आइतबारदेखि पश्चिमी वायुको प्रभाव देखिन थाल्नेछ। त्यसको असर सबैभन्दा बढी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा पर्ने अनुमान छ। गण्डकी प्रदेशका केही स्थानमा पनि वर्षा हुनसक्नेछ। त्यस्तै, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको मौसमविद् पोखरेलले बताइन्।
वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिना पर्ने सम्भावना पनि छ। यसले खेतमा काट्न बाँकी रहेको धान तथा काटेर सुकाउन राखिएको परालमा क्षति पुर्याउन सक्ने भएकाले किसानलाई सतर्क रहन आग्रह गरिएको छ।
मौसमविद् पोखरेलका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय भए पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात गराउन सक्छ। तर अहिले देखिएको मौसमी प्रणाली ठूलो र व्यापक प्रभाव पार्ने प्रकृतिको छैन। यसबाट भारी वर्षा हुने सम्भावना नरहेको र अधिकांश प्रभावित स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने अनुमान छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमसम्म हिमपात हुनसक्ने भए पनि तत्काल ठूलो मौसमी जोखिमको अवस्था नरहेको उनले स्पष्ट पारिन्। हिउँदमा हुने वर्षा र हिमपातले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले यस्तो वर्षा लाभदायक पनि हुनसक्ने उनको भनाइ छ।
पश्चिमी वायुबाट विकसित हुने न्यूनचापीय प्रणाली सामान्यतया छिटो एक स्थानबाट अर्को स्थानतर्फ सर्ने प्रकृतिको हुन्छ। त्यसैले यस्तो प्रणाली सक्रिय हुँदा केही समय वर्षा गराएर पार हुने गर्छ। असिना पनि सबै क्षेत्रमा एकैसाथ पर्ने नभई निश्चित स्थानमा मात्रै सीमित हुने सम्भावना रहन्छ।
यस वर्ष मनसुनका बेला एलनिनोको प्रभावका कारण कम वर्षा हुनसक्ने आकलन गरिए पनि नेपालमा अपेक्षाकृत नियमित वर्षा भएको मौसमविद् पोखरेलले बताइन्। एलनिनोको प्रभाव मनसुन र हिउँदमा फरक हुने भएकाले मनसुनमा कम वर्षा भयो भन्दैमा हिउँद पनि सुक्खा नै हुन्छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ छ।
हिउँदमा पश्चिमी वायुबाट विकसित हुने न्यूनचापीय प्रणाली सक्रिय हुँदा वर्षा र हिमपातको सम्भावना रहने भए पनि समग्र हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भन्नेबारे विभागले छुट्टै मौसमी आकलन सार्वजनिक गर्नेछ।
मौसमविद् पोखरेलले मौसम विज्ञान विभागबाट जारी हुने नियमित मौसम पूर्वानुमान तथा परामर्श नक्सा हेर्न पनि सर्वसाधारणलाई आग्रह गरेकी छन्। विशेषगरी पहेँलो संकेत भएका क्षेत्रका बासिन्दाले मौसमसम्बन्धी सूचनालाई ध्यान दिनुपर्ने उनको सुझाव छ।
सम्भावित मौसमी परिवर्तनबाट ठूलो विपद्को जोखिम नदेखिए पनि कृषि क्षेत्रमा हुनसक्ने क्षतिप्रति सचेत रहनुपर्ने देखिएको छ। त्यसैले किसानले मौसमको अवस्था हेरेर धानबाली भित्र्याउने, काटिसकेको धान सुरक्षित स्थानमा राख्ने र पराललाई वर्षा तथा असिनाबाट जोगाउने तयारी गर्नुपर्ने मौसमविद्को सुझाव छ।