२०८३ कार्तिक २४ सोमबार

दीपावलीमा केराका थाम बेचेर किसानलाई अतिरिक्त आम्दानी

ई आर्थिक    सोमबार, कार्तिक २४ २०८३
209
Shares
दीपावलीमा केराका थाम बेचेर किसानलाई अतिरिक्त आम्दानी

धनुषा । मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घर तथा व्यापारिक प्रतिष्ठानमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण दीपावलीमा केराका थामको माग बढ्दा किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।

धनुषा र महोत्तरीका विभिन्न गाउँबाट किसानले केराका थाम जनकपुरधामलगायतका बजारमा बिक्रीका लागि पुर्‍याएका छन् । व्यापारीसमेत किसानका घर तथा केराघारीमै पुगेर थाम खरिद गर्न थालेपछि किसानलाई बजारसम्म पुर्‍याउने झन्झटसमेत हटेको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पकडियाका किसान सुशील सिंहका अनुसार यस वर्ष केराको एउटा थाम २५० देखि ३०० रुपैयाँसम्म बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार दीपावलीको अवसरमा शनिबार र आइतबार मात्रै जनकपुरधाममा करिब आठदेखि नौ हजार केराका थाम बिक्री भएका छन् ।

केराको झ्याङमा उत्पादन राम्रो बनाउन अतिरिक्त बोट हटाउनुपर्ने हुन्छ । सामान्य अवस्थामा उखेलेर फाल्नुपर्ने यस्ता बोट दीपावलीका बेला बिक्री हुँदा किसानलाई थप आम्दानी हुने गरेको छ । महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतोले यस वर्ष एकै दिनमा १५ हजार रुपैयाँभन्दा बढीका केराका थाम बिक्री गरेको बताए ।

त्यस्तै, महोत्तरीको भङ्गाहा नगरपालिका–४ का व्यावसायिक केरा किसान सत्यनारायण यादवले यस वर्ष ३५ हजार रुपैयाँ बराबरका केराका थाम बिक्री गरेका छन् । करिब एक बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका उनले उत्पादन राम्रो लिन एउटा झ्याङमा तीनभन्दा बढी बोट राख्न नहुने र अतिरिक्त बोट हटाउनुपर्ने बताए ।

मिथिला परम्पराअनुसार लक्ष्मीपूजाका दिन घर तथा व्यापारिक प्रतिष्ठानमा केराका थाम प्रयोग गरी स्वागतद्वार बनाउने चलन छ । सामान्यतया दुईवटा थाम प्रयोग गरिने भए पनि कतिपयले चारवटा थाम प्रयोग गर्ने गरेका छन् । यही परम्पराका कारण दीपावली नजिकिँदै गर्दा केराका थामको माग र मूल्य दुवै बढ्ने गरेको छ ।

किसान रामनारायण सिंहका अनुसार यस वर्ष पर्वभन्दा एक साताअघिदेखि नै व्यापारीले केराका थामका लागि बैना दिन थालेका थिए । पर्वका दिन थाम अभाव हुनसक्ने र मूल्य बढ्नसक्ने भएकाले व्यापारीले केराघारीमै पुगेर मूल्य निर्धारण गरी खरिद गर्ने गरेका छन् ।

दीपावलीमा एक जोडी केराका थाम ६०० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसान बताउँछन् । बलवा नगरपालिकाको भगवतीपुरका किसान ललन महतोले १० कट्ठामा लगाएको केराखेतीबाट नयाँ कोथा बिक्री गरी १५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए ।

धनुषाको जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, सबैला, गोदार र वीरेन्द्रबजार तथा महोत्तरीको बर्दिबास, औरही, मटिहानी, रामगोपालपुर, गौशाला र जलेश्वरलगायतका बजारमा केराका थामको कारोबार भएको छ ।

दीपावलीसँगै छठ पर्वमा पनि केराको घरी र कोथाको माग बढ्ने गरेको छ । छठ पर्वमा केराको घरी प्रसादका रूपमा चढाउने धार्मिक परम्पराका कारण यसको बिक्री बढ्ने गरेको किसान बताउँछन् ।

यसरी सामान्य अवस्थामा उपयोग नहुने केराका अतिरिक्त बोट तथा कोथा चाडपर्वका बेला राम्रो मूल्यमा बिक्री हुन थालेपछि मिथिला क्षेत्रका किसानका लागि दीपावली र छठ पर्व अतिरिक्त आम्दानीको माध्यम बनेका छन् । धार्मिक तथा सांस्कृतिक परम्पराले स्थानीय कृषि उत्पादनको बजार विस्तार गर्नुका साथै किसानको आयआर्जनमा समेत योगदान पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij