काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम आगामी कात्तिक १२ गते गर्ने तयारी गरिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिबाहेक नवनिर्वाचित २३० जना पदाधिकारी तथा सदस्यलाई एकैसाथ शपथ गराउने र प्रमाणपत्र वितरण गर्ने तयारी अघि बढाइएको हो।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न पार्टीको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो। निर्वाचित सभापति थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। अन्य पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण भने हुन बाँकी छ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार कात्तिक १२ गते कार्यक्रम आयोजना गर्ने गरी तयारी भइरहेको छ। उनले उक्त मितिमा कार्यक्रम गर्ने तयारी भए पनि औपचारिक निर्णय हुन बाँकी रहेको जानकारी दिएका छन्।
यसैबीच, वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा हाल देशबाहिर रहेकाले शपथ ग्रहण कार्यक्रमको अन्तिम मिति र समय निर्धारण गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।
औपचारिक निर्णय भएपछि कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रमको समयतालिका सार्वजनिक गरिने अपेक्षा गरिएको छ।