२०८३ असोज १२ सोमबार

भारी वर्षा र बाढीपहिरोमा परी २१ जनाको मृत्यु, ५ जना बेपत्ता

ई आर्थिक    सोमबार, असोज १२ २०८३
171
Shares
भारी वर्षा र बाढीपहिरोमा परी २१ जनाको मृत्यु, ५ जना बेपत्ता

१४३ घर पूर्ण क्षतिग्रस्त, करिब दुई हजार जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । भारी वर्षा, बाढी तथा पहिरोलगायत वर्षाजन्य विपद्का घटनामा परी देशभर २१ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन् भने पाँच जना अझै बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढीका ५३ घटनामा चार जनाको मृत्यु भएको छ। यस्तै, पहिरोका २५६ घटनामा १४ जनाको मृत्यु, चार जना घाइते र पाँच जना बेपत्ता भएका छन्। अविरल वर्षाका ११७ घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा भएको थियो। सोही अवधिमा वर्षाजन्य विपद्का घटना बढेका हुन्।

१४३ घर पूर्ण क्षतिग्रस्त

बाढी र पहिरोका कारण देशभर १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ। विपद्का कारण ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

जोखिममा परेका विभिन्न जिल्लाबाट करिब दुई हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्राधिकरणले जनाएको छ।

डेढगाउँमा ५४४ मिलिमिटर वर्षा

निरन्तर वर्षाका कारण देशभरका १८६ वटा वर्षामापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै वर्षा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा मापन भएको छ। त्यहाँ ५४४.२ मिलिमिटर वर्षा भएको थियो।

यस्तै, कास्कीको पञ्चासेमा ५००.२ मिलिमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा मापन गरिएको छ।

पर्यटक र पदयात्रीको पनि उद्धार

प्रवक्ता महतका अनुसार भारी वर्षाका क्रममा करिब नौ हजार पर्यटक तथा पदयात्री विभिन्न स्थानमा यात्रारत थिए।

जाजरकोट, म्याग्दी, बागलुङलगायत जिल्लामा बाढी तथा पहिरोमा फसेका व्यक्तिलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तहमार्फत आवश्यक राहत तथा बन्दोबस्तीको व्यवस्था गरिएको छ।

पूर्वसूचनाका लागि ८ लाखभन्दा बढी एसएमएस

भारी वर्षाको पूर्वानुमानसँगै प्राधिकरणले सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन आग्रह गरेको थियो। नियमित सूचना तथा एड्भाइजरी जारी गर्दै सम्भावित बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराइएको थियो।

बाढी पूर्वानुमान महाशाखाले जोखिममा रहेका नागरिकलाई सचेत गराउन ८ लाख १४ हजार एसएमएस पठाएको प्राधिकरणले जनाएको छ।

पर्वतारोहण तथा पदयात्रामा रहेका विदेशी पर्यटकलाई लक्षित गर्दै अंग्रेजी भाषामा समेत सतर्कता सूचना जारी गरिएको थियो। जोखिमयुक्त क्षेत्रमा रहेकालाई सुरक्षित स्थानमा जान तथा सुरक्षित स्थानमा रहेकालाई त्यहीँ रहन आग्रह गरिएको थियो।

दैनिक समीक्षा र उद्धार तयारी

केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक दैनिक बसेर वर्षाजन्य विपद्को अवस्थाबारे समीक्षा गरिएको थियो।

जोखिम देखिएका जिल्लामा आवश्यकताअनुसार सवारी आवागमनमा रोक लगाउन निर्देशन दिइएको थियो। सम्भावित प्रभावित जिल्लामा स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विद्यालयसमेत बन्द गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले वर्षा अझै जोखिमपूर्ण हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन र मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij