२०८३ असोज १२ सोमबार

एक लाख ५० हजार सिलिन्डर बराबरको ग्यास बाटोमै, उपभोक्तालाई नआत्तिन निगमको आग्रह

ई आर्थिक    सोमबार, असोज १२ २०८३
190
Shares
एक लाख ५० हजार सिलिन्डर बराबरको ग्यास बाटोमै, उपभोक्तालाई नआत्तिन निगमको आग्रह

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोका कारण भारतबाट काठमाडौं उपत्यकाका लागि ल्याइँदै गरेका १०५ वटा एलपी ग्यास बुलेट बाटोमै रोकिएका छन्।

नेपाल आयल निगमका अनुसार बुधबारदेखि परेको लगातार वर्षाका कारण कृष्णभीर, धादिङलगायतका क्षेत्रमा सडक अवरुद्ध भएपछि ग्यास बोकेका बुलेट चितवन, हेटौँडा तथा आसपासका सुरक्षित स्थानमा रोकिएका हुन्।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार रोकिएका १०५ बुलेटमा करिब एक लाख ५० हजार सिलिन्डर बराबरको ग्यास रहेको छ। सडक खुलेलगत्तै ती बुलेट काठमाडौं भित्र्याएर बजारमा आपूर्ति गरिने उनले बताए।

“भारतबाट ग्यास ल्याउन कुनै समस्या छैन। बरौनी, पारादीप, हल्दियालगायत स्थानबाट ग्यास लोड भएर आएका बुलेट चितवन र हेटौँडा आसपास आइपुगेका छन्,” ठाकुरले भने, “कृष्णभीर र धादिङका अन्य स्थानमा गएको पहिरो पन्छाएपछि ग्यास बुलेट आउन थाल्छन्।”

सडक खुलेपछि ग्यासको आयात नियमित हुने र बजारमा आपूर्ति बढ्ने भएकाले उपभोक्तालाई नआत्तिन निगमले आग्रह गरेको छ।

निगमका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने १६ वटा ग्यास ब्रान्डका लागि लोड गरिएका बुलेट वीरगन्ज भन्सारबाट क्लियर भइसकेका छन्। तीमध्ये केही चितवनको रामनगर, केही हेटौँडा तथा अन्य सुरक्षित स्थानमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा रोकिएका छन्।

तीन–चार दिनमै ५०–६० हजार सिलिन्डर बजारमा पठाउने तयारी

एउटा ग्यास बुलेटमा सामान्यतः १८ देखि २० टन एलपी ग्यास हुन्छ। एक बुलेटबाट करिब १ हजार २५० वटा सिलिन्डर भर्न सकिने निगमले जनाएको छ।

सडक खुलेलगत्तै लगातार तीनदेखि चार दिनसम्म दैनिक ५० हजारदेखि ६० हजार सिलिन्डरका दरले बजारमा ग्यास पठाउन सकिने निगमको भनाइ छ। यसबाट अहिले देखिएको अभाव कम हुने अपेक्षा गरिएको छ।

निगमका अनुसार आइतबार मात्रै १७ हजार सिलिन्डर बजारमा वितरण गरिएको थियो।

दुई महिनामै १ लाख १७ हजार मेट्रिक टन ग्यास आयात

यसैबीच, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले १ लाख १७ हजार १६८ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात गरेको छ।

भन्सार विभागका अनुसार साउन र भदौमा १६ अर्ब २६ करोड रुपैयाँ बराबरको ग्यास आयात भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बराबरको ९१ हजार ९६३ मेट्रिक टन ग्यास आयात भएको थियो।

गत वर्षको तुलनामा यस वर्ष दुई महिनामै करिब २६ हजार मेट्रिक टन बढी ग्यास आयात भएको छ।

निगमका अनुसार बजारमा ग्यासको अभाव कम गर्दै आपूर्ति व्यवस्था सहज बनाउन भदौमा मात्रै ५९ हजार ८३३ मेट्रिक टन ग्यास आयात गरिएको थियो। साउनमा ५७ हजार ३३५ मेट्रिक टन ग्यास आयात भएको थियो।

यद्यपि, ग्यासको आयात बढे पनि पछिल्लो समय सडक अवरोधका कारण काठमाडौं उपत्यकासहित केही क्षेत्रमा बजारमा अभाव कायमै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij