काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी तथा २० सांसदसहितको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ। पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आज चीन प्रस्थान गरेको हो।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको प्रतिनिधिमण्डलले ११ दिनसम्म भ्रमण गर्नेछ। भ्रमण आइतबारदेखि सुरु हुने जनाइएको छ।
भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सहभागी छन्।
त्यस्तै, सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा पनि भ्रमण टोलीमा रहेका छन्।

चीन प्रस्थान गर्न लागेको प्रतिनिधिमण्डललाई रास्वपाका प्रवक्ता जगदीश खरेलले विमानस्थल पुगेर बिदाइ गरेका थिए।