२०८३ कार्तिक २३ आइतबार

बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले ‘न्यानो कपडा’ र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

ई आर्थिक    शनिबार, कार्तिक २२ २०८३
1K
Shares
बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले ‘न्यानो कपडा’ र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकका लागि ‘न्यानो कपडा अभियान’ र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा बिहीबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा बसेको बैठकले बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।

बैठकमा बाढी प्रभावित तीनवटै जिल्लाका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति, स्थानीय जनप्रतिनिधि, पार्टी पदाधिकारी तथा संसदीय दलका नेताहरूको सहभागिता थियो ।

बैठकले छठ पर्वलगत्तै रसुवा, धादिङ र नुवाकोटका बाढी प्रभावित गाउँ तथा बस्तीमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्ने निर्णय गरेको छ । त्यसपछि प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि पार्टीले चाल्नुपर्ने पहलकदमी तय गरिने कांग्रेसले जनाएको छ ।

गत भदौ १० गते गएको आकस्मिक बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह तथा पुनर्निर्माणको पछिल्लो अवस्थाबारे बैठकमा जानकारी लिइएको थियो ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडा र समस्याप्रति पार्टी संवेदनशील रहेको उल्लेख गर्दै कांग्रेसले प्रभावितको जीवन सहज बनाउन, पुनःस्थापना सुनिश्चित गर्न र पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ ।

त्यसैगरी, पार्टीका तर्फबाट आवश्यक सहकार्य, सहयोग र सहजीकरणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीद्वारा जारी विज्ञप्तिमा उक्त निर्णय सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij