काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारबाट रिहा भएका छन् ।
६५ वर्षीय रायमाझी ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएपछि बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
रायमाझीले ज्येष्ठ नागरिकको सुविधा माग गर्दै काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अदालतले उनलाई प्रचलित कानुनअनुसार कैद सजायमा छुट दिई रिहा गर्न कारागार प्रशासनलाई पत्राचार गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो।
तर ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाउने भएपछि उनी निर्धारित अवधिअगावै कारागारमुक्त भएका हुन् ।