२०८३ कार्तिक २७ बिहिबार

काठमाडौंमा छठ पर्वको तयारी तीव्र, १७ स्थानमा घाट निर्माण र सरसफाइ हुँदै

ई आर्थिक    बिहिबार, कार्तिक २७ २०८३
190
Shares
काठमाडौंमा छठ पर्वको तयारी तीव्र, १७ स्थानमा घाट निर्माण र सरसफाइ हुँदै

काठमाडौं । काठमाडौं उपत्यकामा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएसँगै यस वर्ष पनि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम तीव्र पारिएको छ।

छठ पर्वका लागि गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु, वंशीघाटलगायत स्थानमा आवश्यक तयारी भइरहेको छ। घाट निर्माणसँगै पूजास्थलको सरसफाइ, पाल टाँग्ने, बत्ती जडान गर्ने तथा व्रतालुका लागि आवश्यक पूर्वाधार निर्माणका काम भइरहेका छन्।

गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ। पर्वलाई व्यवस्थित र सहज बनाउन तयारी अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो।

उहाँले काठमाडौंमा पनि छठ पर्व मनाउने परम्परा विस्तार हुँदै गएको उल्लेख गर्दै व्रतालुलाई सहज वातावरण उपलब्ध गराउन व्यवस्थापन समिति सक्रिय रहेको बताउनुभयो।

काठमाडौंमा छठ पूजा गरिने प्रमुख स्थानमा गौरीघाट र गुह्येश्वरी क्षेत्र, कमलपोखरी, थापाथलीस्थित बागमती नदी किनार, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु क्षेत्र रहेका छन्। त्यसैगरी विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टंकेश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुस्थित बाइसधारामा पनि छठ पूजाको तयारी भइरहेको छ।

काठमाडौं महानगरपालिकाले विगतका वर्षमा कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टंकेश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ। बालाजु बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि पर्वका अवसरमा घाट निर्माण तथा व्यवस्थापन गरिँदै आएको छ।

चार दिनसम्म विभिन्न धार्मिक विधि र आस्थाका साथ मनाइने छठ पर्वमा व्रतालुले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा गर्ने परम्परा छ।

यस वर्ष छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ। कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ।

विशेषगरी तराई–मधेस क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा समेत विस्तार हुँदै गएको छ। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij