काठमाडौं । उज्यालोको पर्व तिहारअन्तर्गत लक्ष्मीपूजाका दिन देशभर विद्युत् खपत उल्लेख्य रूपमा बढ्ने भए पनि आपूर्तिमा समस्या नआउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। घरघरमा झिलिमिली बत्ती बाल्ने परम्पराका कारण विद्युत् माग बढ्ने अनुमान गरिए पनि उपलब्ध उत्पादन क्षमता पर्याप्त रहेकाले माग व्यवस्थापन गर्न सकिने प्राधिकरणको दाबी छ।
प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग १ हजार ९ सयदेखि २ हजार मेगावाटसम्म पुग्ने अनुमान गरेको छ। पछिल्लो समय भएको वर्षाका कारण नदीमा पानीको बहाव राम्रो रहेकाले विद्युत् उत्पादनमा समेत सहजता रहेको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार अहिले विद्युत् प्रणालीमा करिब २ हजार ७ सयदेखि २ हजार ८ सय मेगावाटभन्दा बढी विद्युत् उपलब्ध गराउन सक्ने क्षमता छ। यसले लक्ष्मीपूजाका दिन बढ्ने माग सहज रूपमा धान्न सकिने अवस्था रहेको उनले बताए।
लक्ष्मीपूजाका दिन घरायसी प्रयोजनमा विद्युत् खपत बढ्ने भए पनि केही उद्योग तथा कलकारखाना बन्द रहने भएकाले औद्योगिक क्षेत्रको माग घट्ने गर्छ। यी दुई अवस्थालाई विश्लेषण गर्दा यस वर्ष विद्युत्को माग २ हजारदेखि २ हजार १ सय मेगावाटको हाराहारीमा रहने प्राधिकरणको आकलन छ।
हाल नेपालको राष्ट्रिय विद्युत् प्रणालीको पिक लोड सामान्यतया २ हजार १ सयदेखि २ हजार २ सय मेगावाटसम्म रहने गरेको छ। विद्युत् निर्यातसमेत जोड्दा प्रणालीको कुल पिक लोड अझ बढी हुने श्रेष्ठले जानकारी दिए।
गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ६ सयदेखि १ हजार ७ सय मेगावाटमा सीमित थियो। यस वर्ष विद्युत् खपत बढ्ने अनुमान गरिए पनि उत्पादन तथा आपूर्ति क्षमताका दृष्टिले कुनै चुनौती नरहेको प्राधिकरणको निष्कर्ष छ।
तर विद्युत् उत्पादन पर्याप्त हुँदैमा वितरण प्रणालीमा समस्या नआउने भन्ने हुँदैन। लक्ष्मीपूजाका दिन एकैपटक ठूलो संख्यामा घरायसी विद्युतीय उपकरण सञ्चालन हुँदा स्थानीय वितरण प्रणालीमा अतिरिक्त भार पर्न सक्ने जोखिम भने रहेको प्राधिकरणले जनाएको छ।
विशेषगरी घरमा जडान गरिएका मिटर, एमसीबी तथा अन्य विद्युतीय उपकरणले क्षमताभन्दा बढी भार थेग्न नसक्दा एमसीबी ट्रिप हुने, मिटर बिग्रिने वा जल्नेजस्ता समस्या आउन सक्छन्। त्यस्तै, वितरण प्रणालीका ट्रान्सफर्मर र ११ केभीका फिडरमा समेत भार बढ्न सक्ने सम्भावना छ।
यस्ता समस्या रोक्न प्राधिकरणले देशभरका वितरण केन्द्रमार्फत विशेष तयारी गरिरहेको छ। बढी भार भएका ट्रान्सफर्मरको लोड घटाउने, आवश्यकताअनुसार एक स्थानको भार अर्को स्थानमा स्थानान्तरण गर्ने तथा फिडरको व्यवस्थापन र प्राविधिक सेटिङ मिलाउने काम भइरहेको श्रेष्ठले बताए।
उनका अनुसार वितरण प्रणालीमा सामान्य अवस्थाभन्दा १५ देखि २० प्रतिशतसम्म थप विद्युत् भार परे पनि व्यवस्थापन गर्न सकिने गरी तयारी गरिएको छ। पछिल्ला दिनमा प्राधिकरणका वितरण केन्द्रका कर्मचारी तथा प्राविधिक टोलीलाई भार विश्लेषण र व्यवस्थापनमा परिचालन गरिएको छ।
कुनै क्षेत्रमा बढी भारका कारण विद्युत् अवरुद्ध भए वा ट्रिपिङको समस्या देखिए तत्काल मर्मत तथा पुनः सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको छ। विद्युत् सेवा अवरुद्ध भएको अवस्थामा १५ देखि २० मिनेटदेखि बढीमा आधा घण्टाभित्र पुनः सञ्चालन गर्ने गरी जनशक्ति परिचालनको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।
पर्याप्त विद्युत् उत्पादन र आपूर्ति क्षमता रहेकाले उपभोक्ताले ढुक्कसँग लक्ष्मीपूजा मनाउन सक्ने श्रेष्ठको भनाइ छ। सम्भावित प्राविधिक समस्या समाधान गर्नसमेत प्राधिकरण तयारी अवस्थामा रहेकाले यस वर्षको लक्ष्मीपूजामा विद्युत् अभावको चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनले बताए।