कास्की । तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्लास्टिकजन्य कृत्रिम फूलमालाको बिक्रीवितरण रोक्न बजार अनुगमन तीव्र बनाएको छ । स्थानीय उत्पादनका प्राकृतिक फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले महानगरले पूजा सामग्री तथा झिलिङ्गा पसलमा अनुगमन गरेको हो ।
सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि बजारमा यस्ता सामग्री बिक्रीका लागि राखिएको पाइएपछि महानगरले अनुगमन अभियानलाई तीव्रता दिएको जनाएको छ ।
महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगरपालिका–१ र २ अन्तर्गत विन्ध्यवासिनी तथा बगर क्षेत्रमा रहेका नौ वटा पूजा सामग्री र झिलिङ्गा पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ६ हजार २८० रुपैयाँ बराबरका प्लास्टिकका माला, फूल तथा बेकरी सजावटका सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
अनुगमनका क्रममा प्लास्टिकका माला, लेबल उल्लेख नगरिएका भाइमसला तथा रङ प्रयोग गरिएका झिलिङ्गा बिक्रीका लागि राखिएको पाइएको प्रमुख कडरियाले बताए ।
महानगरपालिकाले विगत तीन वर्षदेखि प्लास्टिकजन्य फूलमालाको बिक्रीवितरण रोक्न अभियान सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि औपचारिक सूचना जारी गरी प्रतिबन्धित सामग्री बिक्री नगर्न व्यवसायीलाई आग्रह गरिएको थियो ।
महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा भएको अनुगमनका क्रममा व्यवसायीलाई प्रचलित कानुन तथा मापदण्ड पालना गर्न, वस्तुको गुणस्तर र मूल्यमा पारदर्शिता कायम गर्न तथा म्याद गुज्रिएका सामग्री बिक्री नगर्न सचेत गराइएको थियो ।
उपप्रमुख गुरुङले प्लास्टिकजन्य फूलमालाको प्रयोगले वातावरण प्रदूषण बढाउने भएकाले यसको उत्पादन तथा बिक्रीवितरण निरुत्साहित गर्न आवश्यक रहेको बताइन् । तिहारमा यस्ता सामग्रीको बिक्री बढ्न सक्ने भएकाले महानगरले अनुगमनलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा प्रतिबन्ध लगाएको छ । उक्त व्यवस्थाविपरीत कार्य गरेमा प्रचलित ऐनअनुसार जरिवाना हुने व्यवस्था छ ।
महानगरपालिकाले वातावरण संरक्षण, उपभोक्ता हितको रक्षा र स्थानीय फूल उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।