२०८३ कार्तिक २४ सोमबार

बीपी राजमार्ग पुनःनिर्माणमा तीव्रता, जाइकाले २ अर्ब ६० करोडको काम थाल्यो

ई आर्थिक    शनिबार, कार्तिक २२ २०८३
475
Shares
बीपी राजमार्ग पुनःनिर्माणमा तीव्रता, जाइकाले २ अर्ब ६० करोडको काम थाल्यो

काठमाडौं।  बाढीले क्षतिग्रस्त बीपी राजमार्गको पुनःनिर्माणले तीव्रता पाएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सिन्धुलीको बर्खेखोला-पिप्ले सडकखण्ड पुनःनिर्माणको काम सुरु गरेको छ। उक्त खण्ड पुनःनिर्माणका लागि जाइकासँग २ अर्ब ६० करोड रूपैयाँमा सम्झौता भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जाइकाले हालै पुनःनिर्माणको काम सुरु गरेको जानकारी दिए। उनका अनुसार बीपी राजमार्गअन्तर्गत अन्य तीन सडकखण्डको पुनःनिर्माणले पनि गति लिएको छ।

पिप्लेदेखि काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीसम्मको सडक पुनःनिर्माणमा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको छ। उक्त सडकखण्डलाई तीन भागमा विभाजन गरेर निर्माण भइरहेको छ।

पिप्लेदेखि डालाबेँसीसम्मको २.३ किलोमिटर सडक पुनःनिर्माणको जिम्मा पाएको उमा एन्ड कम्पनी-भण्डारी अमरज्योति जेभीले २०८४ कात्तिक २६ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य राखेको छ। त्यस्तै, डालाबेँसीदेखि चारसयबेँसीसम्मको ८.५ किलोमिटर सडक निर्माणको जिम्मा खानी-एवान-कमलजीत जेभीले पाएको छ। उक्त कम्पनीले २०८४ जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने जनाएको छ।

चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्मको ११.८ किलोमिटर सडक पुनःनिर्माणको जिम्मा लामा-नवकान्तिपुर जेभीले पाएको छ। उक्त खण्डको काम २०८४ असार १७ गतेभित्र सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको योगेशले जानकारी दिए। ‘बीपी राजमार्ग पुनःनिर्माणको काम लक्ष्यअनुसार नै भइरहेको छ,’ उनले भने।

विसं २०८१ असोज दोस्रो साता रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित दाप्चाखोला पुलदेखि सिन्धुलीको नेपालथोकसम्मको २९ किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको थियो। त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फको २५.११ किलोमिटर सडक तीन खण्डमा विभाजन गरी पुनःनिर्माण भइरहेको छ।

निर्माणाधीन तीनवटै खण्डमा आगामी वर्षायामअघि नै एक तह कालोपत्रे गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ। बाढीले क्षति पुर्‍याएको सडकलाई समर्पित दोहोरो लेन (डेडिकेटेड डबल लेन)का रूपमा पुनःनिर्माण गरिँदै छ।

काभ्रेपलाञ्चोकतर्फका तीन खण्ड पुनःनिर्माणका लागि छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको छ। पिप्लेदेखि डालाबेँसीसम्मको सडकका लागि ६८ करोड ८० लाख रूपैयाँ, डालाबेँसीदेखि चारसयबेँसीसम्मका लागि एक अर्ब ४२ करोड रूपैयाँ र चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्मका लागि एक अर्ब ३३ करोड रूपैयाँमा सम्झौता भएको छ।

पुनःनिर्माणको काम भइरहे पनि राजमार्गमा सवारी आवागमन भने सञ्चालनमै रहेको छ। हाल पुनःनिर्मित सडकबाटै सवारीसाधन आवतजावत गराइएको छ। केही साँघुरा स्थानमा डाइभर्सन बनाएर दुईतर्फी आवागमनको व्यवस्था मिलाइएको योगेशले बताए।

उनका अनुसार चौकीडाँडा र पिन्थलीमा भिरालो भूभाग भएकाले सडक मर्मतसँगै डाइभर्सनको व्यवस्था गरिएको छ। डालाबेँसी-पिप्ले खण्डमा पनि सोहीअनुसार सवारी सञ्चालन भइरहेको छ। वर्षाका कारण सडक माथिबाट लेदो वा पहिरो आएर अवरुद्ध भएमा आधादेखि केही घण्टाभित्रै खुलाउन सक्ने गरी आवश्यक सामग्री व्यवस्थापन गरिएको उनले जानकारी दिए।

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्गका रूपमा रहेको बीपी राजमार्ग पुनःनिर्माणका लागि सरकारले कुल ८ अर्ब ५० करोड रूपैयाँको स्रोत सहमति दिएको छ। त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन खण्डका लागि ७ अर्ब ५० करोड रूपैयाँ र सिन्धुलीतर्फको एक खण्डका लागि एक अर्ब रूपैयाँ स्रोत सहमति दिइएको छ।

पुनःनिर्माण योजनाअन्तर्गत पाँचवटा पुललाई दुई लेनमा विस्तार गर्ने र तीनवटै सडकखण्डमा ६.३ किलोमिटर आरसीसी पर्खाल निर्माण गर्ने योजना रहेको योगेशले बताए।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल-सिन्धुली-बर्दिबास १६० किलोमिटर लामो बीपी राजमार्ग निर्माण सुरु गरिएको थियो। विभिन्न खण्डमा विभाजन गरेर निर्माण गरिएको उक्त राजमार्ग २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij