२०८३ कार्तिक १२ बुधबार

काठमाडौंमा प्रहरीको स्वीप अपरेसनः ९२ जना पक्राउ, १३ जना फरार कसुरदार

ई आर्थिक    बुधबार, कार्तिक १२ २०८३
190
Shares
काठमाडौंमा प्रहरीको स्वीप अपरेसनः ९२ जना पक्राउ, १३ जना फरार कसुरदार

काठमाडौं । काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेसनका क्रममा ९२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा गरिएको सुरक्षा अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा ८४ जना पुरुष र आठ जना महिला रहेका छन्। पक्राउ परेकामध्ये विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंका गरिएका व्यक्तिदेखि अदालतबाट दोषी ठहर भई फरार रहेका कसुरदारसमेत छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गरी शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न अभियान सञ्चालन गरिएको जानकारी दिए।

प्रहरीले सार्वजनिकस्थल, सार्वजनिक यातायातका साधन, बसपार्क, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपास र बढी भीडभाड हुने बजार क्षेत्रमा निगरानी तथा जाँचलाई तीव्र बनाएको जनाएको छ।

अभियानका क्रममा सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने, बिचौलियाको गतिविधि सञ्चालन गर्ने र गुण्डागर्दी गर्ने व्यक्तिलाई लक्षित गरिएको प्रहरीले जनाएको छ।

अदालतबाट सजाय तोकिएका १३ जना पनि पक्राउ

स्वीप अपरेसनका क्रममा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका १३ जना फरार कसुरदारसमेत पक्राउ परेका छन्। लामो समयदेखि फरार रहेका तथा अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेका व्यक्तिको खोजीलाई पनि अभियानमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सार्वजनिक यातायात, बसपार्क, बजार क्षेत्र तथा सरकारी कार्यालय आसपास चोरी, लुटपाट, दुर्व्यवहार र बिचौलियाका गतिविधि हुन सक्ने भएकाले ती क्षेत्रमा प्रहरीको उपस्थिति र निगरानी बढाइएको हो।

प्रवक्ता थापाका अनुसार नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान, नियन्त्रण तथा कानुनी कारबाहीलाई प्रभावकारी बनाउने गरी प्रहरी परिचालन गरिएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको संलग्नता, उनीहरूमाथि लागेका आरोप तथा अन्य कानुनी विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, सार्वजनिकस्थलमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र सर्वसाधारणलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्न सहज बनाउने उद्देश्यले विशेष निगरानी तथा जाँचलाई निरन्तरता दिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij