२०८३ कार्तिक १२ बुधबार

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन उज्यालो नेपाल पार्टीको माग

ई आर्थिक    बुधबार, कार्तिक १२ २०८३
133
Shares
गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन उज्यालो नेपाल पार्टीको माग

काठमाडौं ।  उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गरेको छ।

पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा निर्वाचन आयोग पुगेको टोलीले बुधबार प्रमुख निर्वाचन आयुक्तसमक्ष दुई विषय समेटिएको ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचन दलीय प्रतिस्पर्धाबाट मुक्त गरी उम्मेदवारको योग्यता, इमानदारी, क्षमता, कार्ययोजना र जनताप्रतिको जवाफदेहिताका आधारमा नेतृत्व चयन गर्ने व्यवस्था गर्न माग गरिएको छ। स्थानीय सरकारलाई दलीय भागबन्डाको केन्द्र नभई जनसेवा, सुशासन र स्थानीय विकासको प्रभावकारी माध्यम बनाउनुपर्ने पार्टीको धारणा छ।

गैरदलीय स्थानीय निर्वाचनको अवधारणा बहुदलीय लोकतन्त्रको विरोध नभएको उल्लेख गर्दै पार्टीले यसलाई स्थानीय सरकारलाई नागरिकमुखी, निष्पक्ष र परिणाममुखी बनाउने सुधारको प्रस्तावका रूपमा व्याख्या गरेको छ।

त्यसैगरी, रोजगारी, अध्ययन, व्यवसायलगायत विभिन्न कारणले विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन पनि पार्टीले माग गरेको छ। देशको अर्थतन्त्र र विकासमा योगदान गरिरहेका विदेशस्थित नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित गर्न नहुने ज्ञापनपत्रमा उल्लेख छ।

ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्तले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार कार्यान्वयनका लागि सरल, सुरक्षित, कम खर्चिलो र अधिकतम सहभागिता सुनिश्चित गर्ने मतदान प्रणालीबारे आयोगले अध्ययन गरिरहेको जानकारी दिएको पार्टीले जनाएको छ।

निर्वाचन सुधारका लागि सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूबीच व्यापक छलफल, सहमति र समन्वय आवश्यक रहेको धारणा पनि प्रमुख निर्वाचन आयुक्तले व्यक्त गरेको ज्ञापनपत्र बुझाएपछि पार्टीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत सुधारका लागि समयबद्ध पहल गर्नसमेत आग्रह गरेको छ।

स्थानीय तहमा योग्य र जनउत्तरदायी नेतृत्व स्थापित गर्ने तथा विदेशमा रहेका नेपाली नागरिकलाई देशको लोकतान्त्रिक प्रक्रियासँग जोड्ने उद्देश्यसहित यी विषयमा निरन्तर पहल गर्ने अध्यक्ष घिसिङले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij