काठमाडौं । बडा दसैँ तथा शुभ दीपावलीको अवसरमा यात्रुको यात्रा सहज बनाउन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणका लागि र उपत्यका बाहिर सशस्त्र प्रहरी परिवारसहित अन्यका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
दसैँको घटस्थापनादेखि पूर्णिमासम्म तथा तिहारको अवधिभर काठमाडौँबाट झापाको काँकरभिट्टा र कञ्चनपुरको गड्डाचौकीसम्म दैनिक २ वटा बस बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी र तिनका परिवार तथा अन्यका लागि निःशुल्क सञ्चालन भइरहेका छन्।
काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि कार्तिक २ गते सोमबारदेखि लगातार ३ दिनसम्म बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म २ वटा बस निःशुल्क सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
उपत्यकाभित्र सञ्चालित बसमध्ये एउटाले कलङ्की र बल्खु हुँदै कोटेश्वरसम्म तथा अर्को बसले बालाजु र नयाँ बसपार्क हुँदै चक्रपथ परिक्रमा गरेर यात्रुलाई सेवा दिइरहेका छन्।
अवस्था र आवश्यकता हेरेर थप एक दिन यो बस सेवा थप्ने तयारी सशस्त्र प्रहरी बल, नेपालले गरेको छ।