२०८३ असोज १९ सोमबार

बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिने

ई आर्थिक    आइतबार, असोज १८ २०८३
589
Shares
बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिने

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’ परियोजना कार्यान्वयनको चरणमा अघि बढाएको जनाएको छ।

प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा परम्परागत सम्पदालाई पर्यटनसँग जोड्दै पर्यटकको बसाइ अवधि लम्ब्याउने र स्थानीय अर्थतन्त्रसँगै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्देश्यले परियोजनाको अवधारणा अघि सारिएको प्रदेशका मुख्यमन्त्री किरण थापाले बताएका छन्।

मुख्यमन्त्री थापाका अनुसार भक्तपुरसहित बागमती प्रदेशमा रहेका धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण शिवालय र शैवस्थललाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गरिनेछ। यसबाट तीर्थयात्री तथा पर्यटकले एउटै यात्रामार्फत विभिन्न धार्मिकस्थलको भ्रमण गर्न सक्नेछन्।

‘धार्मिक, सांस्कृतिक, पारम्परिक र ऐतिहासिक पर्यटकीय नगरी भक्तपुर तथा शिव सभ्यताको केन्द्रबिन्दु बागमती प्रदेशभित्र रहेका सम्पूर्ण पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एक परिपथ (शिव सर्किट) परियोजनामार्फत जोड्ने अवधारणा प्रदेश सरकारले कार्यान्वयनको चरणमा पुर्‍याएको छ,’ मुख्यमन्त्री थापाले भने।

उनका अनुसार शिव सर्किटमार्फत प्रदेशमा आउने पर्यटकको बसाइ अवधि बढाउने तथा पर्यटनबाट राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा योगदान बढाउने लक्ष्य राखिएको छ।

मुख्यमन्त्री थापाले बागमती प्रदेश धार्मिक तथा सांस्कृतिक सम्पदाको क्षेत्र मात्र नभई ध्यान, योग र ज्ञानको प्राचीन भूमि भएको उल्लेख गरेका छन्। नेपालमा पुस्तौँदेखि सञ्चित ज्ञान, साधना, दर्शन र संस्कृतिलाई विश्वसामु चिनाउन आवश्यक रहेको उनको भनाइ छ।

‘ध्यान, योग र सम्पूर्ण ज्ञानको भूमि विश्वगुरु बन्ने क्षमता, दक्षता र अपार ज्ञान तथा निधि कैयौँ विद्वान् र ऋषिमुनिहरूको पवित्र यस भूमि कोइलाभित्र लुकेर बसेको हिराजस्तो भएको छ,’ उनले भने।

नेपालको मौलिक ज्ञान, दर्शन, संस्कृति तथा आध्यात्मिक सम्पदाको खोजी, संरक्षण र प्रवर्द्धन गरी अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनुपर्नेमा मुख्यमन्त्री थापाले जोड दिएका छन्।

‘अब उक्त हिरालाई कोइलाबाट बाहिर निकालेर विश्वसामु चम्काउने अभिभारा हाम्रो काँधमा आइपुगेको छ,’ उनले भने।

प्रदेश सरकारले ‘शिव सर्किट’लाई धार्मिक पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी स्थानीय अर्थतन्त्र, रोजगारी, होटल तथा पर्यटन व्यवसाय र सांस्कृतिक सम्पदा संरक्षणसँग समेत जोड्ने लक्ष्य लिएको छ।

परियोजना कार्यान्वयनमा आएपछि बागमती प्रदेशका धार्मिक तथा ऐतिहासिक गन्तव्यलाई एउटै पर्यटन मार्गमा जोड्न सकिने र लामो समयसम्म स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij