काठमाडौँ । लामो समयदेखि नेतृत्वविहीन रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ अध्यक्ष पाएको छ। सरकारले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल प्रसाद भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई धितोपत्र बजारको नियामक निकायको नेतृत्व सुम्पने निर्णय गरेको हो। तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामापछि करिब दुई महिनादेखि बोर्ड अध्यक्षविहीन अवस्थामा रहेको थियो।
नवनियुक्त अध्यक्ष भट्ट नेपाल राष्ट्र बैंकमा लामो समयसम्म विभिन्न जिम्मेवारी सम्हाल्दै कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त व्यक्ति हुन्। वित्तीय क्षेत्र, नियमन र संस्थागत व्यवस्थापनमा उनको अनुभवलाई आधार मान्दै सरकारले बोर्डको नेतृत्वको जिम्मेवारी दिएको बताइएको छ।
यसपटक सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया भने सुरुदेखि नै विवादमा परेको थियो। प्रारम्भिक छनोट समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टमाथि समितिमा आवेदन दिएका उम्मेदवारमध्ये आफ्नै नाताले दाजु पर्ने डा. गोपाल भट्टसमेत रहेको भन्दै स्वार्थ बाझिएको आरोप लागेको थियो। त्यसपछि उनले संयोजक पदबाट राजीनामा दिएका थिए।
राजीनामापछि सरकारले छनोट समिति पुनर्गठन गरेको थियो। पुनर्गठित समितिको नेतृत्व राष्ट्रिय योजना आयोगका सदस्य सञ्जय आचार्यले गरेका थिए। समितिले अन्तिम चरणमा चार जनाको नाम सरकारलाई सिफारिस गरेको थियो।
अन्तिम सिफारिस सूचीमा डा. गोपाल भट्ट, बोर्डका पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, वर्तमान कार्यकारी निर्देशक विनयदेव आचार्य तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक मुकुन्द क्षेत्री रहेका थिए।
चार जनाको नाम सिफारिस भए पनि सरकारले लामो समय निर्णय नगर्दा धितोपत्र बजार, लगानीकर्ता तथा वित्तीय क्षेत्रबाट अध्यक्ष नियुक्ति प्रक्रिया शीघ्र टुंग्याउन दबाब बढ्दै गएको थियो।
नयाँ अध्यक्ष भट्टसमक्ष अब पूँजी बजारको सुधार, नियामकीय विश्वसनीयता सुदृढीकरण, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा बजारमा देखिएका विभिन्न चुनौतीहरूको समाधान गर्ने महत्वपूर्ण जिम्मेवारी रहनेछ।
सेबोनमा नयाँ नेतृत्व आएसँगै नेपालको पूँजी बजार सुधार र विस्तारका लागि नयाँ पहल तथा नीतिगत सुधारहरू अघि बढ्ने अपेक्षा गरिएको छ।