काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ले भाडा तथा विभिन्न महसुलको बक्यौता नतिर्ने ६३ उद्योगको पानी र विद्युत् सेवा काटेको छ। लामो समयदेखि सरकारी जग्गा, भवन तथा पूर्वाधार प्रयोग गरे पनि बक्यौता रकम नबुझाएका उद्योगविरुद्ध कारबाहीस्वरूप बुधबारदेखि लाइन काट्ने अभियान सुरु गरिएको हो।
लिमिटेडका अनुसार देशभरका १० वटा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूले पटक–पटक ताकेता गर्दा पनि भुक्तानी नगरेपछि सेवा अवरुद्ध गर्ने निर्णय गरिएको हो।
लाइन काट्न सुरु गरिएकै दिन बक्यौता रहेका उद्योगहरूबाट करिब १० करोड रुपैयाँ असुली भएको लिमिटेडले जनाएको छ। बक्यौता रकम बुझाएपछि आठ उद्योगको सेवा भने तत्काल पुनः जडान गरिएको छ।
सबैभन्दा बढी कारबाही बालाजु औद्योगिक क्षेत्र मा भएको छ, जहाँ २४ उद्योगको पानी र विद्युत् सेवा काटिएको छ। त्यसपछि हेटौंडा औद्योगिक क्षेत्र का १३, पाटन औद्योगिक क्षेत्र का ७, पोखरा औद्योगिक क्षेत्र का ५ उद्योग कारबाहीमा परेका छन्।
त्यसैगरी बुटवल औद्योगिक क्षेत्र र भक्तपुर औद्योगिक क्षेत्र का चार–चार उद्योगको सेवा काटिएको छ। साथै नेपालगञ्ज, धरान र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका केही उद्योगहरू पनि कारबाहीमा परेका छन्।
बक्यौता रकम बुझाएपछि बालाजुका चार, पाटनका दुई, पोखराको एक र नेपालगञ्जको एक उद्योगको विद्युत् तथा पानी सेवा पुनः जडान गरिएको लिमिटेडले जनाएको छ।
कुल ६३ उद्योगको लाइन काटिएकामा आठ उद्योगले बक्यौता तिरेर सेवा पुनः सञ्चालनमा ल्याएका छन्। यससँगै हाल ५५ उद्योगको पानी र विद्युत् सेवा अझै अवरुद्ध रहेको छ।
लिमिटेडले बिहीबार पनि बक्यौता नतिर्ने अन्य उद्योगमाथि कारबाही जारी रहने जनाएको छ। महसुल असुलीलाई प्रभावकारी बनाउन तथा औद्योगिक क्षेत्रको व्यवस्थापनलाई व्यवस्थित गर्न यस्तो कदम चालिएको लिमिटेडको भनाइ छ।