सिमित सापकोटा
अध्यक्ष
काठमाडौं क्यान्सर सेन्टर
काठमाडौं क्यान्सर सेन्टरको बारेमा बताइदिनोस् न ?
काठमाडौं क्यान्सर सेन्टर सञ्चालनमा आएको आठ वर्ष भइसकेको छ । म भारतमा पढेर आएको विद्यर्थी हुँ । त्यहाँ बस्दाखेरि हामी साथीहरु बीच नेपालमा पनि भारतमा जत्तिकै सेवा सुविधा दिनसक्ने खोलको क्यान्सर हस्पिटल खोल्नुपर्छ भन्ने बारेमा छलफल हुन्थ्यो । त्यसै अनुरुप हामी साथीहरु मिलेर यो क्यान्सर सेन्टर संचालनमा ल्याएका हौं । यसले भारतमा जत्तिकै सेवा सुविधाहरु पनि उपलब्ध गराउँछ ।
हामी संचालनमा आउनुभन्दा अगाडि काठमाडौंमा मुख्य समस्या भनेको रेडियसनको थियो । हामीले रेडियसनलाई नै प्राथमिकता दिनुपर्छ भनेर अगाडि बढ्यौं । हामीले रेडियसनमा आएको नयाँ प्रविधि ‘लिन्डेन एक्सिलेरेटेड’ मेसिनद्वारा उपचार सुरु ग¥यौं । जुन, मेशिन काठमाडौंमा संचालनमा आएका कुनै पनि क्यान्सर हस्पिटलमा थिएन । आजका दिनसम्म आइपुग्दा यस क्यान्सर सेन्टरमा क्यान्सर उपचारमा प्रयोग गरिने सबै प्रकारका उपकरणहरु उपलब्ध छन् । यस सेन्टरले अहिले ४६ जना भन्दा बढी क्यान्सर रोग सम्बन्धि विशेषज्ञता हासिल गरेका डाक्टरहरुले सेवा दिइरहनुभएको छ भने एक सय ४० जना अनुभवि कर्मचारीहरु कार्यरत हुनुहुन्छ ।
नयाँ भवनहरु पनि थपिरहनुभएको छ । अन्य सेवाहरु पनि विस्तार गर्न लाग्नुभएको हो ?
हो, हामीले पूर्वाधार विस्तारसँगै अतिरिक्त सेवा पनि विस्तार गर्दैछौं । अहिले क्यान्सर रोगको वृद्धिदर एकदमै तीव्ररुपमा भइरहेको छ । उपचारको लागि नयाँ–नयाँ आइरहेका छन् । यिनीहरुलाई आत्मसाथ गर्दै हामीले क्षमता विस्तार गर्दैछौं । त्यस्तै क्यान्सर रोगको उपचार पछि विरामी पहिलाकै अवस्थामा फर्काउन सकियोस् भनेर हामी फिजियोथेरापी, दाँतको उपचारको लागि डेन्टल क्लिनिक जस्ता सेवाहरु दिइरहेका छौं । त्यस्तै क्यान्सर रोगको उपचारपछि अपनाउनुपर्ने अतिरिक्त सेवाहरु विस्तार गर्दैछौं । सुरुदेखि नै क्यान्सर उपचारमा हामीले केही न केही नयाँ गरिरहेका थियौं । हामीले फेरि क्यान्सर उपचारमा नेपालमै थप ‘नयाँ केही’ भित्र्याउँदैछौं ।

यस काठमाडौं क्यान्सर सेन्टरको अहिलेको क्षमता कति हो ?
यस सेन्टरमा अहिले ५० बेडको क्षमता रहेको छ । अर्को भनेको क्यान्सरमा एकदमै जरुरी भनेको रेडियसन सेवा हो । मैले अघि नै भनिसेकि यस सेन्टरमा रेडियसनमा पछिल्लो प्रविधियुक्त मेशिन भित्र्याएर क्यान्सरको उपचार गर्ने हामी नै पहिलो हौं । अहिले यस प्रविधिमार्फत प्रत्येक दिन ६० देखि ७० जना विरामीको उपचार गरिरहेका छौं । बेडको हिसाबले ५० बेडको क्षमता भएपनि धेरै विरामीहरुको उपचार हामीले गरिरहेका छौं । गत वर्षको मात्र हामीले एक हजार ८ सय जना भन्दा बढी विरामीलाई उपचार गरेका थियौं । स्थापनादेखि अहिलेसम्मको कुरा गर्ने हो भने हामीले आठ हजार भन्दा बढी विरामीलाई सेवा दिइसकेका छौं ।
अन्य अस्पतालमा नगरी काठमाडौं क्यान्सर सेन्टरमै उपचार गराउन आउनुपर्ने छुट्टै कारणहरु छन् ?
काठमाडौं क्यान्सर सेन्टरमा ४६ जना भन्दा बढी क्यान्सर सम्बन्धी विशेषज्ञता हासिल गरेका डाक्टरहरु हुनुहुन्छ । त्यस्तै पछिल्ला प्रविधिहरुको प्रयोग गरेर उपचार गर्दछौं । दुई तीन वटा यस्ता चिजहरु छन्, जुन क्यान्सरमा हामी मात्र गर्दछौं । जस्तो कि होल बडीलाई एकैपटक रेडियसन दिने सुविधा हामीले मात्र उपलब्ध गराएका छौं । अर्को शरिरको पूरै छालालाई एकपटक रेडियन दिने सुविधा पनि हामीकहाँ मात्र छ । त्यस्तै क्यान्सर भएकै ठाउँमा भित्रबाट पाइप छिराएर दिइने रेडियसन प्रविधि पनि हामीकहाँ मात्र छ । क्यान्सर सम्बन्धी रिसर्च गर्नका लागि छुटै विभाग नै स्थापना गरी क्यान्सर सम्बन्धी विशेषज्ञाता हासिल गरेका व्यक्तिहरुलाई ल्याएर रिसर्च पनि गरिरहेका छौं । विशेषतः अन्तर्राष्ट्रियस्तरको सेवा नेपाली मूल्यमा उपचार गराउन पाउने कारणले गर्दा पनि विरामीले काठमाडौं क्यान्सर सेन्टर नै रोज्ने गरेका छन् । अझ हाम्रो विज्ञता र प्रभावकारी सेवाको चर्चा देश विदेशका चिकित्सकहरुले गर्नुहुन्छ । उहाँहरुकै सिफारिसबाट नै बढी विरामीहरु आइरहनुभएको छ ।

कुन क्षेत्रबाट बढी उपचार गर्न विरामीहरु यहाँ आउँछन् ?
हाम्रो काठमाडौं क्यान्सर सेन्टर भक्तपुरको ताथलीमा अवस्थित छ । यो भनेको उपत्यका भित्र हो । उपत्यका भित्रकै अस्पताल भएकाले बढी मात्रामा उपत्यका भित्रका विरामी आउनुहुन्छ । त्यसपछि उपत्यका आसपासका विरामीहरु आउने गर्नुभएको छ । त्यस्तै उपत्यका बाहिरको कुरा गर्ने हो भने नेपालको सबै ठाउँबाट यहाँ उपचार गर्न आउनु हुन्छ ।
क्यान्सरको वृद्धिदर तीव्र गतिमा बढिरहेको छ । यसको कारण चाँही के होला ?
सबैभन्दा प्रमुख कारण भनेको धुम्रपान नै हो । अर्को भनेको हाम्रो जीवनशैलीमा आएको परिवर्तन हो । अर्थात हामी अल्छि भयौं । शारिरीक कसरत गर्नै छाड्यौं । त्यस्तै प्रदुषण, विषाक्तयुक्त खानेकुरा, फास्टफडको नाममा भित्रिएका तयारी खानेकुराहरु जस्ता कुराहरुले गर्दा क्यान्सर रोगको वृद्धिदर बढिरहेको पाइन्छ ।
क्यान्सरको वृद्धिदर न्युनिकरण गर्न के गर्नुपर्ला ?
क्यान्सर न्युनिकरण गर्ने सबभन्दा उत्तम उपाय भनेको धुम्रपान र सुर्तीजन्य पदार्थ त्याग्नु नै हो । पछिल्लो रिसर्चले के देखाउँछ भने प्रत्येक तीन जनामा एक जना क्यान्सर विरामी चाँही धुम्रपानका कारणले भएको पाइएको छ । त्यस्तै महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढीमात्रामा देखिएको छ । यसलाई न्युनिकरण गर्न सरकारले भ्याक्सिन ल्याएको छ । यो अत्यन्तै राम्रो कुरो हो । अर्को शारिरिक कसरतमा बढी ध्यान दिनुपर्छ । स्वाथ्य खानेकुराहरु खाने । सकेसम्म विषाक्तरहित खानेकुराहरु खाने यी र यस्ता कारणहरु अपनाइयो भने क्यान्सर रोगको न्युनिकरण गर्न सकिन्छ ।
क्यान्सर रोग लागेपछि मरिन्छ । हस्पिटल त विधि पु¥याउन मात्र आएको भन्ने जनमानसको बुझाई छ ? वास्तविकता के हो ?
मुख्य कुरा त क्यान्सर रोग कुन स्टेजमा छ भन्ने कुराले ‘म्याटर’ गर्छ । पहिलो दोस्रो स्टेजको क्यान्सर रोग चाँही धेरै मात्रामा निको हुन्छ । तर चौथो स्टेजको क्यान्सर छ भने निको पार्न सकिदैन । पाठेघरको क्यान्सरको कुरा गर्ने हो भने तेस्रो स्टेजमा पुगेका विरामीहरु ५० प्रतिशत भन्दा बढी विरामीहरु त हामीले निको पारेका छौं । पहिलो दोस्रो स्टेजका विरामीहरु त ८० प्रतिशतसम्म निको हुने गरेका छन् ।

क्यान्सर रोग लागेको कसरी थाहा पाउने ?
क्यान्सरको सबैभन्दा ठूलो समस्या भनेको सुरुमा थाहा नपाउनु हो । तर पनि केही कुराहरु देखिएमा क्यान्सर लागेको शंका गर्न सकिन्छ । जस्तो कि फोक्सोको क्यान्सर लागेको छ भने बढी मात्रामा खोकी लाग्नु, खोख्दा मुखबाट रगत आउनु, महिलाको स्तनमा गाँठो देखापर्नु, दिशा कालो जानु, कुनै घाउ चाँडो निको नहुनु जस्ता कुराहरु देखिएमा क्यान्सर रोगको शंका गर्न सकिन्छ । अर्थात कुनै साधारण रोग पनि चाँडो निको भइरहेको छैन भने क्यान्सर रोगको शंका गर्न सकिन्छ ।
अन्य देशको तुलनामा नेपाल क्यानसर रोगमा कत्तिको सुरक्षित छ ?
पहिला पहिला यसलाई पश्चिमा देशहरुको रोग भनिन्थ्यो । तर अहिले हेर्ने हो भने कम आयस्रोत भएका देशहरुमा बढीमात्रामा देखिन थालेको छ । झण्डै ६० प्रतिशत जति त कम आयस्रोत भएका देशहरुमा नै क्यान्सर छ । त्यसैले नेपाल क्यान्सरबाट सुरक्षित छ भन्ने त कुरै भएन । हाम्रोमा त क्यान्सर बढ्ने क्रम चाँही तीव्र भइरहेको छ ।