२०८३ साउन १२ मंगलबार

सहकारीमा सबैको सहकार्य आजको आवश्यकता

ई आर्थिक    सोमबार, चैत्र २० २०७९
18.7K
Shares
सहकारीमा सबैको सहकार्य आजको आवश्यकता

श्रीकृष्ण बिष्ट

सहकारी विशेष गरेर बचत तथा ऋणको क्षेत्रमा काम गर्ने सहकारी को विकास १९ औं शताब्दीको मध्यतिर जर्मनीमा एफ. डब्लु राइफाइसन र फान्ज शुल्जले गर्दै गर्दा शायद सोचेका पनि थिएनन् होला की २१ औं शताब्दीको मध्यतिर पुग्दा नपुग्दा भुगोलको कुनै देश विशेषमा जनजिविकाको आर्थिक पक्षलाई गुणात्मकरुपमा सकारात्मक प्रभाव छोड्दै लक्षित परिणाम सहित रुपान्तरण गर्न सक्ने सहकारीले नसोचेको समस्या भोग्नु पर्छ होला भनेर ।

इतिहासदेखि बर्तमानसम्मको अवस्थालाई बस्तुनिष्ट भएर मूल्याकन गर्दा, हामीले स्वीकार्नु पर्छ कि गरिविको रेखा मुनि रहेर बाँच्नकै लागि चरम संघर्ष गरिरहेका, सिमान्तकृत र महिलाबर्गलाई आर्थिकरुपमा सबल र सफल गराउँदै आर्थिक विकासको मुलधारमा सशक्त्तरुपमा उभ्याउन सहकारीहरुको अतुलनिय देन थियो छ र रहिरहने छ ।

नेपालको परिपेक्ष्यमा त झन सहकारीको भुमिकालाई सतहि र पुर्वाग्रही भएर अवमूल्यन गर्नै मिल्दैन् । मेचि महाकालि हिमाल तराईमा सरकारी आर्थिक अवयवहको विकास र विस्तार हुनु पुर्वनै सहकारीहरुले अनौपचारीकरुपमै आफ्नो परिचयात्मक भुमिका स्थापित गरेर सानैरुपमा भएपनि आर्थिक क्षेत्रमा सकारात्मक र परिणाममुखि सन्देश फैलाउन शुरु गरिसकेका थिए ।

अथवा यसो भन्दा अतियुक्ति नहोला कि नेपाल सरकारले वि.स २०४८ को सहकारी ऐन नै ल्याउन पनि तिनै अनौपचारीक सहकारी संस्थाहरुको दवावमुलक भुमिका थियो र परिणामतः सहकारी ऐन २०४८ आयो फलस्वरुप नेपाली सहकारी अभियानले निश्चित दिशा र गति पनि पायो । सहकारीहरुको प्रभाव र परिणामलाई हेरेरै नेपाल सरकारले आर्थिक विकासका तिन खम्बा मध्यको एक मजवुत खम्बाकोरुपमा सहकारी क्षेत्रलाई लियो र तदनुरुपनै आबस्यक ऐन नियम नीति मापदण्डहरुको व्यवस्था गर्दै गयो। देशभरमा आज २८००० भन्दा बढी सहकारीहरु सहकारी ऐन २०७४ र नियम २०७५ बाट निर्देशित तथा सञ्चालित छन ।

नेपालको सन्दर्भमा सहकारीको हालको स्थिति त्यति सन्तोषजनक छैन्, सहकारीले तिनै बचतकर्तालाई दुःख दिईरेको छ जस्को कारण सहकारीले बैंक तथा वित्तिय क्षेत्र संग सोझो प्रतिस्पर्धा गर्न सकिरहेको छ । बचत सुरक्षाको न्युनतम प्रत्यभुति छैन् । अन्धाधुन्दा अनुत्पादक क्षेत्रमा (विशेष गरेर घर जग्गाको क्षेत्र) लगानि गरेका कारण धेरै सहकारी कि त डुब्दै छन् कि भाग्दै छन्, सरकारले सहकारीलाई लगाम लगाउन ढिला भईसक्यो ।

सहकारहरु ठग्नकै लागि जन्मेका संस्था हुन् भनेर एउटै बास्केटमा समग्र सहकारी क्षेत्रलाई जवरजस्ति राखेर ठुलो आवाज बनाउनेको संख्या र समुह बढ्दै गईरहेको अवस्था अहिलेको तितो वास्तबिकता बनिरहेको छ । एकचोटी हामी सबैले छातिमा हातमा राखेर सो्चौं त– के वास्तबमै तिन खम्बा मध्यको एक खम्बाको समग्र स्थिति यति जरजर भएकै हो त ? के सम्पूर्ण सहकारी क्षेत्रनै बदनाम भईरहेका हुन त ? समुदायमा आधारित भएर, हर समय समुदाय संगै रहेर, समुदायलाई विभिन्न कोणबाट सशक्तिकरण गर्दै अघि बढीरहेका सहकारीहरु पनि त्यहि दिशातिर लागेकै हुन त ? वा यि तमाम समाचारहर प्रायोजितरुपमा मात्रै आएका हुन की ? मर्फिस ल ले भन्छ ‘कुनै पनि कुराको जति बढी डर महशुस गर्यो त्यति नै त्यो कुरा घटित हुने सम्भावना बढेर जान्छ ।’ कतै हामी जानि जानि सहकारी क्षेत्रमा डरको वाताबरणलाई त बढाईरहेका छैनौं ?

सहकारी क्षेत्रमा खराबि नभएका होईनन्, खराब मान्छेको उपस्थितिले पक्कैपनि केही सहकारी संस्थाहरु धराशाहि भएकै छन् । वचतकर्ताहरु रोएकै छन् । सञ्चालकहरु रातारात भुमिगत भएको समाचारहर पक्कै पनि झुठा होईनन् । तर यस्को मतलब सारा सहकारी क्षेत्रनै अस्तव्यस्त भयो, सहकारीमा पैसा बचत नगरौं, भनेर बचतकर्ताहरुलाई त्रसित बनाएर सहकारी क्षेत्रमा डरको वाताबरण श्रृजना गर्ने गर्नु भनेको चाहिँ सहकारीको गौरबमय इतिहाँस माथि अनन्याय गर्नु हो । अरबौं रुपयाँको लगानीलाई थप असुरक्षित बनाउनु हो ।

पच्चासौं हजार रोजगारीलाई चिल्लिविल्लि बनाउनु हो । खरबौको बचत र लगानिलाई तहसनहस बनाएर अर्को पक्षको पृष्टपोषण गर्नु हो भन्ने यथार्थतालाई गम्भिररुपमा बुझ्न बचतकर्ता, ऋणी सदस्यहरु, नियामक निकायहरु र सहकारी अभियान लगायत समग्र सहकारी क्षेत्रले अब बुझ्न ढीला गर्यो भने चाहिँ वास्तबमै समग्र सहकारी क्षेत्र र यस्मा प्रत्येक्ष अप्रत्येक्षरुपमा लागिरहेको वर्ग समुदायले ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ ।

सहकारी क्षेत्रमा हाल विकसित घटनाक्रमलाई सुक्ष्मरुपमा अध्ययन गर्ने हो भने दोष एउटा पक्षको मात्रै छैन। सहकारी भनेको तिन खम्बे अर्थनीतिको एक मजबुत खम्बा हो है भनेर भाषण गर्ने अनि बाँकी समय फर्केर नहेर्ने सरकारी उदासिनता, ३६५ दिननै कोपोमिस कोपोमिस भनेर हुटहुटी लगाउने तर एउटै घरमा पाँचवटा सहकारीको बोर्ड झुण्डेको नदेख्ने र निमुखा साना पुँजी भएका र राम्रो गर्दैगरेका वा गर्न प्रयास गरिरहेका सहकारीहरुलाई अनुगमन ठुला र मै हुँ भन्ने सहकारीलाई आहा कति राम्रा भन्दै उनिहरुका कृयाकलापलाई नजरअन्दाज गर्ने र आज बचतकर्ता रुवाउने अवस्थामा पुगेपछि बल्ल फिल्डमा निस्के जस्तो गर्ने नियामक निकायहरु, सहकारी खोलेर रातारात धनि हुन योजनाबद्धरुपमा लाग्ने र सदस्यका बचत खर्च गरेर ठुला ठुला तारे होटल जस्ता भवन बनाउन तँ छाड म छाड गर्ने, सोझा र निमुखा सदस्यहरु लोभ्याउन धेरै प्रतिशत व्याजको लड्डु बाँड्ने निहित स्वार्थमा चुर्लुम्म डुवेका सञ्चालकहरु लगायत शयौं किलोमिटर टाडाको कुनै अमुक सहकारी भाग्यो रे भन्ने युट्युबे समाचारको भरमा लागेर बुझ्दै नबुझि बचत झिक्न लिगलिगकोटको दौड प्रतियोगिताको प्रतियोगि जसरी एकैपटक लाईन लागेर लौ मेरो बचत फिर्ता गर भन्दै नारा जुलुसमा उत्रिन पछि नपर्ने अविवेकी बचतकर्ता, सहकारी डुबोस् ऋण मिनाह हुन्छ भनेर धुप हालेर बस्ने अनि किस्ता व्याज तिर्न शय चोटी धाउन बाध्य पार्ने ऋणी सदस्यहरु र लाईक भ्युजको लोभमा सहकारीको पछाडि तिन छट्टु र एक बाहुनको कथा जस्तै हात धोएर लाग्ने केही कथित अनलाईनहरु सबै सबैको दोष छैन भन्न सकिने अवस्था छैन् ।

वास्तबमा सहकारीमा समस्या आउनु भनेको एउटा सकहारीको सामान्य समस्या मात्रै हैन, यस्ले देशको समग्र अर्थतन्त्रलाई नै जरैसंग हल्लाउँछ, यसर्थ पनि आजको तडकारो आवश्यकता भनेकै सहकारी बचाउन सम्बद्ध सबै क्षेत्रको गुणात्मक सहकार्य नै हो ।

(श्रीकृष्ण बिष्ट भक्तपुरका सहकारी अभियान्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij