डा. शूरवीर पौड्याल
आजकाल सामाजिक संजालमा गणतन्त्रलाई दोषारोपण गरेर थुप्रै पोष्टहरु आएका हुन्छन् मानौं आज देशमा देखिएका थुप्रै बेथितिको एउटा मात्रै जड गणतन्त्र र संघीयता हो । हिजोको पंचायती र राजतन्त्रात्मक शासन व्यवस्थामा अमनचयन थियो, सबै खुसी र सुखमा थिए। त्यसो कदापी होइन, पंचायतमा पनि थुप्रै वेथिति थियो र मानिसहरुमा उकुसमुकुस थियो । अहिले पनि पञ्चायत भोगेर आएका हामीजस्ता थुप्रै मानिसहरु जिउंदै छन् । अन्याय अत्याचार र व्यापक असन्तोष थियो। राजदरवारका मानिसहरु र तीनका आसेपासेहरु भ्रष्टाचार र कुशासनमा संलग्न थिए । बहुदलीय व्यवस्था आउंदा मानिसहरु खुसी थिए।
किनकि बहुदलीय शासन व्यवस्थामा कानुनको शासन हुन्छ आफूले रोजेका नेताहरुले शासन गर्छन् र पंचायतकालीन बेथिति सबै रोकिन्छ, देशमा सुशासन र विकास आउँछ, हाम्रो देश पनि अमेरिका, जापान, क्यानाडाजस्तो विकसित हुन्छ भन्ने थियो । पढालिखाहरुले बुझेका थिए ती देशहरुले अपनाएको राजनीति व्यवस्था नै हामीले पनि अपनाएका थियौ २०१७ मा बलात् खोसिएको प्रजातन्त्र नेपालमा फर्किएर आएको थियो । पंचायती व्यवस्थाले अल्प विकास ल्यायो बहुदलीय व्यवस्थाले सुशासन र तीब्र विकास ल्याउँछ । मानिसहरुमा नयां उत्साह, उमंग र जाँगर उर्लिएर आएको थियो । त्यससमय बहुदलीय नेताहरु देवतातुल्य पूजनीय लाग्थ्यो, उनीहरुका लामो अथक संघर्ष, जेलनेल, प्रवास निर्वासन, त्याग बलिदान र तपस्याको अनेकौ गाथाहरु संझेर सुनेर उनीहरुको अघि शीर त्यसै त्यसै निहुरिन्थ्यो ।
एकथरि मान्छेहरु भन्छन् पंचायत र राजतन्त्र गएर बहुदलीय व्यवस्था फर्किनुमा बाह्य कारण नै प्रमुख हो । यस पंक्तिकारलाई भने बाह्य शक्ति नै प्रमुख कारण हो भन्ने लाग्दैन । निश्चित् रुपमा देशभित्रको आन्तरिक असन्तोष नै बहुदलीय व्यवस्था फर्किनु र राजतन्त्र जानुको प्रधान कारण थियो र बाह्य हस्तक्षेप सहायक कारण थियो । तर पनि यी दुवै परिवर्तनको पटाक्षेपमा निर्णायक भूमिका छिमेकी भारतको रहेको पाइन्छ । त्यति मात्रै किन मधेश आन्दोलन र २००७ को परिवर्तनमा पनि आन्तरिक कारण नै प्रमुख रहेको थियो र भारतको सहयोगी भूमिका रहेको जगजाहेर छ । मतमतान्तर हुनस्रक्छ तर धरातलीय यथार्थ यही नै हो ।
२०४६ साले परिवर्तनले नयां संविधान दियो । मजस्तालाई निर्धक्कसंग बोल्ने लेख्ने अधिकार दियो। आफूले चाहेको उमेदवारलाई भोट खसाल्ने मताधिकार पनि दियो चाहेमा आफै उमेदवार हुने अधिकार पनि दियो ।
असिको दशकको उत्तरार्धमा प्रारम्भ गरेको उदारीकरणलाई अरु विस्तार गरेर उपभोक्तालाई विभिन्न थरि वस्तुहरु छनौट गर्ने अवसर पनि दियो, देशभित्र अनेक थरी विदेशी वस्तुहरु भित्रिन थाले । विदेशी डिपार्टमेन्टल स्टोरहरुमा पाइने वस्तुहरु खरिदविक्रीनिम्ति काठमाडौंमा सुपर स्टोरहरु स्थापना भए । वैदेशिक रोजगारी खुला गरियो र रेमिट्यान्स ओइरिन लाग्यो । यसले विदेशी मुद्राको दुख भएन यसको आडमा जतिपनि विदेशी उपभोग्य सरसामानहरु झिकाउन सकिने भयो । पञ्चायत कालमा हंगकंग बैंककको तैयारी पोशाकमा सीमित काठमाडौंको विदेशी आयातमा विविधिकरण भएर समुन्द्रपारिसम्म विस्तार भयो ।
विकासे अड्डाहरु अर्थात् विदेशी र स्वदेशी आइएजीओको संख्या अचानक वृद्धि भयो । हवाइ यातायात, शिक्षा र स्वास्थ्यआदि क्षेत्रहरुमा पनि निजी क्षेत्रको लगानी खुला गरियो । लगानी बढेसंगै आर्थिक वृद्धिमा बढोत्तरी हुनु स्वभाविक थियो भयो । तर योसंगै पंचायतकालीन वेथितिमा विस्तार भयो, सार्वजनिक संस्थानको निजीकरणलगायतका कैयौ निर्णयहरुमा वहुमतीय नेकां दलको गिरिजाप्रसाद सरकारले नीतिगत भ्रष्टाचार गर्यो । हिजोका त्यागी नेकां नेताहरु भ्रष्टाचार गरेर खुलेयाम रुपमा संपत्ति आर्जन गर्नतिर लागेको देखियो । चैतेहरुको प्रवेश नेकामा गिरिजाले गराए र पुराना नेता कार्यकर्ताहरुलाई अपमानित गरे ।
नेकाभित्र ७४ र ३६ को विभाजन भै दुई उपदल निर्माण भएको देखियो । अल्पमतलाई छत्तिसे भनियो । सुशासन र विकासको आशामा बसेका जनता निराश भए । असन्तोष फैलियो । नेकाकै सच्चा प्रजातन्त्रवादी कांग्रेसी नेताको चित्त कुंडियो र उनीहरुले गिरिजालाई प्रम पदबाट राजीनामा दिन पहिले त दबाब दिए त्यसपछि केही नलागेपछि आफै पलायन भए ।
हिजो पञ्चायती व्यवस्थाविरुद्ध संगसंगै जेलनेल खाएका मन्त्री हुन नपाएकाहरुले खिचलो निकाल्न थाले । किनकि उनीहरुका पनि घरपरिवार थिए आर्थिक संकट उनीहरुको परिवारमा पनि थियो । फलतः नेका आन्तरिक झगडामा फस्यो ।
प्रधानमन्त्री गिरिजाप्रसादले आफ्नो दलको सुविधाजनक वहुमत भएको संसद विघटन गरे र आफ्नो दलभित्रको झगडा उत्कर्षमा पुगेका समयमा मध्यावधि निर्वाचनमा गए । निर्वाचन परिणामले एमालेलाई सबैभन्दा ठूलो दल र नेकालाई दोस्रो दलमा खुम्चिने बनायो । मध्यावधि चुनावअघि नै गिरिजाको कुशासन र कांग्रेसी झगडाले ल्याएको बढ्दो अ्रन्योल र असन्तोषले ल्याउने सम्भावित राजनीतिक अस्थिरतालाई आंकलन गरेर जनमत संग्रहमा वहुदललाई भोट हालेको चौम नामक कम्युनिष्ट दलको एउटा सानो घटक जनयुद्धमा होमिएको थियो ।