२०८३ साउन ९ शनिबार

सीईओ रिजाल : सहयोगी बैंकलाई उचित व्यवस्थापन मात्रै गरेनन्, हरेक पक्षमा बैंकले एउटा राम्रो गति लिएको छ, विस्तृत अन्तर्वार्तासहित

ई आर्थिक    मंगलबार, जेष्ठ २१ २०७६
13.1K
Shares
सीईओ रिजाल : सहयोगी बैंकलाई उचित व्यवस्थापन मात्रै गरेनन्, हरेक पक्षमा बैंकले एउटा राम्रो गति लिएको छ, विस्तृत अन्तर्वार्तासहित

‘सहयोगी विकास बैंकले २० प्रतिशत लाभांश दिदैछ’

हरेक पक्षबाट खस्कदै गएको सहयोगी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत विनय रिजालले १८ महिना विताए । नयाँ घर बनाउन जति सजिलो हुन्छ । तर चारैतिरबाट भत्किन थालेको पुरानो घर बनाउन साह्रै गाह्रो हुन्छ । यसरी नै भत्किन थालेको घर जस्तो सहयोगी विकास बैंकलाई उनले पुरै नयाँ रूप दिएका छन् । चुनौती मोलेरै बैंकमा छिरेका उनले १८ महिने छोटो अवधिमै बैंकलाई सबैले मन पराउने एउटा सुन्दर घरजस्तै बनाइदिए । बैंकको सफल व्यवस्थापन गर्दै उनले बैंकलाई अत्याधुनिक प्रविधिसहितको बैंक बनाए । शाखा विस्तारसँगै ग्राहक बढाउन उत्तिकै भूमिका निर्वाह गरे । निक्षेप बढाउने देखि लगानीकर्तालाई नाफा लगायतका सबै सूचकांकमा उल्लेख्य सुधार गरे । उनकै कार्यकालमा बैंकको भवन निर्माण निर्माण सुरू भयो । त्यो भन्दा महत्वपूर्ण बैंकको प्रतिष्ठा र गरिमालाई देशव्यापी बनाएका छन् । बैंकिङ क्षेत्रमा आफ्नो २२ बर्षको अनुभव उनले यो बैंकमा सदुपयोग गरेका छन् । १८ महिना सहयोगीमा रहँदा उनले अरू के–के गरे ? विस्तृत अन्तर्वार्तासहित

सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा तपाई झण्डै १८ महिना रहनुभयो । तपाईको १८ महिने कार्यकाल कस्तो रहयो ?

मेरो १८ महिने कार्याकाल, मेरो सोचाई अनुसार रहेन । मैले जुन हिसाबले काम गर्छु र बैंकको भविष्यमा योगदान दिन्छु भन्ने लागेको थियो, त्यो हुन सकेन । मैले बनाएको सोचाईमा ४० प्रतिशत मात्र काम हुन सक्यो । मेरो उद्देश्य यो बैंकलाई राष्ट्रियस्तरसम्म पु¥याउने लक्ष्य थियो । जुन लक्ष्य अन्य भन्दा पनि बैंककै आन्तरिक कारणले गर्दा पुरा हुन पाएन । म यस बैंकमा आउँदा जुन उत्साह, योजना र रणनीति बोकेर आएको थिए त्यो बैंककै आन्तरिक कारणले लागू गर्न सकिएन ।

तपाईले व्यवस्थापकीय नेतृत्व लिंदाको अवस्थाको बैंक र नेतृत्व लिएपछि आजको अवस्थाको बैंकमा के फरक छ ?

मैले नेतृत्व लिदा, कर्मचारीहरु आफ्नो भविष्यको बारेमा अन्योलमा थिए । बैंकको शाख बजारमा गिरेको अवस्था थियो । कर्मचारीहरुको छोड्ने क्रम बढिरहेको थियो । निक्षेप घट्ने क्रमका साथै कर्जामा असुलीको अवस्था नाजुक थियो । साच्चै भन्नु पर्दा बैंकले आफ्नो शाख बचाउन सक्ने वा नसक्ने र बैंकको व्यवस्थापकीय अवस्थामा थप अन्यौलता थियो । कर्मचारीहरुको मनोवल कारण तथा बजारमा अनेक किसिमका हल्लाले गर्दा बैंकको खाताबाट निक्षेप बाहिरिने अवस्थामा थियो ।

तपाइको नेतृत्व सञ्चालन भएपछि बैंकमा के कस्ता सुधार भए ?

मेरो लागि सबैभन्दा चुनैतिको विषय पहिलो बैंकको शाख बचाउने थियो । दोस्रो कर्मचारीहरुको मनोवल बढाउनु थियो । तत् पश्च्यात मात्र बैंकको प्रगतिको बारेमा सोच्ने अवस्था थियो । पहिलो ३ महिना मलाई यही अन्योलता सम्हाल्न नै प्राथमिकताको विषय बन्यो । २०७४ को तेस्रो त्रैमासिकमा बैंकको वासलातलाई पनि वलियो बनाउनु पर्ने दायित्व पनि म माथि नै थियो । क्रमिकरुपमा आएको चुनैतीहरुलाई क्रमशः निराकरण गर्दै, बैंकको २०७४÷७५ को वासलातमा खुद नाफा १० करोड ८८ लाख कमाउन सफल भए भने १७ प्रतिशत लाभांश वाड्न पनि सफल भएको सबैलाई विदितै छ । यसको अलावा बैंकका विभिन्न परिसुचांक जस्तै स्प्रेड रेट ६.५ प्रतिशत कष्ट अफ फण्डमा ७.१७ प्रतिशत, बेस रेट १२ प्रतिशत र ननपरफरमिङ्ग लोनको पोर्सनलाई ०.३१ प्रतिशतमा कायम गर्न सफल भएको सबैलाई स्पष्ट नै छ । ६ महिनाको अवधिमा मैले बैंकमा धेरै गरे जस्तो लाग्छ ।

तपाइको नेतृत्वको समय यस बैंकबाट जनकपुरका सेवाग्राहीहरूले के कस्ता कुराको अनुभुति गर्न पाए जस्तो लाग्छ ?

मेरो नेतृत्वको समयमा जनकपुरका यस बैंकका ग्राहकहरुले प्रिभिलेज बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, मोवाइल बैंकिङ्ग तथा एटीएम सहितको आधुनिक बैंकिङ सुविधाको अनुभुति गर्न पाए भने बजारमा ३६ प्रतिशत व्याजमा कर्जा लिने ग्राहकहरूले सस्तो व्याजदरमा पनि कर्जा पाइने अनुभुति गरे । कृषिजन्य ऋणहरू कम व्याजमा उपभोग गर्न पाए भने, विपन्न वर्ग तथा प्रथमिक कर्जाहरु सस्तो व्याजदरमा लिएर त्यसको सदुपयोग गर्ने अनुभुति यहाँका सेवाग्रहिले गर्न पाएका छन् । यसका साथै घर दैलो कार्यक्रमबाट बैंकिङ्ग साक्षरताको अनुभुतिका साथै, करीब २० हजार भन्दा बढी ग्राहक यस बैंकसँग आवद्ध भए । त्यसैगरी निक्षेपको हकमा अन्य बैंकहरुको तुलनामा राम्रो व्याजदर तथा बचत गर्ने बानी र यसका फाइदाहरुको ज्ञान, आवश्यक्ता, बैंकिङ्ग साक्षरताबाट सिक्न पाए । उद्योग, कल कारखाना तथा दैनिक व्यापार, व्यवसाय गर्नेहरुले स्थानिय बैंक, विकास बैंक भए पनि वाणीज्य बैंक सरह सुविधा दिन सक्दो रहेछ भन्ने अनुभुती गर्न पाएका छन् ।

सहयोगीको सुन्दर भविष्यको लागि तपाइले के कस्ता योगदान दिनुभयो ?

सहयोगी विकास बैंकको सुन्दर भविष्यका लागी मैले मेरो छोटो समयमा मुख्य ३ वटा काम गर्न पाएँ । पहिले कर्जा व्यवस्थापनलाइ नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार व्यवस्थित गर्ने, दाश्रो यस बैंकमा कार्यरत कर्मचारीहरुको लागि आवश्यक प्रशिक्षण, मनोवल उठाउनका लागि आवश्यक तालिम, तथा कर्मचारीको सुविधाको साथै वहाँहरुको सही व्यवस्थापन, गरे भने तेस्रोमा बैंकको अन्य आयस्रोत बढाउनका लागि अति आवश्यक सुधारहरु जस्तै प्रविधिको विकास, ग्राहकहरुको सुविधाको लागी शाखा विस्तार, बैंकको बैकल्पिक आयश्रोत तथा बैंकको शाखलाई उठाउन आवश्यक बैंकको सहि परिचय नेपालभर फैलाउने र वलियो बनाउने काम गरे । सुबिधामा विस्तार र नेपालका ठूला वाणिज्य बैंकहरूसँग सहकार्य गरेर यसको आम्दानीलाई बढाउने कार्य गरे । भिसा कार्ड, युटिलिटी विल पेमेन्ट जस्ता आवश्यक सुविधा मोवाइल बैंकिङबाट पनि दिलाउन सकेको जानकारी नै छ । यसको अलावा व्याज आम्दानीको स्रोत बढाउने काम भएकै हो ।

तपाईको नेतृत्वकाल सफल भएको हो ? यसलाई कसरी पुष्टि गर्नुहुन्छ ?

सफल वा असफल भन्ने कुरा त मैले भन्ने होइन । यो ग्राहक, सेवाग्राही, बजार तथा सम्बन्धीत निकाय र तपाईहरु जस्तो व्यक्तिहरूले औल्याउने हो । म के भन्छु भने, मेरो कार्यकालमा बैंकले सबै क्षेत्रमा विकास, विस्तार र विश्वास बढाउन सफल भयो । कर्जा, निक्षेप, शाखा विस्तार व्यवसायिकस्तर देखी स–साना ग्राहाकहरुले समेत बैंकबाट सुबिधा पाउन सके । त्यसैले त ६० हजार ग्राहकबाट ८५ हजार ग्राहक बनाउन बैंक सफल भयो । छोटो अवधिमा यस्तो प्रतिस्पर्धाको वेला २५ हजार खाता झण्डै १७ महिनामा पुग्न कुनै सजिलो विषय होइन । करिब ३ अर्ब ऋणबाट बैंकले खराब कर्जालाई हटाएर न्युनतम अवस्थामा ल्याई, ४ अर्व ऋण कर्जा बनाउन सफल भयो । अहिलेको क्षमता लाई हेर्ने हो र अहिलेको बजारमा देखिएको निक्षेपको असुरक्षित प्रतिस्पर्धामा ९० करोड निक्षेप बढाउन सामान्य कुरा होइन । त्यस्तै व्याज आम्दानी र संचीत रकममा उल्लेख्य प्रगति भएका छन । हाम्रो जस्तो सानो बैंकको लागि धेरै ठूलो कुरा हो । कर्मचारीहरु विश्वास गरेर यही बैंकसँग आवद्ध हुनु, बजारमा बैंकको शाखामा सुधार आउनु, बैंकले १७ प्रतिशत लाभांश वाड्नु, शेयर मुल्य अन्य बैंकको तुलनामा स्थिर भई राम्रो मुल्यमा समावेश भई बस्नु, ग्राहकहरुको सुविधामा सोचे भन्दा बढी दिन सक्नु नै सफलता हो भन्ने मलाई लागेको छ । आज पनि अर्निङ्ग पर सेयरमा विकास बैंकहरू मध्ये सबैभन्दा बढी यही बैंकको छ । तत् पश्च्यात निक्षेपमा चल्तीको अंश ७ प्रतिशत बचतको अंश ७० प्रतिशत र मुद्धतीको अंश २३ प्रतिशत रहनुले बैंकको निक्षेपको समायोजन बलियो रहेको प्रष्ट हुन्छ । त्यसैगरी कर्जामा व्यक्तिगत कर्जा जम्मा ८ प्रतिशत र सामाजिक कर्जा ११ प्रतिशत मात्र हुनाले नेपाल राष्ट्र बैंकको नीति निर्देशनको पालना भएको प्रष्ट छ । यसैगरी हाल स्प्रेड ६ प्रतिशतमा रही २० प्रतिशत लाभांश दिने सक्ने बैंक बन्नुमा बैंक धेरै बलियो छ भन्ने प्रष्ट हुन्छ । त्यस्तै बैंकले कर्जा जोखिम भाराङ्कलाई घटाएर १ प्रतिशत भित्र समेटन सकेको छ । बैंकको परिसुचांकहरुको सुधारले गर्दा शेयरधनी महानुभावहरू तथा ‘स्टेक होल्डर” हरू पनि खुसी छन् । सेवाग्राहीहरू थप सुविधाबाट लाभान्वित छन् ।

तपाइको सवल पक्ष र कमजोर पक्षहरु के–के हो ?

मेरो सवल पक्ष भनेको म कुनै पनि विषयलाई अध्ययन गर्दा सम्बन्धित पक्षसँग वार्तालाप गरी निचोडमा आउने हो । त्यसैले म बैंकिङ्ग पद्दतीको विकासको लागि बनाइएका आधारभुत व्यवस्था र नेपाल राष्ट्र बैंकका निर्देशन भित्र रहेर काम गर्नु पर्छ भन्ने हो । साथै सबैसँग खुलेर रमाउने व्यक्ति हो यी मेरा सवल पक्ष हुन भने कमजोर पक्षमा म अनावश्यक कुरामा झुक्दिन र म सजिलै सकारात्मक देख्छु र कसैको चित्त नदुखाउने मेरो सबै भन्दा कमजोरी हो । जसले गर्दा मलाई कतै कतै अनावश्यक लांन्छना लाग्ने गर्छ । म त्यो कुरा सहन सकदिन, यो सुधार गर्न धैरै कोशिस गरे, तर पनि खै, रगतमा नै छ कि के हो, सुधार हुन सकेन । त्यसैले बेला बेलामा बिदा बसेर ध्यान गर्न, पुजा गर्न र धार्मिक क्षेत्र तिर परिवारसँग घुम्न पनि जान्छु ।

एउटा सफल प्रमुख कार्यकारी अधिकृतका लागि के कस्ता गुणहरू हुनु पर्दछ ?

एउटा सफल प्रमुख कार्यकारी अधिकृतको लागि सबैभन्दा पहिलो निष्पक्ष भएर निर्णय गर्ने सक्ने, नीति नियमको ९९.९ प्रतिशत अवलम्वन गर्ने र त्यसलाई व्यवस्थितसँग कार्यन्वयन गराउने क्षमता हुनुपर्छ । यसको मतलव प्रशासनमा अलि कडा, वलियो हुनुका साथै, इमान्दार, मेहनति तथा धर्यवान हुनु अति आवश्यक छ भन्ने मलाई लाग्दछ ।

सहयोगीमा आएपछि तपाईले गर्नुभएका मुख्य तीन वटा ठूला कार्य के–के हुन सक्छन् ?

सहयोगी विकास बैंकको नेतृत्व सम्हाले पछि मेरो मुख्य ३ वटा कार्यमा पहिलो, बैंकलाई नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सञ्चालन गर्ने गराउने, कार्यान्वयन पक्षमा कमजोर हुन नदिई यसलाई अक्षरसः पालना गराउने पहिलो कार्य हो । त्यसैगरी दोस्रो ठूलो कार्यमा यस बैंकको प्रविधिक विकास, शाखा विस्तार र कर्मचारीको मनोवल कायम गरी बैंकको परिसुचांकहरुलाई मजवुत बनाउनु नै थियो । तेस्रोमा बैंकको गिरेको शाखलाई माथि उठाउने र वित्तीय व्यापारबाट हुनसक्ने अधिकतम् प्रतिफल कमाएर शेयरधनि महानुभावहरुलाई सन्तुष्टि दिने थियो । सरल भाषमा भन्नु पर्दा स्टेक होलडरहरुको विश्वास जितेर खुद नाफा बढी भन्दा बढी आर्जन गर्ने नै थियो । जुन मेरो कार्यकालको छोटो अवधिमा गर्न सफल भए जस्तो लाग्छ । हामीले १५ वर्षमा नभएका सुधारका कामहरुको सुरुवात गरी धेरै भन्दा धेरै काम गर्न सफल भयौं ।

बैंकको लगानी, परिसुचांकको अवस्थालाई तपाईको योगदान कस्तो रहयो ?

मैले नेतृत्व सम्हाल्दा सहयोगी बैंकको निक्षेप ३ अर्व ४५ करोड ४६ लाख थियो भने आज यस बैंकको निक्षेपमा करिब ९१ करोडले वृद्धि भई ४ अर्व ३७ करोड ३५ लाख भएको छ । त्यसैले खराब ऋणहरूलाई व्यवस्तित गर्दै, बैंकबाट हटाउने कार्यका साथै कर्जा तर्फ १ अर्व १ करोड ८५ लाख वृद्धि भई जम्मा कर्जा ४ अर्व १ करोड ८५ लाख भएको छ । बैंकको जम्मा ८ शाखा बाट आज १४ वटा शाखा भएका छन् । घाटामा रहेका शाखाहरुलाई व्यवस्थित गरी नाफामा परिणत गर्नुका साथै, यसपालि २० प्रतिशत लाभांस दिन सकिने अवस्थामा बैंक छ । नयाँ खुलेका शाखाहरु पनि यसै वर्ष नाफामा आउने प्रवल सम्भावनामा रहेका छन् । ग्राहकहरुको सन्तुष्टिका कारण हाल ८५ हजार भन्दा बढी यस बैंकसँग आवद्ध छन् । बैंकले विपन्न वर्ग प्राथमिक क्षेत्र र कृषि क्षेत्रको लागि नयाँ सोच र अवधारणलाई अगाडी बढाएर कम व्याजदरमा सुविधा दिदै आएको छ । यस क्षेत्रको महिलाहरू तथा स–साना व्यवसायीहरुको लागी सामाजिक, व्यक्तिगत तथा अन्य कर्जामार्फत सुविधा दिइएको छ । विभिन्न व्यापारीक संस्थासँग समन्वय गरी हायरपर्चेज कर्जा, ऋण सुविधा उपलब्ध गराएकै छ । अधिकांश परिसुचांकहरु बैंकको सुधारमा देखिएकै छ । त्यसैले एनपीएल, बेस रेट र कष्ट अफ फण्ड देखि प्राइसिङ्गहरू सबै सुधार भएका छन् । बैंकको परिसुचांकहरुको राम्रो भएको छ । बैंकको लागि यो ठूलो उपलब्धि हो ।

तपाइको अनुभवबाट भन्नु पर्दा सीईओको राम्रा र नराम्रा ३–३ वटा पक्षहरू के के हुनसक्छन् ?

मेरो आफ्नो व्यक्तिगत विचारमा भन्नु पर्दा सिइसोको राम्रो पक्षमा पहिलो इमान्दारीता, दोस्रो धैर्यता र तेस्रो मेहनत नै हो । प्रशासनतर्फ फितलो हुनु, नाकारामक सोचले अगाडी बढ्नु र कसैलाई नकारातमक मुल्याङ्गन गर्नु तथा बजारका सुचना सँग अनभिज्ञ हुनु हो ।

तपाइले सहयोगी विकास बैंकको सीईओ पद छाड्न लागेको सुनिन्छ ? के कति कारणले बैंक छाड्दै हुनुहुन्छ ?

सञ्चालक समितको २७३औ बैठकमा मेरो राजीनामा माग भयो । के किन र कति कारणले त्यो सबै स्पष्ट गर्न खोज्दा पनि कुरा मिलेन र मैले पनि बैंकको स्थायित्व र भविष्य माथी नकारात्मक स्थिति नआओस भन्ने मनसायले राजीनामा दिएको हुँ ।

बैंकमा तपाई चार बर्षको लागि लागि नियुक्त हुनुभएको थियो ? तर १८ महिनै नपुग्दै छाड्नु हुदैछ । यसले बैंकका ग्राहक र शुभचिन्तकमा कस्तो सन्देश जाला ?

म यस बैंकको प्रमुख कार्यकारी पदको लागी ४ वर्षको लागि नियुक्त भएको थिएँ । तर छोटो समयमा जानु प¥यो । यसले बैंकका ग्राहक, शुभचिन्तक तथा नियमन निकाय देखि शेयर धनिहरुलाई अवश्य पनि नकारात्मक सन्देश जान्छ । वित्तिय बजारमा भएको अवस्थाको विश्लेषण राम्रोसँग नभई यस्तो कुराले अवश्य पनि राम्रो शन्देश जादैन । यो कुरा त वहाँहरुले बुझनु पर्ने हो ।

तपाईलाई सहयोगी विकास बैंकमा सीईओ भएर काम गर्ने शिलशिलामा कुनै दुःख लाग्ने घट्ना पनि व्यहोर्नु प¥यो ?

काम गर्ने क्रममा साना–तिना, झिना मसिना कुराहरु त भैहाल्छन्, तर जुन आश्वासनमा आएको थिए सो हुन सकेन । २०७४÷०७५ को आर्थिक वर्ष पछि व्यवहार म प्रति गरियो, त्यसले मलाई अत्यन्त दुःख लाग्यो । मेरो स्थानमा आ.व ०७५÷०७६ को श्रावण महिनाबाट नै खोज्ने प्रयास भए र सो को जानकारी मलाई भएपछि दुःख लागेको थियो ।

संचालक समितिका अध्यक्षसँगको तपाईको मनमुटावको तथ्य वाहिर आएको छ । यथार्थ कुरा के हो ? त्यही मनमुटाबका कै कारणले बैंक छोड्न लाग्नु भएको त होइन ?

मैले पहिले नै भने, केहिहद सम्म त्यो सत्य हो ! वास्तविकतामा भन्नु पर्दा वहाँसँग मेरो सामञ्जस्यता हुन सकेन । उहाँले आफ्नो अडानमा छोड्नु भएन । त्यसैले मैले त्यस संस्थामा रहिरहन् उचित ठानिन् र १५ औ साधारणसभाको कार्यक्रम सकाएर बैंक छोड्ने निर्णय गरेको हो । यो निर्णयले मैले धेरै कुरा बुझने र वास्तविकता सिक्ने अवसर पाएँ । म उहाँलगायत सबै सदस्यहरुलाई शुभकामना सहित धन्यवाद दिन चाहान्छु ।

तपाइले बैंकलाई जिल्लास्तरबाट राष्ट्रियस्तरसम्म चिनाउने र बलियो बैंकको रुपमा रहन प्रयास गर्दा पनि तपाईलाई सञ्चालक समितिले किन बैंंक छोड भन्नु पर्ने अवस्था बनायो ?

म यो कुरामा जान चाहान्न । एउटा सिइओले बोल्न पनि मिल्दैन । तर कुरा के हो, कारण के होलान भने कुरा सबै पक्षलाई प्रष्ट छ । यो समयले बताउने विषय हो । त्यसैले यसमा थप कुरा नगर्दा राम्रो होला । जिल्लास्तरबाट राष्ट्रिस्तरसम्म पु¥याउने मेरो सोच भने भएन । त्यसमा भने मलाई दुःख लागेको छ ।

आगामी दिनमा तपाई के गर्ने सोचमा हुनुहुन्छ ?

मैले अहिले केहि सोचेको छैन । म केहि समय परिवारसँग विताउन चाहान्छु । मैले मेरो पिताश्री, माताश्री र परिवारलाई विगत २ वर्ष देखि समय दिन पाएको थिइन । मेरो घरायसी कामहरु पनि गर्नु छन् । केही समय मेरो दुइ छोरीहरुसँग घुम्न जाने सोचमा छु । अरु अहिले केही सोच बनाएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij